२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुर भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्दै महानगर

भरतपुर महानगरपालिकाले भारतीय पर्यटकलाई आकर्षित गर्न पर्साको ठोरीमा नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

शनिबार सम्पन्न उक्त कार्यक्रमले सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई भरतपुर भ्रमण वर्षमा सहज वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ठोरी भन्सारबाट भारतीय सवारी साधनलाई अस्थायी प्रवेशको अनुमति दिने र यस नाकालाई त्रिदेशीय नाकाको रूपमा विस्तार गर्ने योजना रहेको बताइन्।

‘ठोरीको नाका छोटो दुरीको रूपमा स्थापित छ। अहिले हामीले जे गर्न सम्भव थियो त्यो गरेका छौँ। छोटी भन्सारलाई व्यवस्थित गर्न पहल गरेका छौँ,’ दाहालले भनिन्।

उनले ठोरीदेखि बबईसम्मको सडकलाई स्तरउन्नती गर्ने योजना रहेको र सडक तथा जङ्गली जनावरको जोखिम घटाउन प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी गराइन्।

बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालले नेपाल र भारतको सदियौं पुरानो सम्बन्धले भारतीय पर्यटकलाई सहज वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले भरतपुरसम्म आउने पर्यटकको सुविधा सुनिश्चित गर्न सडक स्तरउन्नतीका लागि बागमती प्रदेशको बजेटमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भारतीय महावाणिज्य दूत देवी सहाय मिनाले भारत र नेपालको सांस्कृतिक, धार्मिक सम्बन्धको सुमधुरतालाई जोड्दै भारतीय पर्यटकको नेपाल भ्रमणप्रति इच्छुक हुने बताए।

‘भारतीयहरू जीवनमा एक पटक पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, मनकामना, देवघाट जान इच्छा राख्छन्,’ उनले भने। उनले भरतपुर भ्रमण वर्ष सफल हुने विश्वास गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए।

माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोले भरतपुर भ्रमण वर्ष सफल बनाउन सबै पक्षबीच सहयोगको आवश्यकता रहेको बताइन्। ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भारतबाट आउने नागरिकलाई अनावश्यक दुःख नदिन अनुरोध गरे।

नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले भारतीय पर्यटकका लागि मुद्रा सटहीको सहज सुविधा हुनुपर्नेमा जोड दिए।

वीरगन्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष अनिल कुमार अग्रवालले भारतीय पर्यटकलाई आकर्षित गर्न सवारी साधनमा भन्सार पास निःशुल्क गर्नुपर्ने बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले भरतपुर भ्रमण वर्षले चितवनका व्यवसायीलाई उत्साहित बनाएको बताए।

भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले भारत घुम्न आउने विदेशी पर्यटकलाई ठोरी भन्सारबाट नै नेपाल प्रवेशका लागि भिसा दिने व्यवस्था मिलाउन सके तेस्रो मुलुकका पर्यटकको संख्या वृद्धि गर्न सकिने बताए।

प्रकाशित: २६ जेष्ठ २०८१ १८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App