२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटबाट ‘मस्ट वान्टेड’ अपराधी पक्राउ

रौतहट प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका एक कुख्यात अपराधीलाई नियन्त्रणमा लिएको छ।

चर्चित पुजारी हत्याकाण्ड तथा वृद्ध हत्याकाण्डका मुख्य आरोपी भनिएका देवाही गोनाही नगरपालिका-१ का पूर्व वडाध्यक्ष शेख नुरुल्लाहलाई प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट आइतबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीका अनुसार नुरुल्लाह भारततर्फ जाने क्रममा आज बिहान २ बजे पक्राउ परेका हुन्।

‘नुरुल्लाहलाई भारततर्फ जाने क्रममा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा चोक नजिकै नेपाल-भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।’ डिएसपी गिरीले नागरिकन्युजसँग भनिन्।

शेख तैयव हत्याकाण्ड

२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका-१ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवमाथि नुरुल्लाहको आदेशमा शेख शेखराज, शेख सद्दाम भनिने खलिउल्लाह र भारतीय नागरिक राकेश कुमारले गोली हानी हत्या गरेका थिए।

तत्कालै प्रहरीले शेख शेखराज र भारतीय नागरिक राकेश कुमारलाई नियन्त्रणमा लियो। दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका थुनामा राख्न जिल्ला अदालतबाट आदेश भएसँगै हाल दुवै जेल जिवन बिताइरहेका छन्। मुख्य योजनाकार भनिएका नुरुल्लाह र निजको भाइ खलिउल्लाह भने फरार थिए।

फरार दुवै विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले कर्तव्य ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले उनीहरुकाे खोजी कार्य तीव्र पारेपनि पक्रन सकिरहेको थिएन।

पछिल्लो समय आरोपी नुरुल्लाहसहितका व्यक्तिहरू सीमावर्ती क्षेत्रमा बसिरहेको र सहजै घरसम्म ओहोरदोहोर गरिरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा निगरानी बढायो। सोही क्रममा आज बिहान नुरुल्लाहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

पुजारी हत्याकाण्ड

यस अघि २०७७ भदौ ३ गते राति ९ बजे माधवनारायण नगरपालिका-२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको खाना खाइरहेकै अवस्थामा गोली हानी हत्या भएको थियो। 

उक्त हत्याकाण्डमा पनि नुरुल्लाहको प्रमुख भूमिका रहेको भनिएको थियो। देवाही गोनाही नगरपालिका-१ का तत्कालीन वडाध्यक्षसमेत रहेका नुरुल्लाहसहित सात जना व्यक्तिहरू मिलेर पुजारीको हत्या गराएको प्रहरीको अनुसन्धानमा देखिएको थियो। प्रहरीले नुरुल्लाहसहित सात जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

दुवै हत्यापछि स्थानीयले प्रहरीको विरोधमा आन्दोलनसमेत गरेका थिए। हत्यारालाई पक्राउ गर्न दबाब दिनको लागि सडकमा चक्का जाम समेत भएको थियो।

पटकपटक अपराध गर्दै आएका नुरुल्लाहलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा नुरुल्लाह २०७८ साउन २२ गते शुत्रबारका दिन दिउँसो १ बजे नाटकीय शैलीमा रौतहट जिल्ला अदालतमा उपस्थित भएर तत्कालै २ लाख नगद धरौटीमा रिहा भएका थिए। 

पुजारी हत्यामा अदालतबाट रिहा भए पनि तैयब हत्याकाण्डपछि फरार रहेका नुरुल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीको ठुलो सफलताको रुपमा जिल्लामा चर्चा भइरहेका छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले प्रमुखको कार्यभार सम्हालेपछि आयोजित पहिलो अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा नुरुल्लाहलाई सार्वजनिक समेत गरिएको छ।

कार्यक्रममा एसपी घिमिरेले रौतहटलाई आपराधिक क्रियाकलापबाट मुक्त जिल्लाको रुपमा बनाउने प्रतिबद्धता जाहेर गरे। ‘अब रौतहट अपराधमुक्त जिल्ला हुन्छ। नुरुल्लाह पक्राउ गर्नु प्रहरीको एउटा चुनौतीको विषय रहेको थियो। जुन चुनौतीमा प्रहरी सफल भएको छ।’ उनले भने।

पक्राउ परेका नुरुल्लाहलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको र अदालतबाट कर्तव्य ज्यान कसुर मुद्दामा न्यायिक हिरासतमा राख्ने अनुमति लिएर थप कुराहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नुरुल्लाहका भाइ खलिउल्लाहको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ।

दुई ठुला हत्याकाण्डका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेपछि विभिन्न अपराधमा फरार रहेका अन्य अपराधी पनि पक्राउ पर्नेमा विश्वास बढेको स्थानीयको भनाइ छ। जिल्लामा फरार अपराधी सयौँको संख्यामा रहेका छन्।

प्रकाशित: २ वैशाख २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App