२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिनेटर किन्दै रक्सी कम्पनी!

यस्ताे पनि!

अमेरिकामा यतिबेला शरीरलाई फाइदाजनक पौष्टिक र रक्सीबीच तुलनात्मक अध्ययन गर्दै यी दुईको खपतलाई बेग्लाबेग्लै दृष्टिले हेर्नुपर्ने आवाज उठ्न थालेको छ। पहिला कति रक्सी पिउने भन्नेबारे अमेरिकाको एग्रिकल्चर, हेल्थ एन्ड ह्युमन सर्भिसेज विभागले तोक्ने गर्थ्याे। उसले पहिलेको नियमअनुसार पुरूषहरूले दैनिक दुई गिलाससम्म रक्सी पिउन सक्ने आधार तय गरेको थियो भने महिलाले एक गिलास तोकिदिएको थियो।

अब यो नियम परिवर्तन हुने सम्भावना बढेको छ। अमेरिकी कंग्रेसले रक्सी खपतमा नियन्त्रण गर्ने उद्देश्यले पछिल्लो समय निकै कस्न थालेपछि रक्सी कम्पनीहरूले लाखौँ डलर खर्च गरेर सांसदहरूलाई प्रभावित तुल्याउन थालेका छन्। उनीहरूले विज्ञानसम्मत अध्ययन भन्दै ठूला ठूला अध्ययन प्रतिवेदन पेस गर्न थालेपछि सांसदहरूले खपत कम गराउन कसरत पनि उत्तिकै बढेको छ।

रक्सीको खपत कम हुनु भनेको खर्बौं डलरको व्यापार चौपट हुनु हो। त्यसैले कानुन रोक्न निकै ठूलो प्रयासहरू भइरहेको छ। उनीहरूले रक्सी खानु स्वास्थ्यका लागि उति हानिकारक नभएको जति हल्ला मच्चाइएको छ भन्ने मनाउन खोजिरहे पनि ६ सदस्यीय एचएचएसका सदस्यहरूले जति नै थोरै रक्सी खाए पनि त्यो स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै रक्सी खपतमा नियन्त्रण गर्नुपर्ने सिफारिस कंग्रेसलाई गरेको छ।

गत वर्ष विश्व स्वास्थ्य संगठनले रक्सीलाई कुलतको संज्ञा दिँदै यसको जतिसुकै थोरै मात्रा लिए पनि यो हानिकारक रहेको बताएको थियो। क्यानडामा पनि सन् २०२३ मा यस्तै गरी रक्सी खपतको कानुन बनाइएको थियो। जसमा सातामा दुई गिलास रक्सी पिउनु उचित हुने सुझाव दिइएको थियो। यसअघि क्यानडामा सातामा पुरूषले १५ गिलास र महिलाले १० गिलास पिउन सकिने नियम बनाएको थियो।

रक्सीले क्यान्सरजन्य रोग निम्त्याउने अध्ययनले देखाएयता विश्व स्वास्थ्य  संगठनले यसको कुनै पनि मात्रा स्वास्थ्यका लागि खतरनाक हुने जनाइसकेको छ। पछि अमेरिकाको संघीय निकायले सन् २०२० मा महिला हुन् वा पुरूष दिनमा थोरै मात्र रक्सी पिउन सुझाएको थियो।

गएको डिसेम्बरमा न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले रक्सीको थोरै उपयोगले मुखजन्य क्यान्सर कम गर्न भूमिका खेल्ने बताएको थियो। रक्सी कम्पनीले सोही अध्ययनलाई व्यापक प्रचार गरिरहेका छन्। उनीहरू हल्का रक्सी पिउने र पिउँदै नपिउनेको जीवनशैली हेर्दै थोरै रक्सी पिउनु स्वास्थ्यका लागि फाइदाजनक भएको बताउने गरेका छन्।  

प्रकाशित: १३ असार २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App