१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पाथीभरा मन्दिर: चैत महिनाको भेटी ७५ लाख

ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिकाअनुसार चैतमा ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको छ। सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ।

पाथीभरा (मुकुमलुङ) मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन्।

चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन्। गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ। 

यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन्।

प्रकाशित: १ वैशाख २०८१ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App