१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सुरक्षण मुद्रणमा ४० करोड भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलगायत ६ जना र कम्पनीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले ४० करोड ८५ लाख बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सुरक्षण प्रेसको सफ्टवेयर, उपकरण खरिदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनविपरीत केही सीमित व्यक्तिविशेष, कम्पनीसँग मिल्ने गरी देखिएको अख्तियारको दाबी छ।

तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नविनकुमार पोखरेलविरुद्ध एकमुष्ठ ४० करोड ८५ लाख ७४ हजार रूपैयाँ बिगो मागदाबी छ।

त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध एकमुष्ठ ४० करोड ८५ लाख ७४ हजार रूपैयाँ बिगो मागदाबी छ।

आपसी मिलेमतोमा योजनाका दुईवटा कार्यक्रममा विनियोजित बजेटलाई एउटैमा राखी खर्च गर्नुपूर्व कानुनअनुसारको कुनै प्रक्रिया नगरी सरकारलाई हानी नोक्सानी पुराएको अख्तियारको ठहर छ।

साथसाथै म्याक्स इन्टरनेसनल तथा उक्त कम्पनीको सिइओ अकबर हुसेनले ठेक्का खरिद कार्यमा पौडेलसमेतसँग मिलेमतो गरी आफू अनुकूलको स्पेसिफिकेसन तयार गरेको आरोपपत्रमा उल्लेख छ।

अकबर हुसेनले आफ्नै नाममा दर्ता भएको आइटी ग्लोबल प्रालि तथा अन्य सूचना प्रविधिसम्बन्धी कार्य गर्ने स्थानीय दुई वटा कम्पनीको दरभाउ माग गर्नुभन्दा केही दिनअघि मात्र सूची दर्ता गराएका थिए। सोही कम्पनीबाट बढी मूल्यको दरभाउ लिई लागत अनुमान वृद्धि गरेको आरोपपत्रमा उल्लेख छ।

नेपालमा निर्माणसम्बन्धी अनुभव भएका कम्पनी नभएमा बोलपत्रसम्बन्धी कागजात तयार गर्दा मिलेमतोमा सूचना प्रविधि सम्बन्धी कार्यानुभवलाई खरिदको मुख्य कार्य प्रिन्टिङ प्रेसकै समान हैसियतमा राख्न लगाएको देखिएको छ। आफ्नो कम्पनीलाई मात्र मिल्ने गरी अन्तिम तीन वर्षमा एउटै ठेक्काबाट ३८ करोडको काम गरेको प्रावधान राख्न लगाइएको थियो।

लाभ प्राप्त गर्ने प्रकृतिको मतियारको कसुर उल्लेख गर्दै अकबर हुसेन तथा म्याक्स इन्टरनेसनल काठमाडौंलाई ४० करोड ८५ लाख ७४ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको हो।

प्रकाशित: ३१ वैशाख २०८१ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App