२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चिनीजन्य पेयमा कर बढाउँदा कम खपत

यस्ताे पनि!

क्याप्शन

विभिन्न पेयहरूमा हालिने चिनीको मात्रा अत्यधिक बढेपछि बेलायतले सन् २०१८ को अप्रिल यता ‘चिनी कर’ लगाएको पाँच वर्ष पूरा भएको छ। अत्यधिक चिनीको खपतका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको र उनीहरूमा मोटोपन बढेको भन्दै सरकारले चिनी कर लगाएको थियो। सफ्ट ड्रिङ्कमा चिनी कर लगाइएपछि तिनको मूल्य पनि बढेको थियो। मूल्य बढेपछि बालबालिकाहरूले तिनको खपत कम गर्दै जान थालेको एउटा अध्ययनले देखाएको छ।

सो अध्ययन हालै बेलायतको नेसनल डायट एन्ड न्युट्रिसन सर्भेले जर्नल अफ एपिडेमिओलजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित गरेको छ। जसअनुसार आठ हजार वयस्क तथा सात हजार ६ सय ५६ बालबालिकाहरूलाई सन् २०१८ र २०१९ मा कर लागु गरिएपछि उनीहरूले खपत गर्ने सफ्ट ड्रिक्सको तुलना गरिएको थियो।

पहिलेको तुलनामा बालबालिकाहरूले हरेक दिन ४.८ ग्राम चिनी खपत गरिरहेको पाइएको छ भने वयस्कहरूले १०.९ ग्राम। सुगर फ्रि मानिएका पेयमा पनि वयस्कहरूले प्रतिदिन ६० ग्राम कम उपभोग गरिरहेका छन् भने बालबालिकाहरूले ४५ ग्राम कम उपभोग गरिरहेका छन्। त्यसो त सरकारले जारी गरेको गाइडलाइनभन्दा यो बढी नै हो तापनि तुलनात्मक रूपमा कम चिनी उपभोग गर्नु पनि एउटा राम्रो मानक भएको र यसले भविष्यमा राम्रो र सकारात्मक प्रभाव पार्ने चिकित्सकहरूले बताएका छन्।

एउटा वयस्क मानिसले दैनिक रूपमा ३० ग्रामभन्दा कम चिनी लिनु उपयुक्त हुन्छ भने बालबालिकाहरूले २४ ग्राम। चारदेखि ६ वर्ष उमेर समूहका बालबालिकाहरूले १९ ग्रामभन्दा बढी उपभोग गर्न नहुने  बताइएको छ।

यो सफलतापछि सरकारले आउँदा दिनमा अन्य किसिमका उच्च चिनीयुक्त खानाहरूमा पनि कर लगाउने सम्भावना बढेर गएको छ। यस किसिमको परिणामले आउँदा दिनमा प्रभावशाली नीति निर्माणमा यस्ता साना सफलता कथाले प्रेरित गर्ने क्विन मेरी युनिभर्सिटी अफ लन्डनका पब्लिक हेल्थ पोषणविद् डा. कथर हासेम बताउँछन्।

यो सफलताले आउँदा दिनमा यस्तै खाले कर लगाउन र करको दर बढाउन सहयोग पुर्‍याउने उनको भनाइ छ। यसले नेपालमा पनि दशकअघि चुरोट तथा मदिराजन्य उत्पादनमा थोरै कर लगाएर त्यसबाट क्यान्सर अस्पताल निर्माणमा भूमिका खेल्दा अहिले नेपालमा नै स्तरीय क्यान्सर अस्पतालहरू निर्माण भएको स्मरण गराएको छ ।

प्रकाशित: ३० असार २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App