१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सडक विभाग र महानगर द्वन्द्व: महानगर भत्काउने, विभाग कालोपत्र लाउने

तस्बिर: दिपेश दर्शनधारी

चक्रपथको दोस्रो सडक विस्तारमा ढिलाई हुँदा धुवाँ धुलोले सास्ती भएको र महानगरपालिकालाई गाली आएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले जेठ १२ गते सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा धुलो थुपारिदिए।

मेयर शाहले विगत १५ वर्षदेखि चक्रपथ विस्तार अन्तर्गतको दोस्रो खण्ड (कलंकी– बसुन्धरा) विस्तारको नाममा काठमाडौंका जनताले धुलो र कष्ट बेहोर्नु परेको भन्दै सडक विभाग र सडक डिभिजन काठमाडौँलाई दैनिक धुलो उपहार पठाउने उल्लेख गरेका थिए।

काठमाडौं महानगरको यो कार्य बलमिच्याईं तथा अराजक शैली भएको भन्दै सडक विभागले विज्ञप्ती निकाल्यो। त्यो त विभागले काठमाडौं महानगरले न्युरोड क्षेत्रमा बिना अनुमति सडक काटेको र त्यसलाई विभागले रोक्दा विषयान्तर गर्न खोजेको बताएको थियो।

विभागले विज्ञप्तिमा भनेको छ, ‘न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ।’

त्यसपछि भने काठमाडौं महानगर र सडक विभागबीच दोहोरी नै चल्यो। महानगरपालिकाले सडक खन्ने कार्यलाई निरन्तरता दिइरहेपछि सडक डिभिजन कार्यालय काठमाडौँले फेरि अर्को पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भन्यो। तर महानगरले सडक यथास्थितिमा पुनःस्थापना नगरेपछि सोमबार सडक विभागले न्यूरोड क्षेत्रमा भत्काएको बाटो आफैले पीच गर्न थाल्यो।

सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।

सोमबार महानगर प्रहरीसहितको टोली न्युरोड क्षेत्रमा विभागले गरेको कामलाई रोक्न नभएर हेर्न मात्र गएको मेयर शाहको सचिवालयले दाबी गरेको छ।

सचिवालयले भन्यो, ‘सोमबार न्युरोड क्षेत्रमा नगरप्रहरीसहितको टोली विभागले गरेको काम रोक्न नभएर हेर्न मात्र गएका थियौं। आइतबार सडक विभागले महानगरलाई बैठकमा बोलाउनुभएको थियो। बैठकमा हामीले विभागलाई तपाईहरुको क्षेत्राधिकारभित्र पर्ने कुरा जे गर्न मन लाग्छ त्यहि गर्नुस् भनेका थियौं। सोही अनुसार आज उहाँहरुले सडक पीच गर्नुभएको हो।’

विभागले नै न्युरोड क्षेत्रमा सडक काट्न अनुमति दिएर महानगरले उक्त काम गरेको पनि सचिवालयले दाबी गरेको छ।

‘हामीले विभागबाट सडक काट्न अनुमति लिएका थियौं। विभागले हुन्छ भनेर नै सडक काटेका हौं। लिखित त्यस्तो कुनै सहमति भएको थिएन। छलफलबाट मौखिक सहमतिअनुसार काम अघि बढाएका थियौं। तर पछि विभागले सडक काट्न अनुमति नदिएको भन्दै रोक्यो। उहाँहरुले पछि के सोच्नुभयो’, सचिवालयले भन्यो।

सडक काट्दा लागेको लागत सडक विभागलाई भर्नका लागि महानगरले विभागलाई पत्र काट्ने तयारी पनि गरेको छ।

महानगरले सडक विभाग र सडक डिभिजन कार्यालयमा धुलो लगेर फालेको कुरा न्युरोड क्षेत्रको विषय नभएको सचिवालयले भनेको छ।

सचिवालय भन्छ, ‘हामीले चक्रपथका समस्या समाधान नभएका कारण धुलो फालेका थियौं। जनताहरुले कति धुलो खाने भनेर धुलो फोलका थियौं। तर उहाँहरुले त्यो विषयलाई लगेर न्युरोडको सडक काट्नेमा जोडिदिनु भयो। हामीले न्युरोडको विषयलाई लिएर धुलो फालेका थिएनौं।’

यता सडक विभागका सुशील बाबु ढकाल महानगर र विभागबीचको यो विषयलाई त्यति ठूलो बनाउन आवश्यक नभएको बताउँछन्। सो विषयलाई ठूलो बनाउन आवश्यक नभएको उनको भनाइ छ।

ढकाल भन्छन्, यो विषयलाई त्यति ठूलो बनाउन आवश्यक छैन्। सडक भन्ने कुरा जनताहरुले प्रयोग गर्ने कुरा हो। जुन निकायले काम गरेपनि राम्रोको लागि नै काम गर्ने हो। राम्रो बनाउनका लागि बनाउने भत्काउने होडबाजी गर्नु राम्रो होइन्। सडक विभागको धारणा त्यहि हो।

महानगरसंग जहिल्यै पनि विभागको सहकार्य रहने उनले बताए। ‘महानरसंग हाम्रो हिजो पनि आज पनि भोलि पनि सधै झै सहकार्य र समझदारी हुँदै बढ्छौं, उनले भने।

महानगरले न्युरोड क्षेत्रमा सडक काट्ने अनुमति लिएको नलिएको भन्ने कुरामा भने ढकाल बोल्न चाहेनन्।

न्युरोड क्षेत्रमा सडक काट्ने विषयमा महानगरले विभागबाट अनुमति लिएको भन्ने दाबी छ नी भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा म धेरै बोल्न चाहिन। उहाँहरुले सहमती लिएको नलिएको भन्ने कुरा मलाई थाहा छैन। सबै कुरा विभागमा आउँदैन। विभाग मातहतका निकायबाट काम हुन्छ। उहाँहरुलाई थाहा होला।’  

प्रकाशित: २१ जेष्ठ २०८१ २०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App