२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बुटवल-नारायणघाट सडक: सरकारले थापेको धराप

देशका मुख्य राजमार्गहरु मध्य एक हो पूर्वपश्चिम राजमार्ग। देशकै लाइफलाइन मानिएको यस राजमार्गको बुटवल नारायणघाट सडक-खण्ड बर्खामा मात्रै होइन, हिउँदमा पनि बेहाल र धराशायी  हुने गरेको छ। निर्माणाधीन सडककै कारण पूर्वपश्चिम राजमार्गको सवारी आवागमन निकै कष्टकर बनेको छ।

हिउँदभरी धुलाम्मे यो सडक बर्खे झरीले हिलाम्मे छ। कतिपय स्थानमा सडक भासिने, पहिरो झर्ने समस्या छ। त्यही हिलाेमाटोमा गाडी फस्दा घण्टौ सडक अवरुद्ध भइरहन्छ। जसका कारण बुटवल–नारायणघाट ४ घण्टाको यात्रा हिजो आज ८ देखि १० घण्टासम्म लम्बिएको छ।

निर्माणाधीन सडक खाल्डाखुल्डीले भरिएका छन्। वर्षाको पानीले समतल देखिने तीनै खाल्डाखुल्डीमा परेर वा हिलोमा चिप्लिएर हुने सानातिना दुर्घटनाको त लेखाजोखा नै छैन।

‘मोटरसाइकल, स्कुटर र साना गाडीहरु खाल्डाखुल्डीमा कति परे, माटोमा चिप्लिएर कति लडे गनी साध्य हुँदैन’ बुटवल नारायणघाट सडकको दाउन्ने क्षेत्रमा खटिएका ट्राफिक प्रहरीका एक जवानले भने ‘यहाँ ठुलै गाडी गुल्टीयो, मान्छे मरे भने मात्रै दुर्घटना मान्ने चलन छ, सानातिना दुर्घटनामा परेर कति घाइते भए, कति सवारी साधनमा क्षति पुग्यो त्यसको लेखाजोखा गर्ने फुर्सद कसैलाई छैन, जसलाई पर्‍यो पर्‍यो’ ती प्रहरी जवानले भने।

बुटवल–नारायणघाट सडकको दुर्दशा औँल्याउँदै उनले सुझाव पनि दिए ‘ज्यानको र सपम्त्तीको (सवारी साधनको) माया छ भने वर्षामा यो सडकमा यात्रा नर्गनुस।’

बुटवल–नारायणघाट सडक खण्डमा यात्रु र स्थानीयले यस्तो दुर्दशा भोग्न थालेको ६ वर्ष भयो। कमजोर राज्य प्रणाली र ठेकेदारकाे लापरबाहीका कारण अनाहकमा धेरैले ज्यान गुमाएका छन्। करोडौंका सवारीसाधनमा क्षति पुगेको छ।

कतिले दुर्घटनामा परेर घाइते हुनु परेको भने कतिले सवारी साधनमा क्षति व्यहाेर्नु परेको छ। तर सरकार भने सरकार लाचार छ। ४२ महिनामा निर्माण सक्ने भनेर ठेक्का सम्झौता भएको सडक ६ वर्ष बित्दा जम्मा ५२ प्रतिशत काम मात्रै भएको छ। तर सडक विभाग त्यही निर्माण कम्पनीलाई पटक-पटक म्याद थप गरी प्रोत्साहन गरिरहन्छ। नियामक निकायका अधिकारीहरु निर्माण कम्पनीलाई समयमै खबरदारी गर्नुको साटो तीनै ठेकेदारको पक्षपोषणमा लागी रहन्छन।

बुटवल देखि नारायणघाट सम्मको ११३ किलोमिटर सडक २०७९ को साउनमा निर्माण सम्पन्न गर्ने गरी २०७५ को माघमा ठेक्का सम्झौता भएको थियो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससीईसी) ले यो सडक निर्माणको ठेक्का लिएको हो। यो सडक ४ लेनमा स्तरोन्नति हुँदैछ।

यस आयोजना अन्तर्गत बुटवल राजमार्ग चौराह देखि दाउन्नेसम्म पश्चिमी खण्डको ४८.५८ किलोमिटर र दाउन्ने देखि गैँडाकोटसम्म पूर्वी खण्डमा ६४.४२ किलोमिटरका दुई वटा प्याकेज छन्।

यी दुवै प्याकेजमा तोकिएको समयमा कामको प्रगति न्यून भएपछि रुख कटान, बिजुलीको पोल सार्न ढिलाइ, कोरोना लगायतका कारण देखाएर पूर्वी खण्डको २०८० भदौ ११ र पश्चिम खण्डको २०८० साउन ११ गतेसम्मकालागि म्याद थपिएको थियो।

तर त्यसपछि पनि कामले गति लिन सकेन। दोस्रो पटक निर्माण कम्पनीले निर्माण सामग्रीको अभावको कारण देखाउँदै फेरी म्याद थपको निवेदन दियो। दोस्रो पटक २०८१ साउन ८ गते सम्मकालागि म्याद थपियो पनि। दोस्रो पटक थपिएको म्याद यही साउन ८ गते सकिएको छ। तेस्रो पटक फेरी एक वर्ष २०८२ को साउन ६ गते सम्मलाई म्याद थप गरिएको छ।

सुरु देखि नै सीमित उपकरण र जनशक्तिले काम चलाउँदै आएको निर्माण कम्पनीले आफ्नो कार्यशैली परिवर्तन गरेन भने थपिएको एक वर्षमा पनि काम सम्पन्न नहुने निश्चित छ।

‘निर्माण कम्पनीलाई माथिल्लो निकायबाटै अलि कडा निर्देशन नदिने हो भने अर्को वर्षामा पनि यो सडकको अवस्था यस्तै नरहला भन्न सकिँदैन’ आयोजनाको पूर्वी खण्डका एक कर्मचारीले भने।

यसअघि रुख कटानमा देखिएको प्राविधिक समस्या, बिजुलीका पोल र तार, कोरोना महामारीसँगै निर्माण सामग्रीको अभावका कारण कामले गति लिन नसकेको पश्चिमी खण्डका आयोजना प्रमुख सशाङ्क मिश्रले बताए।

तर यो सडक खण्डमा पर्ने स्थानीय तहका जनप्रतिनिधिहरू भने आफुहरुले निर्माण सामग्री उपलब्ध गराउन तयार रहे पनि निर्माण कम्पनीले मूल्यलाई बहाना बनाएर खरिद गर्न नखोजेको र निर्माणको काम लम्ब्याइरहेको आरोप लगाउने गरेका छन्।

आयोजनाको पश्चिम खण्डका प्रमुख मिश्रले अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष निर्माण कम्पनीको कार्यशैलीमा केही सुधार भएको र कामको प्रगति पनि बढी भएको बताए।

‘अघिल्ला वर्षको तुलनामा यसपालि कार्यप्रगति केही बढेको छ, यो वर्ष अझै सुधार गर्दै तोकिएको समयमा काम सम्पन्न होला भन्ने अपेक्षा गरेका छौं’ मिश्राले भने।

निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्ने र त्यसको भार निर्माण कम्पनीले नै व्यहोर्नु पर्ने भएकाले अब समयमै काम सक्ने तर्फ ठेकेदारले ध्यान दिने विश्वास लिइएको मिश्रले बताए।

यो सडक आयोजना कुल १६ अर्ब ९९ करोड ५२ लाखको लागतमा निर्माण सम्पन्न हुने भनिएको छ। कुल लागतको ८५ प्रतिशत एडिविको ऋण सहुलियत हो। बाँकी १५ प्रतिशत नेपाल सरकारको लगानी छ।

बुटवल देखि नारायणघाट सम्मको ११३ किलोमिटर मध्ये हालसम्म पश्चिम खण्डमा ३० किलोमिटर र पूर्वी खण्डमा २७ किलोमिटर सडक एकतर्फी मात्रै कालोपत्रे भएको ती खण्डका आयोजना प्रमुखले बताए। ४३ साना पुल र २१ वटा ठुला पुल पनि निर्माण भइरहेको उनको भनाइ छ।

प्रकाशित: ८ श्रावण २०८१ २१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App