२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

आइडाको बैठक असार ४ देखि काठमाडौंमा हुँदै

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक आगामी असार पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ। आगामी असार ४ देखि ७ (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौंमा आइडा– २१ के बैठक आयोजना हुन लागेको हो।

बैठकबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा– २१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गरे।

बैठकले विश्वव्यापी रूपमा आइडाको स्रोत परिचालनका लागि महत्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ। ‘उक्त बैठक नेपालमा आयोजना हुनु भनेको नेपालका लागि सकारात्मक पक्ष हो। यसले नयाँ अवसर सिर्जना गर्ने छ’, अर्थसचिव मरासिनीले भने।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको जानकारी दिए। आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च रहेको उनको भनाइ छ।

‘आइडा– २१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतको संकलन र नवीकरण गर्न दाताहरू तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन्’, जेर्बोसले भने, ‘आइडा सहुलियतपूर्ण वित्तीय सहायताका लागि विश्वको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको छ।’

आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलोमध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्वपूर्ण हुने बताए।

उनका अनुसार बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति (पोलिसी प्याकेज) तय गर्न महत्वपूर्ण भूमिका खेल्ने छ। ‘कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र त्यसका लागि कति लगानी आवश्यक छ भन्ने विषयमा छलफल भई बैठकले तय गर्ने छ’, नेपालले भने।

असार ४ देखि ७ सम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नेछन्। बैठकमा ७० देशका दुई सयभन्दा बढी व्यक्ति सहभागी हुँदैछन्। बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगालगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन्। सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमापछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।

आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडाको बैठक हरेक तीन वर्षमा हुँदै आएको छ। यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ।–रासस

प्रकाशित: ३२ जेष्ठ २०८१ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App