४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने अवस्थामा

झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन्। कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन्। हरेक वर्ष विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पसको अस्तित्व नै सङ्कटमा पर्ने जोखिम बढेको छ। बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विसं २०७० सम्म विद्यार्थीको चाप थियो। दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन्।

बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा विसं २०४७ मा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्न पाएका थिए। पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो। दिनप्रति दिन विद्यार्थीको सङ्ख्या घट्दै गएपछि क्याम्पस नै बन्द हुने जोखिम बढेको छ।

क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि सङ्ख्या बढ्न सकेको छैन। अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने गरेका छन्। पुरुष विद्यार्थी निकै न्यून छन्। क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट सञ्चालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए।

हाल क्याम्पसमा एक पूर्णकालीन, नौ आंशिक प्राध्यापक र कर्मचारी कार्यरत रहेको उनको भनाइ छ। अनुदान आयोगबाट वार्षिक ११ लाख ९० हजार आउने र क्याम्पसको एक करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस सञ्चालन गरिरहेको पन्त बताउँछन्। क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उनको भनाइ छ। क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायको पढाइ हुने उनी बताउँछन्।  

‘दश वर्षअगाडि सम्म विद्यार्थीको सङ्ख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजार जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको सङ्ख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो’, क्याम्पस प्रमुख पन्तले भने, ‘केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले १२ पास गर्न नपाउँदै विद्यार्थी सबै विदेशको तयारीमा लाग्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए।’

बागलुङ–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले २०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो सङ्घर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताए। गाउँमा १२ पास भएर पढाइ छाडेकाहरुलाई पढ्नका लागि प्रोत्साहन गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उनको भनाइ छ।-रासस

प्रकाशित: ९ श्रावण २०८१ १३:११ बुधबार

#student #Baglung #Balewa Multipurpose Campus