१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

च्यांग्रा व्यापारीको यात्रा : रारादेखि फेवासम्म

उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैंको मुखमा च्यांग्रा बेच्न लुम्ले आइपुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ। लामाले दसैंमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन,  विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन्।

‘यसपालि दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने। लामो समयदेखि यहाँ आइ च्यांग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ। मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्यांग्रा बिक्री भइसकेको बताए।

लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्‍याइसकेका छन्। अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ। यही असोज २२ सम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांग्रा ल्याउँछन्।

‘दसैंका बेला पोखरामा बस्ने दाजुभाइहरूले च्यांग्राको मासु धेरै रुचाउँछन्, यो बेला च्यांग्रा लिएर उनीहरूलाई मासु खुवान पाउँदा हामीलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने?, केही न केही काम त गर्नुपर्‍यो।’

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन्। लामाको व्यवसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए।

यस वर्ष च्यांग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए। आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्यांग्रालाई ४२ हजारमा दिने गरेको उनी बताउँछन्।

कर्मा भन्छन् , ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्न सक्छ तर तुलनात्मक रूपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैंमा ४८-५० हजार भन्थे अहिले  ३८-४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्यांग्राको माग बढी हुने हुँदा हामीले हिमालमै पुगेर ल्याउने गरेका छौं।’

दसैंका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको संख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन्। –रासस

प्रकाशित: १९ आश्विन २०८१ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App