२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कतारका राजा भोलि साँझ ५ बजे आउने, ‘उच्च प्रोटोकल’ को सुरक्षा व्यवस्था

भोली साँझ ५ बजे नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरेको छ। राष्ट्र प्रमुखहरूलाई दिँदै आइएको उच्च प्रोटोकलको सुरक्षा दिन लागिएको हो।

‘उहाँ ५ बजे साँझ आउँदै हुनुहुन्छ। विमानस्थलबाट सिधै उहाँलाई उच्च सुरक्षाकासाथ सोल्टी होटेल लगिनेछ’, उच्च सुरक्षा स्रोतले नागरिकन्यूजसँग् भन्यो, ‘भारतलगायतका राष्ट्र प्रमुख जस्तै उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरिएको छ।’

दुई दिन उनी सोल्टी होटेलमै रहने कार्यक्रम छ। स्रोतका अनुसार राजा थानीलाई नेपाली सेनाले पहिलो घेरोको सुरक्षा दिने छ। सेनालाई सशस्त्र र नेपाल प्रहरीले सघाउने छन्।

सरकारले कतारका राजाको औपचारिक भ्रमणका अवसरमा भोली (मंगलबार) सार्वजनिक बिदा पनि दिएको छ। आजको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थानी पहिलोपटक नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका हुन। नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरूले बताइरहेका छन्।

उनीहरूले नेपाल सरकारले कतारका अमिर थानीको भ्रमणबाट धेरै फाइदा लिन सक्ने अवसर रहेको बताइरहेका छन्। उनीहरूले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए।

यसैबीच नेपालका लागि कतारका राजदूत मिसाल विन मोहम्मद अल अन्सारीले अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा सहयोग पुग्ने बताएका छन्।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्केको तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन।

कतारी प्रतिनिधिमण्डलको नेतृत्व गरेको अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ। साथै दुई देशबीचको श्रम सम्झौतालाई परिष्कृत गर्नेलगायतका विषयलाई उच्च प्राथमिकतामा राखिएको छ।

प्रकाशित: १० वैशाख २०८१ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App