२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संरक्षण अभियानमा ‘श्रीमती समूह’

उदयपुरमा वन प्राविधिकका पत्नीहरूको समूहले बढ्दो वातावरणीय असर घटाउने प्रयास थाल्ने भएको छ। डिभिजन वन कार्यालय मातहत रहेका प्राविधिकका पत्नीहरूको संस्था ‘वन प्राविधिक श्रीमती समूह’ले विश्वमा दिनानुदिन बढ्दै गएको वातावरणीय असर कम गर्ने विषयमा चासो देखाउँदै त्यसलाई घटाउन अग्रसरता देखाएको हो।

बढ्दो सहरीकरण, जनघनत्व, चुरे तथा जंगलको दोहन र वन विनाशले पछिल्लो समय वातावरण खल्बलिँदा प्रकृतिमा गम्भीर असर पुग्दै आएको छ। यही कारणले मानव तथा पशुपन्छीमा नयाँनयाँ रोगव्याधि सिर्जना हुँदै गएको भन्दै सो समूहले त्यसप्रति चासो राखेको हो। प्रकृतिमाथिको गम्भीर र दीर्घकालीन असर कम गर्न समूहले ‘वातावरणीय सचेतना अभियान’ सुरु गरेको समूहको भनाइ छ।

यसै वर्ष नयाँ संस्थाका रूपमा दर्ता भएर सञ्चालनमा आएको समूहले हालै सदरमुकाम गाईघाटमा एक कार्यक्रम आयोजना गर्दै अभियानको थालनी गरेको हो। समूहकी अध्यक्ष अप्सरा उप्रेतीका अनुसार पहिलो चरणमा सामुदायिक वन समूहमा आबद्ध महिला पदाधिकारी तथा सदस्यहरूलाई सहभागी गराएर वातावरणीय सचेतना गराउन सुरु गरिएको छ। त्यसका लागि समूहले ‘वातावरणीय सचेतना अभियानमा महिलाको भूमिका’ विषयक अन्तक्रिया सम्पन्न गरिसकेको उप्रेतीले बताइन्।

सहभागी र आयोजक पक्षबीचको अन्तक्र्रियामा वातावरणीय असर, त्यसको न्यूनीकरणका उपाय र विभिन्न विकल्पबारे पुष्पा रानाले र सामुदायिक वनमा महिला नेतृत्वको अवस्था, भूमिका, आवश्यकता र औचित्यबारे समूहकी सहसचिव कल्याणी रिमालले प्रस्ट्याइन्। उनीहरूले आफूद्वारा प्रस्तुत विषयवस्तुमाथि सहभागीसँग सवाल–जवाफ गर्दै सुझाव संकलन गरेका थिए।

डिभिजन वन कार्यालय गाईघाटको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले उद्घाटन गरिन्। उपसभामुख दनुवारले महिलाको नेतृत्वमा रहेका संस्थाहरू आर्थिक रूपमा पारदर्शी तथा नेतृत्वदायी भूमिकामा अब्बल साबित हुँदै आएको बताइन्।

वातावरणीय असर न्यूनीकरणका लागि पनि महिलाबाटै अभियान सुरु भएकोमा उनले खुसी व्यक्त गरिन्। मुलुकलाई समृद्ध र समाजलाई परिष्कृत गर्न महिला सशक्तीकरण र क्षमता अभिवृद्धि अनिवार्य सर्त रहेको बताउँदै उनले अबको माग हरेक संस्था र नीति निर्माण तहमा महिला सहभागिता ५० प्रतिशत हुनुपर्नेमाजोड दिइन्।

‘वनलाई कसरी भुइँ तहका नागरिकसँग जोड्ने, यसको संरक्षण–संवर्धनमार्फत बिग्रँदो वातावरणलाई कसरी सही दिशामा ल्याउने भन्नेमा सबैको चासो छ। यसको सुरुआत महिलाबाटै भयो भने कार्यान्वयन निश्चित छ,’ उनले भनिन्।

उपसभामुख दनुवारले वन विकास कसरी गर्ने र जोगाउने भन्ने विषयमा महिला समूहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भएकाले ग्रामीणदेखि सहरसम्मका महिलालाई वातावरण संरक्षणप्रति सचेत गराउन वन प्राविधिक श्रीमती समूहलाई आग्रह गरिन्। महिलामा अठोट गर्ने र निर्णय शक्ति बढी हुने हुँदा वातावरणीय असर घटाउने अभियानलाई निष्कर्षमा पुर्‍याएरै छाड्नुपर्ने उनले बताइन्।

त्यसैगरी डिभिजन वन गाईघाटका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाले घरभित्रको सुझावलाई समाजसम्म पुर्‍याएर नीति निर्माण गर्दै कार्यान्वयनमा ल्याउने वातावरण बनाउन सक्नुपर्ने बताए। त्यसका लागि श्रीमती समूह र हरेक महिला, आमा, दिदीबहिनीको भूमिका महत्त्वपूर्ण हुनेमा डा. सापकोटाको जोड थियो।

प्रकाशित: १ वैशाख २०८१ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App