४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

धनुषामा सुरु भयो मनसुनी पूर्वतयारी

सशस्त्र प्रहरीले धनुषामा मनसुनी पूर्वतयारी सुरू गरेको छ। यस वर्ष वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाको अनुमानपछि प्रहरीले मनसुनी पूर्वतयारी सुरू गरेको हो।

शुक्रबार सशस्त्र प्रहरी बल धनुषाले जिल्लाका १८ वटै पालिका प्रमुख, रेडक्रस र विभिन्न संघसंस्थाका प्रतिनिधि बोलाएर मनसुनी पूर्वतयारीसम्बन्धी छलफल गरिरहेको सशस्त्र प्रहरीका एसपी दर्शन गिरीले जानकारी दिए।

उनका अनुसार बैठकले जिल्ला विपद् व्यवस्थापन समितिबाट पेस भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ स्वीकृत गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा बसेको बैठकमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, पालिका  प्रमुख–उपप्रमुख, सुरक्षा निकायका प्रमुखहरू, रेडक्रस सोसाइटी, जनकपुर उद्योग वाणीज्य संघ, युनिसेफ, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायतका सरोकारवालाको उपस्थिति रहेको छलफलमा सशस्त्र प्रहरीले आठबुँदे पूर्वतयारी तथा प्रतिकार्य योजना प्रस्तुत गरेको छ।

बैठकले छलफलबाट विभिन्न निर्णय गरेको छ। पहिलो निर्णयमा जिल्ला विपद् व्यवस्थापन समितिबाट पेस भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ स्वीकृत; दोस्रो– बाढी तथा डुबान हुन सक्ने सम्भावित स्थानको पहिचान रहेका छन्।

यसैगरी तेस्रो निर्णयमा बाढीबाट प्रभावित हुन सक्ने स्थान र त्यहाँ रहेका जोखिमयुक्त बस्ती, टोल, गाउँको सम्बन्धित स्थानीय तहले तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिबाट डुबान हुने जोखिमयुक्त बस्ती, टोल, पहिचान गरी सोहीअनुसार पूर्वतयारी गरी विपद् प्रभावित व्यक्तिहरूलाई राहत, पुनःस्थापना, उपचारलगायतका व्यवस्थापन गर्ने रहेको छ।

त्यस्तै चौथो निर्णयमा सुरक्षा निकायसँग रहेको जनशक्ति र सामग्रीलाई तयारी हालतमा राख्ने; पाँचौं निर्णयमा मनसुन वर्षाबाट डुबान हुने स्थानमा खाल्डाखुल्डी र पुलपुलेसा मर्मत गर्ने; छैटौं निर्णयमा स्थानीय विपद् व्यवस्थापन समिति गठन नभएका पालिकाहरूमा तत्कालै अनिवार्य रूपमा विपद् व्यवस्थापन समिति गठन गरी बैठक बसी उद्धार सामग्री, बाढीबाट प्रभावितहरूका लागि राहत र पुनःस्थापनाका निम्ती आवश्यक व्यवस्था मिलाउने रहेका छन्।

यसैगरी जिल्ला रेडक्रस सोसाइटी धनुषाले मनसुनी बाढीबाट प्रभावित हुने स्थान र क्षेत्रहरूमा एम्बुलेन्स सेवा, राहत र पुनःस्थापनाका लागि तयारी अवस्थामा राख्ने आठौं तथा अन्तिम निर्णयमा कमला नदीलगायत अन्य नदीहरूको कटान रोक्नका लागि आवश्यक व्यवस्था मिलाउने रहेका छन्।

प्रकाशित: १ असार २०८१ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App