चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ। शुक्रबार आएको हावाहुरीसहितको भीषण वर्षाले पोल ढाल्दा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
यी क्षेत्रमा सयभन्दा बढी विजुलीका पोल ढालेको छ। पोल ढल्दा त्यस क्षेत्रमा अझै पनि विद्युत चलाउन नसकिएको नेपाल विद्युत प्राधिकरण, भरतपुर विरतण केन्द्रले जानकारी दिएको छ।
सडकछेउका रुख ढलेर विद्युतका संरचनाहरूमा क्षति पुगेको भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले बताए। उनका अनुसार गितानगर, नारायणगढ, क्षेत्रपुर, भरतपुर–४ र ५ र इच्छाकामना गाउँपालिकाको इच्छाकामना मन्दिर आसपासको क्षेत्रमा विद्युत अवरुद्ध भएको छ।
फेरि हावाहुरी नआएको अवस्थामा आज बेलुकासम्म सबै ठाउँमा विद्युत सुचारु गर्ने लक्ष्य रहेको उनले बताए। पूर्वी चितवनमा पनि हावाहुरीले क्षति पुर्याएको छ। अझै त्यहाँको यकिन विवरण आउन सकेको छैन।
विद्युत प्राधिकरण, चनौली वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा भने शुक्रवारको हावाहुरीले एउटा मात्रै पोल ढालेको थियो। हावाहुरीले सामान्य क्षति भएको र शुक्रवार नै मर्मत गरेर विद्युत सुचारु गरिएको केन्द्रले बताएको छ। हिजोदेखि विद्युत अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
प्रकाशित: १९ जेष्ठ २०८१ १३:४४ शनिबार