२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सकियो विस्काभित्र लुकेको ब्रम्हायणी-महेश्वरी जात्रा

आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राहरुमध्येको एक जात्रा हो ब्रम्हायणी-महेश्वरी जात्रा। यही जात्रा सोमबार दिनभर हजारौँ भक्तपुरवासीहरुको सहभागितामा हर्षोल्लासका साथ मनाइएको छ। विस्का जात्राको क्रममा प्रत्येक वर्ष यो जात्रा वैशाख ३ गते मनाइन्छ।

जात्राको अवसरमा अष्टमातृकामध्येको शक्तिदेवी ब्रम्हायणी र महेश्वरी जात्रा भक्तपुरको सूर्यमढीस्थित द्योः छे (देवघर) बाट सुरु हुन्छ। त्यस दिन ब्रम्हायणीको मूर्तिलाई खटमा राखेर खट जात्रा हुने गर्दछ।

त्यसैगरी इनाचोमा रहेको महेश्वरी द्योः छेबाट महेश्वरीको मूर्तिलाईलाई पनि सिँगारिएको खटमा राखेर जात्रा सुरु गरिन्छ। जात्रा सुरु हुँदा दुवै तर्फका जात्रालुले हात हातमा चिराग लिएर खटजात्रा गरेर जात्रा मनाउने गर्दछन्। दुवै रथ दत्तात्रय आइपुगेपछि दुवै रथ जुधाउने र प्रसाद तथा चिराग समेत साटासाट गरेर जात्रा मनाउने गरिन्छ।

‘अरु धेरै ठाउँहरुका जात्राहरु लोप हुन थाले पनि भक्तपुरका जात्राहरु भने क्रमशः बृहत् अनि हर्षोल्लास का साथ हरेक वर्ष मानिसको रुचि बढ्दै गएको पाइन्छ’, स्थानीय जात्रा प्रेमी कृष्ण प्रजापति भन्छन्, ‘पहिला पहिला विस्का जात्रा भनेपछि ५५ हात लामो यसिंद्य (लिंगो) उभ्याउने र ढाल्ने तथा भैरवनाथको रथ तान्ने भनेर बुझछन् तर अहिले टोल टोलमा हुने जात्रा पनि बिस्तारै चिनिन थालेका छन्।’ यी जात्राहरु स्थानीय स्तरमा स्थानीयकै अगुवाइमा गर्ने गर्दै आएको पनि उनले जानकारी दिए।

विस्का जात्रा अन्तर्गत मंगलबार छुमा गणेश जात्रा हुँदै छ। भक्तपुरकै चोंछे टोलबाट छुमा गणेश जात्रा वैशाख ४ गते मनाउने गरिन्छ। द्योः छेबाट छुमा गणेशको मूर्तिलाई खटमा रोखर चोछें टोलमा घुमाइन्छ। यहाँका बासिन्दाले पूजा गरी प्रसाद चढाएर जात्रा मनाउने गर्दछन्। यही दिन सगुन जात्रा अर्थात् द्यः सँग पूजा पनि हुन्छ। यो जात्रालाई महत्त्वपूर्ण जात्राको रुपमा लिइन्छ।

स्वङ्ग पूजाको रुपमा पनि चिनिने यो जात्रा भक्तपुरका सबै शक्ति पीठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आ(आफ्नो द्यो छेंबाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ। त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ।

विस्का जात्राको अन्तिम जात्रा वैशाख ५ गते हो। अघिल्लो वर्षको चैत २७ गतेजस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ। त्यस दिन रथलाई तानेर टौमढीमा पुर्‍याएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै बिस्केट जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ।

भक्तपुरका बासिन्दाले प्रत्येक वर्ष चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्का जात्रा मनाउँदै आएका छन्। चैत २७ गते र वैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढाल्ने मुख्य जात्रा हुन्।

प्रकाशित: ३ वैशाख २०८१ १८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App