पाल्पामा झारफुक गर्ने भन्दै कुटपिट गर्ने एकजना पक्राउ परेका छन्।
जिउमा बोक्सी प्रवेश गरेको भन्दै कुटपिट गर्ने पाल्पाको बगनासकाली गाउँपालिका ९ का २९ वर्षीय पदम बस्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार पीडितको भैंसी बिरामी भएपछि केही वर्ष अघिदेखि झारफुक गर्दै आएका बस्यालको घरमा आखत हेराउन भन्दै चामल अक्षता लिएर गएका थिए।
भैंसी बिरामी परेको पीडितकै कारण रहेको भन्दै उनले पैयुँको लौरो र मुड्कीले पीडितलाई हिर्काएकाे प्रहरी भनाइ छ।
शरिरमा बोक्सी प्रवेश गरेको भन्दै निलडाम हुने गरी कुटपिट गर्दा रोइकराई गरेपछि छरछिमेकले आएर छुट्ट्याएका थिए। त्यसपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीले उनलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ११ जेष्ठ २०८१ १२:४५ शुक्रबार