११ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

डुवानको जोखिममा परेका १५० जनालाई सुरक्षित स्थानमा सारियो

पानीको सतह बढेपछि राप्ती नदी। तस्बिर: नागरिक

लगातारको वर्षाले राप्ती नदीको तटीय क्षेत्र डुवानको जोखिममा परेपछि यहाँका एक सय ५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

राप्ती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि बाँकेस्थित डुडुवा गाउँपालिका–१, चौफेरीका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो।

राप्ती नदीमा शनिबार साँझसम्म पानीको सतह आठ मिटर १३ सेन्टिमिटरसम्म पुगेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।

राप्ती नदीमा अझै पानीको सतह बढ्न सक्ने भएकाले यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

यस समयमा बाँकेका करिब ५० हजारभन्दा बढी नागरिक र हजारौं घरहरु जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।

राप्तीको बाढी बस्तीमा पस्न सक्ने जोखिम भएकाले सुरक्षित स्थानमा बस्न भनिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला र डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रमा कटान र बाढीका कारण क्षति हुनसक्ने आँकलन गरिएको छ। यी क्षेत्रका बासिन्दा बढी चनाखो हुनुपर्ने उनको भनाइ छ।

‘विपद् पूर्व सूचना गरेर आउँदैन। विपद् जुनसुकै बेला पनि आउन सक्छ। त्यसैले विपद्बाट सचेत रहनुपर्छ। विपद्को पूर्व तयारी आवश्यक हुन्छ,’ उनले भने, ‘सम्पूर्ण बाँकेवासीलाई सचेत रहन आग्रह गर्न चाहन्छु। विशेष गरेर नदी तथा तटीय क्षेत्रका नागरिकलाई सचेत रहन विशेष अनुरोध गर्न चाहन्छु।’

यस्तो बेलामा स्वयम् व्यक्तिसमेत सचेत रहनु पर्ने उनको भनाइ छ। ‘जिल्ला विपद् व्यवस्थापन समिति पनि सचेतरुपमा लागिरहेको छ,’ उनी भन्छन्, ‘बाँकेमा कुनै पनि दुःखद घटना हुन नदिन हामी एकजुट भए लाग्नुको विकल्प छैन। विपद्को सबै जना मिलेर सामना गरौँ।’

त्यस्तै, राप्तीसोनारी बाघखोर गाउँका १० घर डुबानमा परेका छन्। बाँकेमा अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

प्रकाशित: २२ असार २०८१ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App