२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मस्तिष्कघातबाट हुने मृत्यु कम गर्न सकिन्छ’

जनस्वास्थ्यको प्रमुख समस्यामध्ये मस्तिष्कघात पनि एक हो। यसको उपचार दुई दशकअघिसम्म निकै चुनौतीको विषय थियो। अहिले भने स्थिति फेरिएको छ। उपचारमा आएको नयाँ प्रविधिको विकास र औषधि निर्माणका कारण विकसित मुलुकमा यो समस्या घट्दै गएको छ।

यस्तै पद्धति अपनाएर नेपाललगायत विकासोन्मुख मुलुकले पनि यो समस्या कम गर्न सकिने अमेरिकास्थित बफेलो युनिभर्सिटीका एसोसिएट प्राध्यापक तथा न्युरोलोजिस्ट डा. अमित कँडेलले बताए।

ठुला अस्पतालहरूमा छुट्टै मस्तिष्कघात केन्द्र र विशिष्ट केन्द्रहरू खोलेर सेवा दिए समस्या न्यूनीकरण हुने र मृत्यु तथा अपांगताबाट धेरैलाई बचाउन सकिने उनको भनाइ छ। ‘मस्तिष्कघातको समस्या न्यूनीकरणका लागि नेपालले काठमाडौं उपत्यकाभित्र र बाहिर उपचार सेवा विस्तार गर्नुपर्छ,’ उनले भने।

धुलिखेल अस्पतालमा मस्तिष्कघात सम्बन्धी दुई दिने स्ट्रोक कार्यशाला गोष्ठी सञ्चालन गर्न डा. कँडेल हालै नेपाल आएका हुन्। उनले नागरिकसँगको कुराकानीमा नेपाल र नेपालजस्तो विकसोन्मु्ख मुलुकमा निकट भविष्यमै ठुलो समस्याका रूपमा मस्तिष्कघात फैलिने सम्भावना देखिएको बताए।

यसको उपचार व्यवस्थापनमा अहिल्यै सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए । स्वास्थ्य सेवाको उचित व्यवस्थापन गरे र जनचेतना जगाए मस्तिष्कघातसम्बन्धी समस्याबाट हुने क्षति न्यून गर्न सकिने उनको भनाइ थियो।

डा. अमित कँडेल

डा. कँडेलका अनुसार ३० वर्षअघिसम्म अमेरिकामा मृत्युको कारणमा दोस्रो स्थान मस्तिष्कघातले लिएको थियो। अहिले त्यो पाँचौंमा पुगेको छ। ‘अमेरिकाले ३० वर्षपहिले नै उपचारको व्यवस्थापन गरेपछि यसले निम्त्याउने समस्या न्यूनीकरण अहिले आएर सम्भव भएको हो,’ उनले भने।

उनका अनुसार नेपाल र विकासोन्मुख मुलुकमा सन् २०३० देखि २०५० भित्र मस्तिष्कघातको समस्या भयावह बन्दैछ। बेलायती जर्नल ल्यान्सेटका अनुसार यो अवधिमा मस्तिष्कघात भएकामध्ये ८५ प्रतिशतको मृत्यु हुनेछ भने ८९ प्रतिशतमा अपांगताकाे सम्भावना हुन सक्छ।

पछिल्लो समय यो समस्याको उपचारमा औषधि र प्रविधि दुवै रहे पनि सही उपचार व्यवस्थापन र जनचेतना नभएकाले नेपालमा बर्सेनि धेरैले मस्तिष्कघातका कारण अपांगता र मृत्युको क्षति बेहोर्नुपरेको उनले बताए।

 ‘मस्तिष्कघातको उपचारका लागि प्रविधि र औषधि दुवै छन् तर नेपालमा दक्ष जनशक्ति र नीतिगत प्रतिबद्धताको कमी छ,’ उनले भने।

यो रोगको उपचार गरी नागरिकलाई स्वस्थ राख्नेतिर सरकारले तदारुकता देखाउन नसकेकोप्रति यसलाई राजनीतिक र सामाजिक रोग भनेर उनले टिप्पणीसमेत गरे। ‘सुन्दा मस्तिष्क, रक्तनली र न्युरोलोजीको रोगजस्तो लाग्छ तर यो राजनीतिक र सामाजिक रोग हो।’

उनले राजनीतिक प्रतिबद्धता भएके अवस्थामा यो रोगले पुर्‍याइरहेको क्षति कम गर्न सकिने उनको भनाइ थियो। उपचारमा पहुँच अभावले पनि समस्या जटिल देखिएको उनले बताए। ‘उपचारमा पहुँचको कमीका कारण ५० देखि ६० प्रतिशत मस्तिष्कघातका रोगीले क्षति बेहोर्नुपर्छ,’ उनले भने।

सरकारले मस्तिष्कघातको उपचारका लागि आवश्यक पूर्वाधार, जनशक्ति र जनचेतना, एम्बुलेन्स र जनशक्तिको व्यवस्थापन गरे यसको क्षति पुरै घटाउन सम्भव रहेको डा. कँडेलले बताए। उनका अनुसार नेपालमा हाल मस्तिष्कघातसम्बन्धी दक्ष न्युरालोजिस्ट ३६ जना मात्र छन्।

देशको जनसंख्याका आधारमा हेर्दा यो अत्यन्त कम जनशक्ति हो। यसको उपचारका लागि देशका मुख्य सहर वा एक घण्टाको हवाई दुरीमा मस्तिष्कघात केन्द्र खोले, स्थानीय स्वास्थ्यकर्मीलाई मस्तिष्कघातको समस्या पहिचान गर्ने तालिम दिए, हरेक ठुला अस्पतालमा मस्तिष्कघात केन्द्र स्थापना गरे समयमै उपचार सम्भव छ।

‘यो उपचारलाई सरकारी तहले नै प्राथमिकता दिनुपर्छ,’ उनले भने। त्यसैगरी अस्पताल पुग्नुअघिको हेरचाह, उपचारसहितको एम्बुलेन्स सेवा, निःशुल्क औषधि सेवा अस्पतालमै व्यवस्था भए क्षति न्यूनीकरण गर्न सकिन्छ।

क्षति पुगिसकेकाहरूका हकमा पुनःस्थापना, साना अस्पतालहरूबाटै औषधि दिने व्यवस्था गरे क्षति न्यूनीकरण गर्न सकिने कँडेलले सुझाए। पछिल्लो समय नेपालमा मस्तिष्कघातको उपचार गर्ने उपचार पद्धतिहरू भित्रिएका छन्।

जसअनुसार औषधि दिएर रगतको डल्लो पगाल्ने, रक्तनलीमा तार पठाएर रगतको डल्लो निकाल्ने (थ्रोम्बेक्टोमी) पद्धति अँगाल्ने गरिएको छ। तर यो उपचार सेवा सबै बिरामीको पहुँचमा पुग्ने गरी देशभरि विस्तार हुनु जरुरी रहेको उनको भनाइ छ।

के हो मस्तिष्कघात ?

मस्तिष्कमा रक्त संचार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालिन अवस्थालाई मस्तिष्क घात भनिन्छ। सामान्यतय दुई प्रकारका मस्तिष्कघात (स्ट्रोकहरू) हुन्छन्।

७० प्रतिशत अवस्थामा रक्तवाहिनामा अवरोधका कारण हुन्छ भने ३० प्रतिशत अवस्थामा रक्तवाहिनामा फुटेर मस्तिष्कमा रगत बगेर हुन्छ। अवरोध र रगत बग्ने दुवै कारणले मस्तिष्कमा चोट लाग्छ। मस्तिष्कको नसा बन्द भई एक्कासि रक्तसञ्चार बन्द हुने अवस्था हो स्केमिक स्ट्रोक।

यस्तो अवस्थामा मस्तिष्कले रगतबाट पाउने अक्सिजन र पोषण दुवै पाउँदैन। अर्को मस्तिष्कको कोष बिस्तारै मर्दै जान्छ। मस्तिष्कमा एक्कासि रगतको नसा फुटेर रगत प्रवाह हुनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। रगत अत्यधिक बगेको रगतले मस्तिष्कको तन्तुलाई दबाब दिई क्षति पुर्‍याउँछ।

यदि मस्तिष्कको बायाँ भाग प्रभावित भएमा, यसले सञ्चार समस्याहरूका साथै शरीरको दाहिने भागमा कमजोरी र लाटोपन ल्याउन सक्छ। उल्टो, मस्तिष्कको दाहिने भागमा चोट लागेमा धारणा प्रभावित हुन सक्छ र बायाँ भागमा कमजोरी र लाटोपन ल्याउन सक्छ। मस्तिष्कको पछिल्लो भागले दृष्टि, सन्तुलन र समन्वय नियन्त्रण गर्दछ, र यस क्षेत्रमा चोट लागेमा शक्ति र कमजोरीमा परिवर्तन आउन सक्छ।

बच्न कस्ता उपाय अपनाउने ? 

मस्तिष्कको संवेदनशील भागमा असर परेमा पक्षघातको समस्या हुन्छ। रगत पगाल्ने (क्लोट बस्टिंग) औषधिको लागत लगभग ६५ सयदेखि ९० हजार पर्छ। थ्रोमव्याक्टोमीको मूल्य ४ देखि ११ लाख नेपाली रुपैंया पर्छ। यो कुन प्रकारको प्रविधिको स्तरले निर्धारण गर्छ।

मस्तिष्कघातका बिरामी अस्पताल पुगेपछि सक्दो छिटो औषधी दिनु पर्ने हुन्छ। बिरामी पक्ष औषधी किन्नतिर लाग्दा उपचारमा ढिलाइ हुन्छ। छिटो उपचारको लागि अस्पतालमै निःशुल्क औषधी र उपचारको व्यवस्था हुनु पर्छ। यसको लागि क्लटबस्टिङ (रगतको डल्लो पगाल्ने) औषधीको लागत लगभग ६५ हजारदेखि ९० हजार पर्छ । नेपालमा थोम्वेक्टोमी प्रयोग गरिएको उपकरणहरुमा आधारित उपचारमा ४ देखि ११ लाख रुपैँया पर्छ।

यसको उपचार लागत हेर्दा महँगो देखिए पनि यो समस्याबाट सामान्य भई फर्केका व्यक्तिले परिवार र देशको लागि लागत प्रभावकारी छन्। तर उपचार नपाएर हुने अपाङ्गता र मृत्युले परिवार र देश दुबैलाई घाटा पर्छ।

यो समस्याबाट हुने क्षति न्यूनीकरण गर्न  स्थानीय र संघीय सरकारले क्लट बस्टिंग औषधी र थोम्बेक्टोमी प्रक्रियाको उपचार निःशुल्क प्रदान गर्नु डा. कँडेलले सुझाए। समयमै उपचार सुनिश्चित गर्न यी औषधी तथा उपकरणहरु अस्पतालको फार्मेसीमा उपलब्ध हुनुपर्ने डा. कँडेलको सुझाव छ। 

‘मस्तिष्कघातमा चाँडो र सही उपचारबाट परिवारमा काम गर्ने जनशक्ति बच्छ। त्यति मात्र हाेइन देशेको लागि अपाङ्गताको हेरचाहमा लाग्ने खर्च घट्छ’ उनले भने। नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकको लागि हवाई एम्बुलेन्स झनै प्रभावकारी हुने डा. कँडेलको सुझाव छ । 

प्रकाशित: ५ जेष्ठ २०८१ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App