३ असार २०८१ सोमबार
image/svg+xml
समाज

कलंकी-बसुन्धरा सडक विस्तार किन अलपत्र?

चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्ड (८ दशमलमव २ किलोमिटर लम्बाइ) विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि नै सन् २०१९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भएको थियो तर पाँच वर्षसम्म पनि विस्तारको काम शून्य अवस्थामै छ।

चिनियाँ सरकारले सडक विस्तारको काम अघि नबढाउँदा त्यस क्षेत्रका जनताले हैरानी बेहोरिरहनुपरेको छ। अहिले त्यस क्षेत्रमा धुवाँधुलोले यात्रा निकै कष्ठकर बनाएको छ। यतिबेला कलंकी–बसुन्धरा सडक विस्तारको काम अलपत्र परेको छ। सडक विभागका अनुसार विस्तारको काम अहिले पनि शून्यकै अवस्थामा छ।

शनिबार अपराह्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कलंकी–बसुन्धरा खण्ड सडक विस्तारको काम अघि नबढ्दा त्यस क्षेत्रका बासिन्दालाई धुवाँधुलाले निकै कष्टकर बनाएको भन्दै सडक विभागकै कार्यालयअघि एक ट्रक धुलो फालिदिए।

यता सडक विभागले त्यस क्षेत्रमा विस्तारको काम अघि बढ्न नसक्नुमा विभागको हात नभएको आइतबार विज्ञप्ति निकालेर प्रस्टीकरण दिएको छ। विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार कलंकी–बसु्न्धरा सडक विस्तारको काम अघि बढाउन विभागले चिनियाँ सरकारको निर्णय पर्खेर बसेको छ।

‘यो विषयमा अर्थ मन्त्रालय र चिनियाँ सरकारबीच जतिसक्दो चाँडो सम्झौता हुनेछ भनी हामीले पर्खेर बसेका छौं,’ पोखरेलले भने, ‘हामीले हाम्रो तर्फबाट गर्ने काम गरीरहेका छौं।’

विभागका एक उच्च कर्मचारीका अनुसार कलंकी–बसुन्धरा सडकलाई आठ लेनको बनाउन ४ अर्ब रूपैयाँको हाराहारीमा लाग्ने अनुमान छ। ‘यो काम विभागले आफैं पनि गर्न सक्छ तर यो विषय दुई देशको सम्बन्धको विषय भएकाले हामीले चिनियाँ सरकारको निर्णय पर्खेर बसेका हौं,’ उनले भने।

विभागका अनुसार कलंकी–बसुन्धरा खण्डको सडक विस्तारको सबै खर्च आफैंले चिनियाँ सरकारले जनाएको छ। यसमा नेपाल सरकाले सहमति जनाएको छ।

ती कर्मचारीका अनुसार चिनियाँ सरकारले सुरुमा नेपाल सरकारले साइट क्लियर नगर्दासम्म काम अघि नबढाउने अडान राखेको थियो। ‘त्यसअनुसार साइट पनि क्लिएर ग¥यौं। त्यस क्षेत्रमा रहेका केही मठमन्दिर पर सा¥यौं। तर पनि काम अघि बढेन।’

अहिले सडक विभागले आफ्नै खर्चमा कलंकी–बसुन्धरा खण्डमा दुवैतिर सर्भिस लेन बनाउने काम गरिरहेको छ।

सर्भिस लेनको काम सकिए पछि पनि कलंकी–बसुन्धरा सडक विस्तारको काम कहिले अघि बढ्छ, यस विषयमा विभागका उच्च कर्मचारीहरू अनभिज्ञ छन्। विभागकै अर्का एक कर्मचारीका अनुसार त्यस खण्ड विस्तारका लागि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट) समेत तयार भएको छैन। ‘त्यसैले त्यस क्षेत्रमा तत्कालै काम सुरु हुने छाँटकाँट छैन। न त नेपाल सरकारले आफैं विस्तारको काम गर्ने अवस्था छ। विभागका एक प्राविधिक कर्मचारीका अनुसार साइड क्लिएर नभई पनि डिपिआर बनाउन सकिन्छ, साइट क्लिएर भइसकेपछि पनि डिपिआर बनाउन सकिन्छ। तर विस्तारको काम अघि बढाउन डिपिआर अनिवार्य चाहिन्छ।

विभागका प्रवक्ता पोखरेले कलंकी–बसुन्धरा सडक विस्तारको काम अघि बढाउन नेपाल सरकार र चिनियाँ सरकारबिच चाँडै एक्सचेन्ज लेटरमा हस्ताक्षर हुने तयारी भएको बताए। उनका अनुसार अब हुने विस्तारमा कलंकी कोटेश्वर सडक विस्तारमा देखिएका कमीकमजोरी हटाउने विषयमा नेपाल सरकार र चिनियाँ सरकारबीच सहमति भइसकेको छ। जसअनुसार सडकको बिच भागमा केही जग्गा खाली राखिनेछ।

शुक्रबार काठमाडौं महानगरपालिकका मेयर तथा काठमाडौं सडक डिभिजनका प्रमुख नारायणदत्त भण्डारीबीच यही विषयमा कुराकानी भएको थियो। त्यसको भोलिपल्ट शाहले अकस्मात् कलकीं–बसुन्धरा सडक विस्तारको काम अघि बढ्न नसक्नुमा विभागको गल्ती देखाउँदै विभागकै कार्यालयअघि फोहोर फालेको विषयमा भण्डारीले आपत्ति जनाएका छन्।

प्रकाशित: १४ जेष्ठ २०८१ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App