२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

कुखुरा फार्म संचालकको हत्या, दम्पती फरार

मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान एक कुखुरा फार्म सञ्चालकको हत्या भएको छ। सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव फार्मभित्र फेला परेको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, बजगाईंको शव बिहीबार बिहान साढे १० बजेतिर घर नजिकै रहेको कुखुरा फार्मभित्र मृत अवस्थामा भेटिएको हो।

‘शवको टाउको क्षतविक्षत अवस्थामा र शरीरका अन्य भागमा चोटपटक देखिएकोले हत्या भएको प्रष्ट हुन्छ। हत्या कसले र किन गरेको हो भन्ने अझै खुल्न सकेको छैन।’ उनले भने।

प्रहरीका अनुसार, कुखुरा फार्ममा काम गर्नका लागि राखिएको एक दम्पती (पति–पत्नी) सम्पर्कविहीन भएका कारण विभिन्न शंका उब्जिएको छ। डिएसपी बस्नेतले भने, ‘घटनास्थलमा नभेटिएको र फरार भएका कारण हत्या उनीहरुले नै गरेको हुनसक्छ। थप अनुसन्धानपछि सबै कुरा प्रष्ट हुनेछ।’

घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बञ्चरो र दाउ फेला परेको छ। सम्भवतः हत्यामा बञ्चरो र दाउ नै प्रयोग गरिएको हुनसक्ने प्रहरीकाे अनुमान छ। घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारिएको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २७ असार २०८१ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App