१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको सोमबार निधन भएको छ। ग्रामथान–४ घर भएका ५६  वर्षीय थारुको सोमबार दिउँसो १ बजेतिर निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार लामो समयदेखि बिरामी भई अचेत अवस्थामा रहेका थारुको उनकै घरमा निधन भएको हो।

नेपाली काँग्रेसले २०८० माघ १० गते विराटनगरस्थित होटल स्टर्न स्टारमा राष्ट्रियसभा निर्वाचनका लागि आयोजना गरिएको छलफलमा सहभागी भएका उनी कार्यक्रम स्थलमै बेहोस भएर ढलेका थिए।

उनलाई तत्कालै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको चिकित्सकले बताएका थिए। माघदेखि अस्पताल भर्ना भएका थारुको उपचार सम्भव नहुने भनेर चिकित्सकले भनेपछि जेठ १ गते घर लगिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार थारुको अचेत अवस्थामै आफ्नै घरमा निधन भएको हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष बिरामी परेपछि पालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। थारुको मंगलबार अन्तिम संस्कार गरिने जनाइएको छ।

प्रकाशित: ३ असार २०८१ १७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App