२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरकाे भाइरल ‘धिमे बाजा’ प्रदर्शनी

भक्तपुरमा धिमे बाजा बजेको सुन्नु देख्नु सामान्य हो। अझ विस्का जात्राको यो माहौलमा यहाँ जताततै धिमे बाजा बजेको देख्न सुन्न पाइन्छ। तर तीमध्ये भक्तपुर नगरपालिका वडा नं-५ मा पर्ने पाँचतल्ले मन्दिर र त्यसको परिसरमा बजाइएको धिमे सामूहिक बाजा प्रदर्शन र नृत्य अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।

सय भन्दा बढी धिमे बाजाबाधकहरुका साथमा सयौं हाकुपटासी (स्थानीय कालो फरिया) मा रहेर नाचेको युवतीहरुको सामूहिक दृश्य फेसबुकमा भाइरल बनेको हो। दिनभरि सयौँ कलाकारहरूका साथमा भरिभराउ दर्शकले दिनभर बाजासँगैको नाचकाे मज्जा लिएका थिए।

‘कला र संस्कृतिले भरिपूर्ण भक्तपुरको टौमढी (तःमारी) स्थित पाँचतल्ले मन्दिर परिसरमा एकै पटक एउटै तालमा धिमे बाजा बजाइनु यसको विशेष आकर्षण हो।’ जात्रा प्रेमी कृष्ण प्रजापति भन्छन्, ‘सयौं कलाकारहरुको संयुक्त प्रदर्शनीले सबै मोहित भएका छन्।’

बिस्का जात्राको अवसरमा शान्ति शद्धभावको लागि सामूहिक बाजाको प्रदर्शनी गरिएको थियो। ‘श्री नासः हैःमा’ समूहले नयाँ वर्ष तथा विस्का विशेष सांस्कृतिक कार्यक्रम गरेको हो। 

पाँचतल्ले मन्दिर परिसरको खुट्किलाहरूमा लहरै बसेर बोल, सुर र तालमा बजाइएको धिमे बाजाको तालमा महिलाहरुले नृत्य प्रदर्शन गरेका थिए। नेवारी भेसभुसा लगाएका महिलाहरुले धिमे बाजाको तालमा एकसाथ नृत्य गरे।

भक्तपुरका नेवार समुदाय साङ्गीतिक परम्परामा निकै धनी छन्। नेवार संस्कृतिमा ‘गर्भदेखि चिहानसम्म’ कुनै पनि चाडपर्व, वा अनुष्ठान सङ्गीतबिना चल्दैन। वास्तवमा नेवारहरूले प्रत्येक पात्रो वर्षमा हरेक दिन हरेक साना–ठूला समारोहहरूमा सङ्गीत बजाउँछन्। नेवारहरू माझ धिमे सबैभन्दा लोकप्रिय र प्रचलित सङ्गीत हो।

मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र लैको टौमढी भक्तपुरका संस्थापक अध्यक्ष मुक्तिसुन्दर जधारीका अनुसार धेरै पहिले भगवान् महादेव र भगवतीबाट एउटा बच्चा जन्मिएको थियो। दुवैले बच्चा आफ्नो हो भनेर तर्क राखेका थिए। विवाद मिल्न नसकेपछि दुवैले बच्चा बाँड्ने निर्णय गरे। त्यसपछि उनीहरुले बच्चालाई मासु र हड्डीहरूमा अलग गरे। ख्याक नामक भूत मासुबाट र कङ्काल हड्डीबाट विकसित भयो। भगवान् महादेव ख्यक र कङ्काल (दुष्ट आत्माहरू) को विकासबाट निकै पछुताए। त्यसपछि घना जङ्गलमा गएर रुखको टुक्रालाई बाजाको रूपमा बजाउन थाले। यो यन्त्रपछि धिमेको रूपमा विकसित भएको किंवदन्ती उनले सुनाए।

धिमे लिच्छवीकालदेखि चल्न थालेको नेवारी समाजमा प्रचलित धिमे बाजा समूह (खलः) विषयमा शोधपत्र गरेका नरेश प्रजापति बताउँछन्। त्रिवि मानविकी तथा सामाजिक संकायमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विषयका शोधकर्ता उनले लिच्छवी कालभन्दा पहिले धिमेको उत्पत्ति भई लिच्छवीकालमा र पछि व्यापक हुँदै गएकाे सुनाए।

के हो धिमे बाजा ?

धिमे नेवार समुदायमा सबैभन्दा बढी प्रचलित बाजा हो। यो बाजा नेवार समुदाय विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाउँछन्।

बाजामा धिमेका साथै भुस्या (थाल आकारको बाजा) बजाउने गरिन्छ। धिमे बजाउनका लागि एक दर्जन कलाकारहरुको आवश्यकता पर्दछ। रुखको बेलनाकार टोड्कोलाई भित्रपटी पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ताल बाजा धिमे हो। नेवार समुदायमा यो बाजा अहिलेसम्म पनि सबै उमेर समूहले मन पराउँछन्।

हेरौं तस्बिरहरु : 

प्रकाशित: २८ चैत्र २०८० १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App