१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ,मोरङको सहयोगमा स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमको महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै परम्परागत कृषि पद्धतिबाट उत्पादकत्व बढाउन नसकिने बताइन।

मन्त्री चौधरीले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिइन। साथै उनले आधुनिक खेतीले उत्पादकत्व वृद्धि हुने बताउँदै त्यसतर्फ लाग्न सबै किसानलाई सुझाव दिइन।

कोशी प्रदेशसभा सदस्य रामदेव यादवले कृषि क्षेत्रको विकासका लागि सरकारीस्तरमा पर्याप्त  लगानी  नभएको गुनासो गरे।  

कोशी प्रदेशको उद्योग,कृषि तथा सहकारी मन्त्रालय सचिव लेखराज दाहालले कृषि क्षेत्रबाट अधिक रोजगारी प्राप्त हुने अधिकभन्दा अधिक क्षेत्रमा खेती गर्नुपर्नेमा जोड दिए।

सहकारीका अध्यक्ष सुरेन्द्रप्रसाद मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजना कार्यान्वयन एकाइका प्रमुख मनोज यादवले व्यावसायिक कृषिको माध्यमबाट देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन सकिने बताए।

गतवर्ष असार १५ सम्ममा कोशी प्रदेशमा १६ दशमलव नौ प्रतिशत रोपाइँ भएकामा आजसम्म १३ दशमलव ७१ प्रतिशत मात्र रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि अभिमन्यू अधिकारीले जानकारी दिए।

कोशीका चौध जिल्लामा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर जग्गामा धान खेती हुने गरेको जानकारी दिँदै उनले  हालसम्म ३७ हजार आठ सय ८० हेक्टरमा रोपाइँ भएको बताए।

कार्यक्रममा दिइएको जानकारीअनुसार झापामा ७५ हजार चार सय ५९, मोरङमा ६९ हजार आठ सय १७ र सुनसरीमा ४८ हजार नौ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यसवर्ष यी तीनवटै जिल्लामा क्रमशः ११ दशमलव ३५, १० र ११ प्रतिशत रोपाइँ भएको छ।झापामा सबैधन्दा धेरै ७५ हजार चार सय ५९ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा रोपाइँ हुने गरेको छ।

यसैबीच राष्ट्रिय धान दिवसकै अवसरमा मोरङको जहदा गाउँपालिकास्थित जिल्ला कृषि ज्ञान केन्द्रको आयोजनामा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित: १५ असार २०८१ १६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App