२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा (तस्बिरहरू)

दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट क्षमा पूजा गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल। तस्बिर: रमेश खतिवडा/नागरिक

प्रसिद्ध दोलखा भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट शुक्रबार क्षमा पूजा गरिएको छ।

शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आएपछि राष्ट्र र जनताले कुनै पनि अनिष्टको सामना गर्नुनपरोस भनेर राष्ट्रप्रमुखले क्षमा पूजा पठाउने  परम्परा छ।

सोही परम्परा अनुसार राष्ट्रपति कार्यालयको तर्फबाट शुक्रबार मन्दिरमा धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको हो। राष्ट्रपतिको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफै कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरेका थिए।

क्षमा पूजामा ११ पुरोहित ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारा सहित लघुरुद्री पाठ गरेका थिए। यस्तै मन्दिर परिसरमै यज्ञ होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै माङ्गलिक दोष शान्ति सहित ग्रह पूजा समेत गरिएको छ।

यस्तै सरकार र स्थानीय जनताको तर्फबाट दुई जोर कालो बोका बली दिएर बली पूजा समेत गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए। क्षमा पूजाको सम्पूर्ण खर्च राष्ट्रपति कार्यालय र सरकारले बेहोर्ने बताइएको छ।

भीमेश्वर मन्दिरको शिलामा बुधबार र गत शनिवार गरेर एक साताको बिचमा दुई पटक पसिना आएको थियो। शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आउँदा भीमेश्वरको सिला कालो र चम्किलो हुने गर्दछ। पसिना आउँदा मन्दिरका घण्टहरू निरन्तर बजाइन्छ। मानिसहरूलाई झैँ तप तप खस्ने पसिना सेतो कपासले पुछ्ने गरिन्छ।

पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्रपतिकाहाँ पुर्‍याएपछि राष्ट्रपति कार्यालयले क्षमा पूजा पठाउने चलन छ। उक्त कपास सर्वसाधारणलाई समेट बाँड्ने गरिन्छ। यस अघि राजसंस्था हुँदा राजदरबारबाट राजाले क्षमा पूजा पठाउने चलन थियो। 

मुलुकमा अनिष्ट हुनु अघि भीमेश्वरको शिलामा पसिना आउने गरेको कारण पसिना आउनुलाई अनिष्टको सूचकका रुपमा विश्वास गरिन्छ। मन्दिर व्यवस्थापन समितिका अनुसार राजा ग्रिवाणयुद्ध विरविक्रम शाहको पाला देखी पसिना आएको रेकर्ड भेटिन्छ। 

२०७७ सालको कोरोना महामारी, २०७२ सालको भुईँचालो र राजनीतिक परिवर्तन, जुरे पहिरो, गणतन्त्र घोषणा, २०६२र०६३ को जनआन्दोलन, राजदरबार हत्याकाण्ड, २०४६ सालको जनआन्दोलन, २०४५ सालको भूकम्प, २०३६ सालको जनमत संग्रह, राजा महेन्द्र र त्रिभुवनको स्वर्गारोहण, २००७ सालको क्रान्ति, १९९७ सालमा चार सहिदलाई फाँसी, १९९० सालको भूकम्प सहित मुलुकमा विभिन्न घटनाक्रम हुनु अघि विभिन्न समयमा भीमेश्वरको सिलामा पसिना आएको रेकर्ड मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिमा रहेको समिति अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: ११ श्रावण २०८१ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App