खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने जुम्ला ग्रामीण क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन्। जुम्लाको तिला गाउँपालिकाका महिला आयआर्जनमार्फत आत्मनिर्भर बन्न थालेका हुन्। राडीपाखी बुनेर आम्दानी हुन थालेपछि तिला गाउँपालिका-२ लर्मी गाउँकी ५७ वर्षीय दामा रावत खुसी छिन्। श्रीमान्,छोराबुहारीको भरमा मात्र घर व्यवहार चलाउँदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर राडीपाखी बुनाई सम्बन्धी काम सुरु गरेको बताउँछिन्।
‘अहिले श्रीमान् । छोराबुहारीको एकल भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, उनले भनिन्। उनी अहिले जुम्लाको सदरमुकाम खलंगा बजारमा राडीपाखी बुनाई गरिरहेकी छिन्। उनका छोराबुहारी आजभोलि पैसा कमाउन कालाहा पहाड छन्। गाउँको घरमा ५८ वर्षका रावतका श्रीमान् मेघ बहादुर रावत मात्रै छन्। करिव ५० देखि ६० भेडाबाख्रा स्याहारसुसार गर्छन्।
‘म,सदरमुकाम खलंगामा कोठा लिजमा लिएर दुईवटा नातिहरु पढाउछु। राडीपाखी बिक्री भएको रुपैयाँले नातिहरुको कापी, कलम,पोसाक,फिस तिर्ने,चामल,दाल,नुन तेल,कोठाभाडा तिर्न सहज भएको छ’, रावत बताउँछिन्।
बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त रहने उनी एउटै राडीपाखीबाट ८ देखि १० हजार रुपैयाँसम्म कमाउने गर्छिन्। उनी भन्छिन् ‘लिउ भने,चार हजार देखि ७ हजार सम्म बिक्री हुन्छ, अहिले एक महिनाभित्र मात्रै ४० हजार बराबरको राडिपाखी र लिउ बेचिसकेकी छु।’
आफ्नो सीपलाई प्रयोग गर्दै स्वरोजगार बनेकी उनी जीवनयापनमा सहज हुन थालेपछि झन् उत्साहित बनेकी छिन्। तर,बजारको अलि समस्या भएको रावतको अनुभव छ। यसमा स्थानीय सरकारले समस्या समाधान गर्नुपर्ने उनले बताइन्। सानो छँदा २० वर्षको उमेरदेखि बुबा,अंकल र दाजुभाइहरूले बुनेको हेरेर नै राडीपाखी बुन्न सिकेकी उनले सुनाइन्।
‘आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रूपमा अँगालेको छु, सानोतिनो खर्चका लागि ऋण काड्नु परेको छैन ’ रावतले भनिन्। यसैगरी यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनी अन्य महिलाहरूलाई पनि प्रेरणा दिने गरेकी छिन्। सीप सिकेपछि जीवनप्रति बेग्लै आशा जागेको र सीपले आफ्नै खुट्टामा उभिन सकिने उनी सुनाउछिन्।
रावतको मात्रै हेन्न यता सिंजा गाउँपालिका-६ की कोइरे रावतले पनि राडीपाखी बुनेर परिवारको गुजरा टार्दै आएकी छिन्। महिला अचेल राडीपाखी बुन्न व्यस्त हुने गरेका छन्। घरैमा बसेर, खाली समयमा राडीपाखी बुनेर राम्रो आम्दानी हुने भएपछि यहाँका महिलाहरू अहिले राडीपाखी बुनाइप्रति आकर्षित छन्।
यहाँका अधिकांश महिलाले अरूले बुनेको हेरेर नै राडीपाखी बुन्न सिकेका हुन्। यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरूमा छ। उक्त क्षेत्रमा उत्पादन गरिएका राडी जिल्लाका विभिन्न बजार तथा बाह्य जिल्लामा समेत निर्यात हुने गर्दछ। यहाँको राडी उत्कृष्ट मानिन्छ। स्थानीयहरु राडी बुनेर मनग्य आम्दानी गर्दछन्। महिलाहरूको सीप र उत्पादनलाई बजारीकरण गर्न गाउँपालिका समन्वय र सहकार्य गर्नुपर्ने उनी बताउँछिन्।
‘युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै सीपलाई प्रयोग गरी रोजगार सिर्जनाका प्रयासहरू पनि वर्षेनि भइरहेका हुन्छन्। युवाहरूलाई उद्यमी, व्यवसाय बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउँदै आएका छन्। तर उपलब्धिलाई शुन्य देखिन्छ। परम्परागत सीप र उत्पादनहरू लोप हुनबाट जोगाउन ती सीपलाई पुस्तान्तरण गर्न र बजार व्यवस्थापनमा ध्यान पुर्याउन आवश्यक छ।
जिल्ला पशु सेवा कार्यालय जुम्लाका अनुसार पशुपंक्षी उत्पादनका हिसाबले भेडा बाख्रापालनलाई प्रशस्त सम्भावनाको रुपमा जुम्ला जिल्लालाई लिईन्छ। यस जिल्लामा व्यवसायिक रुपमा, भेडाबाख्रापालन तथा पोल्ट्री फर्महरू स्थापना भएका छन् भने, भेडाबाख्रापालन गरिदै आएको छ। जुम्लामा अहिले ८४ हजार तिन सय ८८ भेडाको संख्या छ। भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।
प्रकाशित: २२ जेष्ठ २०८१ १५:४७ मंगलबार