१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन। कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो।

जिल्लालाई पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमाथि पक्की पुल निर्माण गर्न आवश्यक देखिन्छ। सरकारले चालु आर्थिक वर्षभित्र सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित बजेट विनियोजन गरेको थियो।

पुल निर्माणले गति लिन नसक्दा चालु आवमा पनि हुम्लामा सडक सञ्जाल विस्तार नहुने पक्का भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए।

चालु आव सकिना एक महिना केही दिन मात्र बाँकी रहेको अवस्थामा पुल निर्माण सम्पन्न नहुने उनले बताए।

‘राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो। सरकारले हरेक वर्ष सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न बजेट विनियोजन गर्दै आएको छ’, नेपालीले भने, ‘पक्की पुल निर्माण सुरु भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिलाइ गरेकाले काम रोकिएको छ।’

खार्पुनाथ गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि गाउँपालिकाको खार्पुमा पर्ने दोजाम कर्णाली नदीमा पुल निर्माण नहुँदा आवागमनमा सास्ती हुनुका साथै जिल्ला राष्ट्रिय सडक सञ्जालबाट अलग हुँदै आएको उनले बताए।

‘निर्माण सुरु भएयता पुलको पूर्वतर्फको पिलर निर्माणस्थलमा तातोपानीको मुहान निस्किएको छ। गत साउनमा नदीको पानी उक्त पिलरमा पस्दा करिब आठ महिना काम रोकिएको थियो। अहिले पनि तातोपानी निस्किएको स्थानमा पुल निर्माण गर्ने वा नगर्ने निश्चित भएको छैन्’, योजना प्रमुख नेपालीले भने, ‘सरोकार भएका निकायसँग छलफल गरिरहेका छौं। निर्माण कम्पनीले पनि समन्वय गरिरहेको छ। तर ठोस निर्णय नहुँदा पक्की पुल निर्माण अनिश्चित भएको छ।’

पुल निर्माण गर्ने निर्णय गरी काम अगाडि बढाएको अवस्थामा कम्तीमा चार वर्ष समयावधि लाग्ने उनले जानकारी दिए।

दोजाम कर्णालीमा पक्की पुल निर्माण ढिलाइ भएको भन्दै तत्कालका लागि सोही स्थानमा अस्थायी बेलिब्रिज बनाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन्। अस्थायी बेलिब्रिज निर्माण गरी तत्काललाई आवागमन सहज बनाउनुपर्ने माग स्थानीयको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबाट बेलिब्रिज निर्माण गर्ने मौखिक सहमति आए पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको योजना प्रमुख नेपालीले बताए। पक्की वा अस्थायी पुल निर्माण नहुँदा चार वर्षसम्म सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना नरहेको उनले जानकारी दिए।

जिल्लाका जनप्रतिनिधि, नागरिक समाज र  विभिन्न राजनीति दलका प्रतिनिधि पुल निर्माणका लागि ‘डेलिगेसन’ लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसम्म पुगे पनि हालसम्म माग पूरा हुन नसकेको नेपालीले बताए।

तत्काल सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमा अस्थायी बेलिब्रिज निर्माण गर्नुपर्नेमा त्यो पनि सम्भावना नदेखिएको उनको भनाइ छ।

निर्मार्णाधीन पक्की पुलको कामले गति लिन नसकेको स्वीकार गर्दै योजना प्रमुख नेपालीले भौतिक संरचना, निर्माण कम्पनीको ढिलाइ, बाढीपहिरोको जोखिमले काममा ढिलाइ भएको उल्लेख गरे।

कर्णाली करिडोरअन्तर्गत दुल्ली कुनाबाट लालीबगरसम्मको असजिलो छारे भिरलाई छिचोलेर नेपाली सेनाले सडकलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ। उक्त खण्डमा दैनिक चार घण्टा मात्र यातायातका साधन सञ्चालन हुँदै आएका छन्।

हाल कर्णाली करिडोरमा सञ्चालनमा आएको यातायातका साधन खार्पुको दोजाम कर्णाली पारीसम्म मात्र आउने गर्छन्। पारिबाट वारि आउन स्काभेटरको सहयोगमा सवारीसाधन तार्ने गरिएको छ।

वर्षाको समयमा नदीमा पानीको बहाव बढ्ने भएकाले स्काभेटरको सहयोगमा सवारीसाधन तार्ने जोखिम रहेको स्थानीय बताउँछन्। सो स्थानमा पुल निर्माण भए हुम्ला सदरमुकाम हुँदै हिल्सासम्म राष्ट्रिय सडक सञ्जाल जोडिनेछ।

-रासस

प्रकाशित: २६ जेष्ठ २०८१ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App