१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आधा दर्जनभन्दा बढी मुलुकका कुटनीतिक नियोगका प्रमुख पोखरा घुम्दै

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आज आधा दर्जनभन्दा बढी मुलुकका कुटनितिक नियोगका प्रमुखहरू पोखरा भ्रमण गर्दैछन्।

अन्नपूर्ण प्रथम हिमालको आरोह दिवसको अवसर पारेर आजदेखि तीनदिने कार्यक्रम आयोजना गरिँदै छ। जसको पहिलो दिन आज नेपालस्थित विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका हुन्।

आज पोखरा आउने कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारी आजै कास्कीको धम्पुस प्रस्थान गर्नेछन्। धम्पुसबाट धिताल गाउँ हुँदै अस्तामसम्म पदयात्रामा जाने कार्यक्रम रहेको पनि छ। पदयात्रापछि उनीहरु आज राति नै पोखरा फर्किने छन्।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ।

पर्यटन बोर्डका अनुसार उक्त कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, मलेशियाका राजदूतका साथै दूतावासका उच्च अधिकारीहरू पोखरा आउनेछन्।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि यो भ्रमणमा सहभागी हुनेछन्।

दिवसमा अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका तीनजना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजन शेर्पा र लाक्पा डेन्डी शेर्पासहितका आरोहीलाई पनि सम्मान गरिने बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए।

‘नेपालस्थित दूतावासका राजदूत सहित कूटनीतिक नियोगका पदाधिकारीको भ्रमणले पोखरा क्षेत्रमा आगामी दिनमा ती मुलुकका पर्यटकको आगमन बढ्ने अपेक्षा छ,’ पोखरेलले शनिबार आयोजित पत्रकार भेटघाटमा भने, ‘पोखरा र नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह गर्न कूटनीतिक नियोगको भूमिका महत्त्वपूर्ण हुनेछ।’

अन्नपूर्ण दिवसका कार्यक्रमका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीसँग  सहकार्य गरेको उनले बताए।

उनका अनुसार पोखरा आसपासका क्षेत्रमा प्रत्यक्ष अवलोकन गराउँदा उच्च पदाधिकारीबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ।

‘पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको मात्र नभई नेपालकै पर्वतीय पर्यटनको प्रचार प्रसार र प्रवर्द्धन हुनुको साथै यसबाट विश्व पर्यटन बजारमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने, ‘नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास यो भ्रमणले लिइएको छ।’

बोर्डका अनुसार नेपालमा पर्यटक आगमन हुने प्रमुख मुलुकमध्ये पहिलो नम्बरमा भारतीय धेरै छन्। त्यसपछि अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश लगायतका मुलुकका पाहुना बढी आउँछन्।

टानका अध्यक्ष धर्मराज पन्थीका अनुसार अन्नपूर्ण दिवसको मूल कार्यक्रम भने जुन ३ जुन (सोमबार) हुनेछ । उक्त दिन विशिष्ट पाहुनासहित गण्डकी प्रदेश सरकार, पोखरा महानगरका प्रमुख र प्रतिनिधिसहित पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायीको उपस्थितिमा पोखरा क्षेत्रकै हाइकिङ गराइनेछ।

‘पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उच्चपदस्थ पाहुना पोखरा भित्र्याउन थालेका हौ। यसले साहसिक पर्यटन प्रवर्द्धनमा थप भूमिका निभाउनेछ,’ पन्थीले भने, ‘अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो बनाउने प्रयासमा हामी जुटेका हौ।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र आसपासका क्षेत्रमा पाहुना भित्र्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए।

साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान पोखरा क्षेत्रले पहिचान कमाएकोले आगामी दिनमा थप पाहुना भित्र्याउने योजनाका लागि व्यवसायीले पहल गरिरहेको उनले बताए।

‘उच्चपदस्थ पाहुनाले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको एउटै फोटो र भिडियो पनि पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुनेछ,’ उनले भने। पर्यटन क्षेत्रले पर्यटन क्षेत्र अप्ठेरो परेको बेलामा यसअघि पनि उच्चपदस्थ पाहुनालाई पोखरा ल्याएर आसपासका क्षेत्रमा घुमाउँदै आएको छ।

अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ।

सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलो पटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो।

प्रकाशित: २० जेष्ठ २०८१ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App