सन १९६६ मा विश्वभर नै भोकमरी फैलियो। धान भोकमरीबाट बच्नका लागि सबैभन्दा महत्त्वपूर्ण बाली हुने संयुक्त राष्ट्रसंघले ठहर गर्यो र विश्वभर नै धानको उत्पादन बढाउने अभियान चाल्नका लागि धानलाई वर्ष बालीका रूपमा लियो।
‘भोकमरीबाट मुक्ति’को नारासहित उक्त वर्ष मुख्य बालीका रूपमा धान उत्पादनलाई जोड दिइयो। फलस्वरूप धान संसारका लागि मुख्य खानाको रूपमा स्थापित भयो। तत्पश्चात विश्वभर धान खेतीले प्रश्रय पायो। त्यसैले विश्वतहमा खुसियाली स्वरूप धानको सकारात्मक प्रचारप्रसारका लागि पर्वका रूपमा लिई दिवस तथा महोत्सव मनाउन थालियो।
नेपालका सन्दर्भमा मनाङ र मुस्ताङबाहेकका जिल्लाहरूमा धानखेती गरिँदै आएको छ। समुद्री सतहभन्दा ६० मिटर उचाइमा रहेको झापाको कचनाकेवलदेखि तीन हजार ५० मिटर उचाइको जुम्लास्थित हुमचौरसम्म धानखेती हुन्छ। नेपालमा कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ७३ हजार हेक्टर (४७ प्रतिशत) क्षेत्रफलमा धानखेती गरिँदै आएको छ। विश्वमा झैं नेपालमा पनि धान प्रमुख बालीका रूपमा स्थापित छ।
सरकारले दुई दशकअगाडि २०६१ देखि नियमित रूपमा असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउँदै आएको छ। धान दिवस मनाउन थालेसँगै धान र यसको मुख्य परिकार भातबारे चासो बढेको छ।
हाल नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतका निकायहरू, राजनीतिक पार्टीका किसान भातृ संघ, संगठनहरू र अन्य स्वतन्त्र तथा खेतीपातीमा संलग्न संघसंस्था र संगठनहरू एवं स्थानीय सरकारसमेत धान दिवस मनाउन तल्लिन छन्।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा महोत्सव भव्य तयारीका साथ चितवनमा मनाउने भएको छ। हामी दिवस मनाउँदै छौं।
आकाशको पानीको भरमा धान रोप्नुपर्ने वाध्यता झेलिरहेका किसानहरूले चाहेर पनि रोपाइँ गर्न सकेका छैनन्। यही समयमा १९ औं धान दिवस मनाइरहँदा देशभर ३५ प्रतिशत रोपाइँ सकिएको थियो।
गत वर्ष २०औं धान दिवस मनाइरहँदा १३/१४ प्रतिशत रोपाइँ सकिएको थियो। यो वर्ष हामी तामझाम त गर्दै छौं तर मनसुनमा आधारित वर्षामा नै धानखेतीमा निर्भर किसानहरू लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्। देशभरि पाँच प्रतिशत पनि रोपाइँ हुन सकेको छैन। यस्तो अवस्थामा हाम्रो तामझामले के अर्थ राख्ला?
असार पन्ध्र खाने दही र चिउरा, साउन पन्ध्र खाउँला खिर,
घरमा छैन मिठो बोलीवचन, यो मन मेरो छैन थिर।
असार पन्ध्र धान दिवस एवं महोत्सव मनाउने दिन मात्र होइन, यो संस्कृतिसँग जोडिएको विषय हो। यस दिन दुधबाट बनेको कर्दले काट्ने दही र चिउरा एवं धान तथा धानबाट बनेका परिकार बनाएर खाने चलन रहेको छ। धानबाट बनेका परिकार खाने र असारे गीत तथा बेठी बाजा बजाएर हिलोमा नाच्दै हिलो खेल्नु हाम्रो सांस्कृतिक परम्परा हो र त्यसको संरक्षण गर्नु किसान समुदायको कर्तव्य हो।
आदिमकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ। लामो समयदेखि खडेरीको सामना खेपिरहेका किसानहरू जब वर्षा सुरु हुन्छ, तब हर्षले गदगद भई खेतमा मानो रोपी मुरी उब्जाउन धान रोप्ने कार्यमा व्यस्त हुन्छन्।
किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ। पसिना बग्छ। हातमा ठेला उठ्छ। औजार चलाउँदा हात खुट्टामा घाउ चोट लाग्छ। प्यास वा तिर्खा लाग्छ। थकान मेटाई शरीरमा फुर्ती कायम राख्न, शरीरमा पुनर्जागरण ल्याउन किसानहरूले रामदली, गोडेलो, बेठी गीत र असारे आदि श्रम गीत रची मिठो भाकामा गाउने गर्दै उत्साह र उमंग थप्दै असारे झरीमा रुझ्दै संस्कृतिको जगेर्ना एवं कर्मको निरन्तरता दिइरहेका छन्।
कुनै पनि दिवस रमाइलोका लागि मनाइँदैन। एक दिन हिलोमा खेलेर गर्ने मजाकले वर्षैभरि पसिना बगाएर माटोमा रमाउने, वर्षे झरीमा रुझेर खेतीबाली लगाउने, आफ्नो जीवनको सम्पूर्ण समय कृषि कर्ममा नै सुम्पिँदै आएका दुःखसुख भाग्यको खेल सम्झने वास्तविक किसानहरूको अपमान हुन सक्छ।
धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ले र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनुहुँदैन। कृषिकर्म एक दिन गरेर सामाजिक सञ्जालमा फोटो देखाएर लाइक र कमेन्ट गर्ने पेसा होइन। भनिन्छ, धावन्ते खेती। धान रोपेदेखि भित्र्याउने दिनसम्मको कर्मको रूपमा लिनुपर्छ।
स्थानीय स्रोतसाधनमा आधारित खेतीपाती पद्धति जीवित रहँदा नेपालले २०३१ सालमा धान, चामल निर्यात गर्न आठ वटा कम्पनी स्थापना गरिएको थियो। उक्त समयमा ५५ हजार मेट्रिक टन चामल नेपालबाट भारत बंगलादेशलगायतका देशहरूमा निर्यात हुने गथ्र्यो। सात वर्षसम्म निरन्तर रूपमा धान चामल निर्यात भयो। आठौं वर्षमा पुग्दा नाटकीय रूपमा नेपालमा नै चामल आयात हुन थाल्यो र दशौं वर्षसम्म पुग्दा ती आठ वटै कम्पनी बन्द हुन पुगे।
जनसंख्या वृद्धि भयो, उपभोग बढ्यो, परम्परागत कृषि प्रणालीमा खेतीपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने आधार बनाइयो। अवस्थाको सही विश्लेषण गर्न सकिएन , नीतिनियम किसान मैत्री बनाउन र कार्यान्वयन गर्न ध्यान दिइएन। धर्तीपुत्र किसानको सम्मान गर्न जानिएन। फलस्वरूप किसानहरू निराश भए। किसान निराश हुनु भनेको देशको कृषि क्षेत्र निराश हुनु हो। जसले आफ्नो कर्मलाई इमान्दारीसाथ बहन गर्छ, धर्म पूरा गर्छ, उसप्रति सम्बन्धित निकायहरूको दृष्टिकोण सकारात्मक नहुनु र किसानको अस्तित्व स्वीकार गर्न नसक्नुजस्ता कारण देशको उत्पादन ओरालो गतितिर झरेको हाम्रा अगाडि छर्लंग छ।
हामीले २० वर्षको धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्यतासाथ सम्पन्न गरिसकेका छौं। समय सान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो कि भएन? कहिल्यै खोजेनौं। नारा नै सार्थक बनाउन सकेनौं भने त्यसको के अर्थ? विगतका नारालाई फर्केर हेर्ने हो भने नारा एकातिर, धान उत्पादनको अवस्था अर्कातिर गएको पाइन्छ। हामीले कृषि भूमिको संरक्षणको नारा लियौं।
धान फल्ने खेत खण्डीकरण भई कङ्क्रिट संरचना तथा घरहरू फलेका छन्। हामीले धान उत्पादनमा वृद्घि गर्ने नारा लियौं, धान चामल निर्यातक कार्यालयसमेत राखेर धान चामल निर्यात गर्ने कृषिप्रधान देशका जनता हामी अर्बौंअर्बको चामल किनेर खान बाध्य छौं।
हामीले दुई बाली धान खेतीको विस्तारको नारा लगायौं। खेतीयोग्य जमिनमा वर्षायाममा समेत समयमा बाली लगाउने वातावरण बनाउन सकेनौं। पानीको स्रोत प्रशस्त भएर पनि सदुपयोग गर्न सकेनौं। किसानहरूलाई आकासे पानीको भरमा खेती लगाउन बाध्य बनायौं। यसले कृषि नाराले चल्दैन भन्ने शिक्षा दिएको छ।
७० प्रतिशतभन्दा बढी पारिवारिक खेतीमा संलग्न साना किसान र तिनको योगदानको मूलप्रवाहीकरण गर्न आवश्यक रहेको यथार्थतालाई स्वीकार गरिएन। नेपालको भौगोलिक क्षमता, विशेषता, स्थानीय तह र किसानमा आश्रित समुदायको आवश्यकता नहेरी व्यावसायिक कृषिको नाममा रासायनिक मलको राजनीतिको चक्कर दोहोरिइरहेको छ।
सरकारले आब २०८१/८२ को बजेट प्रस्तुत गरेको छ। कुल कृषि बजेटको आधाभन्दा बढी बजेट रासायनिक मलका लागि छुट्याएको छ। गत वर्ष ३० अर्ब रकम रासायनिक मलमा खर्च गरे तापनि धान रोपाइँ गर्ने समयमा किसानहरूले मल पाउन सकेका छैनन्। कतिपय स्थानहरूमा सहकारीहरूबाट किसानलाई बाँड्न लगिएका सीमित कोटाको मल ५÷१० किलो भाग लगाएर वितरण गरिरहेका छन्।
धान फल्ने फाँटमा सिमेन्टमा ठुला ठुला घरसंरचनाहरू बने, मोटर बाटाहरू बने। हाइडोपावर निर्माणलगायत विभिन्न कम्पनीको नाममा अधिग्रहण गरियो। खेत पहिरो र नदी कटानमा पर्यो। जसका कारण धान उत्पादनको क्षेत्र घटेर जमिन साँघुरिएर गइरहेको छ।
वन्यजन्तुको प्रकोपका कारण खेतीपाती जोगाउन नसकी हार खाएर किसानहरू जमिन बाँझो राख्न बाध्य छन्। गाउँठाउँमा बसी कृषि कर्म गर्दै आएका देशका युवा जनशक्ति कृषिबाट निर्वाह नहुने देखेर गाउँबाट सहर र सहरबाट विदेशतिर जानेक्रम बढेर गएको छ।
नागरिक समाजको दबाबमा सरकारले भूउपयोग नीति र नियमावली पास गरेको छ। अब त केही हुन्छ कि भनेर आशा गरे तापनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा पलाएको आशा पनि निराशामा परिणत भएको छ। हरेक वर्ष हजारौं हेक्टर जमिन बाढीपहिरोले नोक्सान गर्छ। संरक्षण छैन। यसकारण धान फल्ने जमिन साँघुरिएर गई उत्पादन घट्दो छ।
खेतीयोग्य जमिनमध्ये २० प्रतिशत जति जमिनमा मात्र सिँचाइको व्यवस्था भएको छ। जलस्रोतमा धनी राष्ट्र भएर पनि खेतीयोग्य जमिनको पाँच मिटर तलबाट पानी बगिरहँदा त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन।
डोजरे विकासका कारण परम्परागत रूपमा किसानको श्रमदानबाट निर्मित सिँचाइ कुलाहरू नोक्सान भई सञ्चालनमा आउन सकेका छैनन्। जमिनमा पानीको सतह घट्दै गएको छ। जसको असर सुक्खापन बढ्दैछ। सिँचाइको व्यवस्था छैन। कहिले आकाशबाट पानी खस्ला र रोपाइँ गरौंला भनेर किसानहरू आकाशतिर मुन्टो तेर्स्याउन विवश छन्। जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा किसानहरूले बाली लगाउने समयमा बाली लगाउन सकेका छैनन्।
जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचारप्रसार गरी त्यसको सही रूपमा अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरू सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने यस वर्षको नाराले सन्देश दिन खोजेको छ।
असार महिना धर्तीपुत्र किसानका लागि महत्त्वपूर्ण समय हो। आदिमकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ। यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृतसमान हुन्छ। यो मानो रोपेर मुरी फलाउने समय हो।
देशको मुख्य बाली धान रोप्ने समय भएकाले जब असार सुरु हुन्छ तब किसानहरू आकाश हेर्न व्यस्त हुन्छन्। पानी कहिले पर्ला र धान रोपाइँ गर्ने भन्ने चिन्ताले किसानलाई सताउने गर्छ। यस्तो अवस्था कहिलेसम्म आउला? यथार्थ र वास्तविकतामा रहेर अध्ययन अनुसन्धान गरी नेपाली कृषिलाई सही लयमा हिँडाउन सकिएला? यो चासोको विषय हो।
प्रकाशित: १५ असार २०८१ ०६:५० शनिबार