१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पहाडमा खेतबारी जोत्न ट्याक्टर

तस्बिर: किसानका समूहलाई हाते ट्याक्टर वितरण गर्दै सुनकोसी गाउँपालिका अध्यक्ष-उपाध्यक्ष सहितको टिम । अनिल भण्डारी/नागरिक

कृषिमा व्यवसायिकरण गर्न सिन्धुलीका पहाडमा रहेका खेतबारीमा समेत यान्त्रिकीकरण हुनथालेको छ । स्थानीय तहको सहयोगमा पहाडका खेतबारीमा खेत जोग्न मेसिनको प्रयोग गर्न थालिएको हो ।  

सिन्धुलीको सुनकोसी गाउँपालिकाले गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउन किसानलाई यान्त्रिक मेसिन सहयोग गरेको छ । खेतबारी जोत्न सहज होस भनेर सिन्धुलीको सुनकोसी गाउँपालिकाले यसवर्ष पचास प्रतिशत अनुदानमा १८ एचपीको ३ वटा ट्याक्टर किसानका समुह सहकारीलाई उपलब्ध गराएको गाँउपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन् । उनका अनुसार ३ ओटा ठुला हाते ट्याक्टर वितरण गरिएको छ, भने १७ वटा ७ एचपीको साना हाते ट्याक्टर वितरण गरिएको छ । 

सुनकोसी गाउँपालिकाले महाभारत क्षेत्रमा व्यवसायिक किवि खेती कार्यक्रमलाई अगाडी बढाएको छ भने गर्तिर क्षेत्रलाई तरकारी जिरा लगायतका खेतीलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले करेसाबारी खेतीलाई सहयो गर्नका लागि ७० घरपरिवारलाई करेसाबारी खेती गर्न पानीको ट्याङकी विरतण गरेको समेत जनाएको छ ।

गाउँपालिकामा एक वडा एक उत्पादन कार्यक्रम राखी सबै वडामा हावापानी र माटो सुहाउँदो उत्पादनमा जोड दिइएको छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने, गाउँपालिकाभित्र कृषि पकेट क्षेत्रनै बनाएर कृषि उत्पादनमा जोड दिएका छौ ।  

ट्याक्टर मात्रै नभएर ट्याक्टर मर्मत गर्ने प्रविधि तथा तालिम समेत गाउँपालिकाले दिएको जनाएको छ । कृषिमा सहयोग गर्न गाउँपालिकाले पचास प्रतिशत अनुदानमा ट्याक्टर दिएपछि किसान खुसी भएका छन् । ट्याक्टर पाएपछि खेत खन्नजोत्न सहज हुने भएको छ, ट्याक्टर बुझ्दै स्थानीय विकास भण्डारीले भने, 'हामी यसलाई संरक्षण गरी सञ्चालन गर्छौ । पहाडका डाँडाँपाखामा समेत पछिल्लो समय कृषिमा यान्त्रिकीकरण हुन थालेको छ ।'

यान्त्रिकीकरण सँगै गाउँघरमा पालिने गोरु त्था जोत्ने हलो हराउँदै गएको स्थानीय किसानहरुले जनाएका छन् । काम गर्न छिटो र सजिलो कृषि यान्त्रिकीकरणबाट हुने भएकाले किासनको रोजाईमा यान्त्रिकीकरण परेको हो ।  

प्रकाशित: १७ असार २०८१ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App