२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बयानका लागि सिन्धुपाल्चोक पुर्‍याइयो बम्जनलाई, दुई मुद्दामा अनुसन्धान हुँदै

बाल यौन दुराचार मुद्दामा १० वर्ष कैद पाएका तपस्वीका रुपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ।

नुवाकोटबाट बुधबार सिन्धुपाल्चोक ल्याइएका उनीसँग जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा बिहीबारदेखि बयान थालिएको हो। दुबै मुद्दामा समानान्तर ढंगले बयान लिने काम भइरहेको त्यसमा संलग्न कर्मचारीले जानकारी दिए। उनीहरुका अनुसार एक पुरुष बेचबिखन गरेको र अर्की एक किशोरी बेपत्ता बनाएको आरोपमा बम्जनसँग बयान जारी छ।

बयान नसकिँदासम्म उनलाई सिन्धुपाल्चोक जिल्ला कारागारमा राख्न अनुमति दिइएको छ। ‘दुबै मुद्दामा बयान सक्न चार/पाँच दिन लाग्ने जानकारी सरकारी वकिलको कार्यालयबाट पाएका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले नागरिकसँग भने। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट ती पुरुष बेचबिखनमा परेको र किशोरीलाई बेपत्ता बनाएको जाहेरी प्रहरीकोमा परेको थियो।

तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीहरूमाथि ‘बलात्कार, हत्या र हिंसाको दुष्चक्र चलाएको’ आरोपमा प्रहरीले ६ वर्ष अघिदेखि बम्जनमाथि अनुसन्धान थालेको थियो। सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई २०८० पुस २४ गते राजधानीबाट पक्राउ गरेको थियो।

सर्लाही जिल्ला अदालतले गएको महिना मात्र बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन्। उनी पक्राउ परेपछि प्रहरीले सबै मुद्दामा बम्जनमाथि अनुसन्धान गरिरहेको छ।

बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको तोड्केभिरमा आश्रम छ। सोही आश्रमबाट हराइरहेका पाँचमध्ये तीन अनुयायी बेपत्ता पारेको किटानी जाहेरीमा उल्लेख छ। तोड्केभिरको आश्रममै रहेको बखत बाराका ती पुरुष बेचबिखनमा परेको र मकवानपुरकी किशोरी बेपत्ता भएको मुद्दामा यहाँको सरकारी वकिलको कार्यालयले बयान थालेको हो। 

सिन्धुपाल्चोक ल्याउनुअघि बम्जनलाई अर्को मुद्दामा बयानको लागि नुवाकोट पु¥याइएको थियो। उक्त मुद्दामा उनले त्यहाँका सरकारी वकिलको कार्यालयमा बयान दिएका छन्। सिन्धुपाल्चोकको आश्रमबाट नुवाकोटकी तामाङ थरकी एक किशोरी बेपत्ता बनाएको जाहेरी नुवाकोट प्रहरीमा परेको थियो। तोड्कीभिर आश्रमबाट बेपत्ता भएका तीन जनालाई २०७१ पुस र चैतमा बेपत्ता पारेको बम्जनविरुद्धको किटानी जाहेरीमा उल्लेख छ। 

प्रकाशित: १० श्रावण २०८१ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App