१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बिदेसिएका करिब सात लाखमध्ये दुई लाखले रोजे युएई

चालु आर्थिक वर्षको एघार महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो।

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको एघारौं महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिट्यान्स वृद्धि हुने देखिन्छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको गत साउन देखि जेठसम्ममा मात्रै एक लाख ७५ हजार दुई सय ३९ युवा श्रमका लागि युएई पुगेका छन्।

यस तथ्यांकमा श्रम स्वीकृति नलिई युएई पुगेका युवाको गणना भने छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ । घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्।

चालु आर्थिक वर्ष २०८०–८१ नसकिँदै अर्थात् गत साउनदेखि जेठसम्म सात लाख ८२ हजार पाँच सय ६६ जना नेपाली युवा वैदेशिक रोजगारीका निमित्त विभिन्न देश पुगेको विभागको तथ्यांकले देखाएको छ। जसमध्ये अधिकांशको रोजाइ युएई बनेको छ।

यो तथ्यांक नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको एकमुष्ट संख्या हो। गत वर्षजस्तै चालु आर्थिक वर्षमा पनि रोजगारी खोज्दै विदेश जाने युवाको संख्या सात लाखभन्दा माथि पुग्ने अवस्था देखिएको छ। यसरी विदेश जाने नेपाली युवाको लर्को धेरै बढ्दो छ।

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विभिन्न देश जाने युवाको संख्या सात लाख ७१ हजारभन्दा बढी थियो। गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी सात लाख ७१ हजार तीन सय २७ युवा श्रम स्वीकृति लिएर विदेश गएका थिए।

अहिले युएई, साउदी अरेबिया, मलेसिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन्। युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देशमा पनि जान थालेका छन्। यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि विदेसिनै पर्ने आम मानिसको नियति भने नफेरिने संकेत देखिएको छ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर सबैभन्दा बढी नेपाली युवा युएई गएको जानकारी वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले दिए। उनका अनुसार भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरू जानेहरूको संख्या विभागको तथ्याकंमा छैन।

देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुँदा ठूलो संख्यामा युवाहरू विदेशी रहेका छन्,’ उनले भने, ‘महामारीका कारण देशमै केही स–साना व्यवसाय गरेर बसेका युवाहरू पनि विदेसिएका छन्।’

वैदेशिक रोजगारीमा युएईमा कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षा गार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेको विभागका प्रवक्ता सुवेदी बताउँछन्। ‘जहाँबाट कामदारको माग आउँछ, त्यही धेरै जाने हुन् तर नेपाली कामदारहरू जाने गरेका अधिकांश गन्तव्य कम तलब एवं सुविधा हुने खालका छन्,’ उनले भने।

खाडी मुलुकमध्येको आकर्षणको देश युएई भएको सुवेदी भन्छन्, ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण युएई नै फर्किरहेका छन्। धेरै नेपाली युवाका लागि विदेसिनु बाध्यता भएको छ।’

विदेशमा घरेलु कामदार पठाउन लागेको रोक नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्। सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन्।

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४–६५ मा दुई लाख चार हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेसिएका थिए। यसरी तथ्यांक बढ्नुमा गत वर्ष २०७९–८० र चालु आर्थिक वर्ष समेत जोडिएकाले संख्या बढेर अकासिएको थियो।

देशभित्र बसेर दैनिक जीवनयापन गर्नसमेत नसकिने भएपछि यहाँ बसेर केही हुन्न भन्दैे धेरै युवा विदेसिएका छन्। त्यसैले वैदेशिक रोजगारीमा जाने युवाको संख्याले नयाँ कीर्तिमान् बनाइरहेको सुवेदी बताउँछन्। यसरी युवा विदेसिनु पर्ने बाध्यताको पछाडि देशभित्र रोजगारी नै नपाउने, पाए पनि नियमित तलब र काम नपाउने अवस्था रहेको गुनासो बिदेसिएका थुप्रै युवाको हुन्छ।

‘देशमा बसेर पनि के गर्नु र? २५ वर्षभन्दा बढी आफ्नै देशमा बसियो। खै के नै गर्न सकियो र? केही गर्ने विचार गर्‍यो भने सुरुवात गर्ने पुँजी नै जुट्दैन । विदेशमा दुःख अनुसारको पैसा छ । नियमित कामसँगै पैसा पनि हुन्छ। परिवार र देशको माया मात्रै लागेर के गर्नु आखिरमा पैसै चाहिन्छ,’ वैदेशिक रोजगारीमा करिब ती वर्षदेखि युएईमा कार्यरत ललितपुरकी प्रिया सिलवालले बताइन्।

अग्ला भवन, मरुभूमि, तेल र पर्यटनका लागि परिचित युएई संसारका केही विकसित देशमध्ये एक हो। यसको तीव्र रूपमा बढेको आर्थिक गतिविधिले नेपालीलाई श्रमका निम्ति स्वागत गर्ने गरेको छ।

विभागका सूचना अधिकारी सुवेदीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘युएईमा विदेशी कामदारमध्ये सबैभन्दा धेरै भारतीय छन्,’ उनले भने, ‘त्यसपछि पाकिस्तानी, बंगलादेशी, फिलिपिनो, इरानी, इजिप्टियन, नेपाली, श्रीलंकाली र चिनियाँ छन् । धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पुर्‍याउने गरेको छ।’

नेपाली महिलाहरू कारखाना, सरसफाइ र घरेलु कामदारका रूपमा युएई जाने गरेका छन्। महिलाहरू म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा पनि विदेश जाने गरेको विभागका अधिकारीहरू बताउँछन्। ‘बढ्दो सुविधा र विभिन्न कारणले नेपाली श्रमिकका लागि युएई पहिलो रोजाइ बनेको छ,’ उनले भने, ‘युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्यपूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी दृष्टिकोण हो। जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको छ।’

राजनीतिक र आर्थिक स्थिरताका कारण तुलनात्मक रूपमा विश्वभरका लगानीकर्ताहरूले युएईमा व्यापार खोल्न सस्तो र दिगो ठान्ने गरेको विभागका सूचना अधिकारी सुवेदीले बताए। ‘स्वतन्त्र राष्ट्र बनेदेखि युएईले लाखौं आप्रवासीलाई आश्रय दिएको छ। युएईले तेल र पूर्वाधार गतिविधि सञ्चालन गर्दा रोजगारी र लगानीका अवसरको खोजीमा रहेका नेपालीले युएईलाई प्रमुख गन्तव्य मानेका छन्,’ सुवेदीले भने।

वैदेशिक रोजगार विज्ञ गणेश गुरुङका अनुसार पर्यटकीय हिसाबले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाउने गरेका छौं। नेपालीले चाहे अनुसारको काम युएईमा पाइन्छ।

‘नेपाली आप्रवासीले काम गर्न र बस्न रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो,’ उनले भने, ‘अहिले खाडी मुलुकहरूमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्यका रूपमा रहेको छ।’

सुरक्षा, ड्राइभिङ, सेल्स, आतिथ्य, निर्माण, सरसफाइ आदि क्षेत्रमा नेपाली कामदारको युएईमा ठूलो माग छ। नेपालले यो देशमा अर्धदक्ष र दक्ष जनशक्तिलाई तालिम दिएर पठाउने हो भने धेरै फाइदा लिन सकिने आप्रवासी विज्ञ गुरुङले बताए। वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित नेपाली युवा युएई जाने गरेका छन्।

यकिन तथ्यांक उपलब्ध नभए पनि भारत, पाकिस्तान, बंगलादेश, नेपाल, अफगानिस्तान, फिलिपिन्स र केही अफ्रिकी देशहरूबाट हजारौं मानिस हरेक महिना रोजगारीको खोजीमा युएई जाने गरेका विभागका अधिकारीहरू बताउँछन्।

नेपाली भन्नेबित्तिकै राम्रो काम गर्ने, लगनशील, इमानदार र उत्कृष्ट प्रदर्शन गर्ने भनेर हरेक देशमा चिनिने गरेका छन् तर युएईलाई पहिलो गन्तव्य मुलुक बनाउँदै त्यहाँको केही वर्षको बसाइपछि थप अवसरका लागि साथै बढ्दो आर्थिक लाभ र गतिलो गन्तव्य खोज्दै युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा रोजगार स्थानान्तरण तथा पलायन भइरहेको अवस्था पनि देखिन्छ।

सरकारले सिपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि अधिकांश महिला सिपविहीन अवस्थामा विदेश पुग्ने गरेका छन्। युएईमा एक अवधि काम गरेर स्वदेश फर्किएकाहरू राम्रो अवसर भएकाले फेरि युएई फर्किने गरेका युवाहरू थुप्रै छन्।

विभागको तथ्यांक अनुसार सबैभन्दा बढी नेपाली मधेसबाट बिदेसिएका छन्। मधेसका युवा गाउँका एजेन्ट र म्यानपावर कम्पनीका भरमा विदेश पुगेका हुन्छन्। अहिले युवाहरूको प्रमुख गन्तव्य मुलुक युएई, साउदी अरेबिया, कतार, मलेसियाजस्ता देश रहेको विभागको तथ्याकंबाट प्रष्ट हुन्छ।

प्रकाशित: ४ असार २०८१ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App