२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जगतको जगतसेवा

नयाँ योजना कार्यान्वयन गर्न ठीक पारेको साइकल र साइकलको डालामा राखिएको चन्दा संकलन गर्ने खुत्रुकेका साथ अर्ज्याल।

समाज सेवाका लागि धन नभएर मन मात्रै भए पनि सम्भव हुनेरहेछ भन्ने उदाहरण बनेका छन्, विराटनगरका समाजसेवी जगत अर्ज्याल। अर्ज्यालले करिब दुई दशक पहिले विराटनगरको रोडशेष चोकनजिकै घर भाडामा लिएर असहाय वृद्धवृद्धाको सेवा सुरु गरेका थिए।

रिटायर भएपछि बुढो भएको ठानेर अधिकांशले जीवनमा आराम गर्ने सोच बनाउने गर्दछन्। तर, रिटायर भएपछि नै अर्ज्यालले जीवनमा नयाँ संघर्ष सुरु गरे। जीवनमा आफू मात्रै बाँच्ने नभई अरुलाई पनि बचाउने र दुःखमा परेका मानिसलाई सहयोग गर्ने उद्देश्य राखेर अर्ज्यालले एउटा चुनौतीपूर्ण लक्ष्यसहित शिक्षकबाट अवकाश लिएपछि नयाँ कामको सुरुवात गरेका थिए।

पूर्व शिक्षक अर्ज्यालले आफूले पाउने पेन्सनको आधा रकम वृद्ध आश्रमलाई र आधा रकम परिवारका लागि विभाजन गरे। मानव सेवा गर्ने लक्ष्यका साथ बुढेसकालमा अर्ज्यालले थालेको यात्रा निक्कै चुनौतीपूर्ण थियो। त्यसलाई स्वीकार्दै उनले साइकलमा विराटनगरका मानिसहरूसँग एकएक रुपैयाँ उठाउँदै हिँडे।

एकएक रुपैयाँ उठाउँदै गाँसबासको व्यवस्था गर्दै आएका अज्र्याललाई आश्रमको आफ्नै भवन होस् भन्ने लाग्न थाल्यो। त्यसपछि उनले ५ रुपैयाँ अभियान सुरू गरे।

शहरका मानिसहरूसँग ५ रुपैयाँ रकम सहयोग उठाउँदै अर्ज्यालले घर निर्माणका लागि जग्गा खरिद गर्ने रकम जुटाए। उनले विराटनगरस्थित सिंगिया नदी नजिकै १२ कठ्ठा जग्गा आश्रमका लागि खरिद गरे।

सुरूमा ३ लाख रुपैयाँ कठ्ठाले खरिद गरेको जग्गाको मूल्य हरेक वर्ष जसो बढ्दै गयो। १० वर्षको अवधिमा १२ कठ्ठा जग्गा खरिद गरिएको छ। सुरूमा ३ लाख रुपैयाँ कठ्ठाले जग्गा किने पनि पछिल्लो पटक किनेको जग्गाको मूल्य नै १० लाख रुपैयाँ कठ्ठा परेको अर्यालले बताए। १२ कठ्ठा जग्गा किन्दा कुल ६३ लाख रुपैयाँ खर्च भएको अर्ज्यालले बताए।

जग्गा खरिद गरेर यत्तिकैका उनि चुपलागेर बसेनन्। उनको पाँच रुपैयाँ अभियानले सार्थकता पाउँदै गयो। अर्ज्याल हरेक बिहान ‘वृद्ध आश्रम निर्माणका लागि ५ रुपैयाँ अभियान’ नारा लेखेको साइकल लिएर शहरमा पैसा उठाउन निस्कन्थे। उनले ४ लाख ९२ हजार ९ सय ३ जनासँग पाँच रुपैयाँ रकम संकलन गरेको बताए।

यस्तै विदेशमा बसोबास गर्ने १ हजार ७ सय ३३ जना नेपालीसँग पनि रकम उठाएको अर्ज्यालले बताए। उनले आश्रमको जग्गा खरिद र भवन निर्माणका लागि नेपालीहरूसँग मात्रै पैसा उठाउँछन्। एकजना भुटानीले भुटानी ५ रुपैयाँ पैसा पनि दिएको अर्ज्यालले जानकारी दिए। ५ बिघा जग्गा किनेर एशियाकै नमूना वृद्ध आश्रम बनाउने लक्ष्य राखे पनि त्यति धेरै जग्गा विराटनगरमा किन्न मुस्किल भएको उनी बताउँछन्।

एकै ठाउँमा ५ बिघा जग्गा नपाइने, जग्गाको मूल्य बढेकाले धेरै पैसा चाहिने र दाताहरूले पनि एकै स्थानमा त्यति धेरै जग्गा नदिने भएकाले एसियाकै नमूना बनाउने चाहना भने अधुरै रहने पो हो कि भन्ने उनलाई अचेल लाग्न थालेको छ।

आश्रितहरूका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र आश्रम सञ्चालनका लागि हाल १ हजार ३ सय ९७ जनाले दैनिक एक रुपैयाँका दरले आश्रमलाई सहयोग प्रदान गरिरहेको अर्ज्यालले बताए। यस्तै विभिन्न समयमा चन्दा, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्रीहरू पनि सहयोगमा प्राप्त हुने गरेको छ।

एकै ठाउँमा धेरै जग्गा किन्न नसके पनि विभिन्न दाताहरूले दिएको जग्गामा वृद्ध आश्रम विस्तार गर्ने र ज्येष्ठ नागरिक अस्पतालसमेत बनाउने योजना आफूले अघि सारेको अर्ज्यालले जानकारी दिए। विराटनगर-६ रामपुरमा दाताहरूले एक विघा जग्गा आश्रमलाई दिएका छन्। सो जग्गामा वृद्ध आश्रम र ज्येष्ठ नागरिक अस्पताल निर्माणको काम सुरू भइसकेको छ।

खासमा ज्येष्ठ नागरिकको उपचार गर्ने छुट्टै अस्पताल आवश्यक भएको महसुस गरी सुविधासम्पन्न जेष्ठ नागरिक अस्पताल निर्माण सुरू गरेको अर्ज्यालले बताए। सामान्य अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार गर्न अप्ठ्यारो पर्ने र ज्येष्ठ नागरिकमैत्री वातावरण नहुँदा सास्ती खेप्नु परिरहेको छ। छुट्टै अस्पतालको निर्माण गर्नसके ज्येष्ठ नगारिकले सहजरुपमा सेवा पाउने अर्ज्यालको धारणा छ।

साइकल नै चलाएर चन्दा संकलन गरी वृद्ध आश्रम निर्माण गरेका अज्र्याल अहिले पनि उत्तिकै जोशिला छन्। उमेरले ८२ वर्ष पुगिसकेका अर्ज्याल यतिबेला पनि साइकलमै हिँड्ने गर्दछन्। साइकलमा यात्रा गर्दा मन लागेको ठाउँमा जान सकिने र पैसा पनि जोगिने भएकाले आफूले यात्राका लागि साइकलकै प्रयोग गर्दै आएको अज्र्याल बताउँछन्।

अर्ज्यालले ५ रुपैयाँ अभियानबाट जुटाएको रकमसँगै विराटनगरका उद्योगी, समाजसेवीले पनि आर्थिक सहयोग गर्ने गरेका छन्। सबैतिरबाट व्यवस्थित वृद्धाश्रम निर्माणका लागि सहयोग मिलेपछि अर्ज्यालले विराटनगरस्थित सिंघिया खोला नजिकैको जग्गामा बृद्ध आश्रमको भवन निर्माण सुरु गरे। हाल विराटनगरमा विराटेश्वर वृद्ध आश्रमको आफ्नै भवन तयार भएको छ।

 वृद्ध आश्रमममा आश्रितहरूमध्ये पुरुष र महिलाका लागि छुट्टाछुट्टै ब्लक छ। हालसम्म वृद्धाश्रममा एक सय ६४ जनाले आश्रय लिइसकेका छन्। जसमध्ये २० वर्षको अवधिमा १ सय जनाको मृत्यु भइसकेको छ भने हाल ६४ जना आश्रित छन्।

विराटेश्वर वृद्धाश्रम १ सय १० जना क्षमताको छ। ‘कुनै पनि काम गर्दा जति धेरै संघर्ष ग¥यो, सफलता पाउँदा त्यत्ति नै धेरै आनन्द आउने रहेछ,’ अज्र्यालले भने, ‘परोपकारको काम कहिल्यै असफल हुँदैन।’

उमेरले ८२ वसन्त पार गरे पनि अर्ज्याललाई अझै समाजसेवाको हुटहुटीले छाडेको छैन। समाजका लागि केही गरौं भन्ने उत्साह अझै यथावत् छ। कोरोनाका कारण योजना अवरुद्ध भए पनि नयाँ योजनालाई पुनः अघि बढाउने सोचमा अर्ज्याल छन्।

विपन्न र भूमिहीनहरूका लागि बस्ती निर्माण गर्न विराटनगरमै एक करोड ६ लाख रुपैयाँमा एक बिघा जग्गा किनेर ‘तीनपुस्ते लिबर्टी नेसनल पार्क’ बनाउने योजनामा अर्ज्याल छन्। उनले राजनीतिक रुपमा राजा, राणाकाल र प्रजातन्त्र गरी तीन पुस्तालाई झल्काउने पार्क बनाउने र प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा भूमिहीनहरूका लागि गाउँ बनाउने नयाँ योजना अघि सारेका हुन्।

अर्ज्यालले कोशी प्रदेशका विभिन्न जिल्लामा एक वर्षसम्म घुमेर रकम संकलन गर्ने र त्यो रकमबाट पार्क र बस्ती निर्माण गर्ने योजना बनाएका छन्। यसका लागि उनले नयाँ साइकलसमेत प्राप्त गरिसकेका छन्।

साइकल पुग्ने ठाउँमा साइकलमा र नपुग्ने ठाउँमा पैदलै हिँडेर भए पनि रकम सङ्कलन गर्ने उनको योजना छ। स्वास्थ्य र उमेरले जहिलेसम्म साथ दिन्छ, समाजसेवाको कामलाई निरन्तरता दिइरहने उनले बताए।

प्रकाशित: ११ वैशाख २०८१ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App