१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राप्रपाको प्रदर्शनले यात्रुहरूको बिचल्ली, भन्छन् : ‘कहिल्यै सुख नपाइने भो’

मंगलबार दिउँसो बिरामी आफन्तलाई भेट्न तनुहँको ब्यासबाट काठमाडौंं आएका यमबाहादुर घिमिरेलाई विर अस्पतालसम्म पुग्नुपर्ने थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा सुरु गरेको शक्ति प्रदर्शनका कारण उनी समयमै अस्पताल पुग्न सकेनन्।

प्रदर्शनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उनी महाराजगन्जबाट हिंड्दै सुन्धारासम्म पुग्नुपर्याे। महाराजगञ्ज क्षेत्रबाट ठूला सार्वजनिक साधनलाई भित्र प्रवेश गर्न नदिएपछि उनी मारमा परे। दुःख भोग्नुपरेपछि उनी सरकार र आन्दोलनकारीविरूद्ध आक्रोशित देखिन्थे।

प्रदर्शनबारे न उनलाइ केही थाहा छ न केही लिनुदिनु नै छ। उनी भन्छन् ‘गाडी बन्द गरेर सर्वसाधारण तथा यात्रुलाई दुःख नदिए हुन्थ्यो। जनताको समस्या न सरकारले बुझ्छ न त आन्दोलनकारीले। दुःख जहिल्यै भोग्नुपर्ने जनताले रहेछ।’ 

उनीजस्तै अधिकांश यात्रुहरु आक्रोशित बनेका छन्। प्रदर्शनको मारमा परेका अर्का यात्रु हुन् कोटेश्वर जडिबुटीका चक्र दानी। उनी ल्यापटको सामान किन्न न्युरोड जाने तयारी गर्दै थिए। जडिबुटीबाट बस चढे पनि। तर उनलाई प्रहरीले तिनकुनेभन्दा अगाडि जान दिएन।

यात्रु र सवारीको सुरक्षाका लागि भन्दै प्रहरीले तिनकुनेमा उनलाई रोक्यो। फर्केर घर जान पनि मिलेन। उनलाई जसरी पनि न्युरोड पुग्नुपर्ने थियो। केही सीप नचलेपछि उनी तिनकुनेबाट हिंड्दै बानेश्वर हुदै न्युप्लाजा पुगे। न्युप्लाजाबाट संहदरबार पुग्नसाथ उनले निकै सास्ती व्यहोर्नु पर्‍यो। संहदरबार क्षेत्रमा उनले प्रहरीको अश्रुरग्याँसको सामना गर्नुपर्यो।

‘बाटो आन्दोलनकारी र प्रहरीको मात्रै हो कि सर्वसाधारण जनताको पनि ? प्रश्न गर्दै दानी भन्छन्, ‘म जस्ता सर्वसाधारणको बाटो खै ? हामीले कहाँ हिंड्ने ? कसरी हिंड्ने अब त हैरान बनाइसक्यो।’

आन्दोलनकारीप्रति रिस पोख्दै उनले भने, ‘कहिले कसको आन्दोलन भनेको छ, कहिले कसको भनेको छ। खाली दुःख भने जनतालाई।’ आन्दोलनका कारण जनताले गाडी चढ्नु त परको कुरा बाटोमा हिंड्न समेत नपाएकाे प्रति उनले गुनासो गरे। 

घिमिरे र दानी उदाहरण मात्र हुन् उपत्यकाका विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सार्वजनिक सवारीहरु प्रदर्शनका कारण रोकिए पछि कयौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेकाे छ।

राप्रपाकाे प्रदर्शनले मंगलबार दिउँसो राजधानीकाे ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त थियाे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले प्रदर्शनले मानिसहरुको भेलाजम्मा भइरहेका कारण सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले विभिन्न स्थानबाट सवारी साधनलाई डाइभर्सन गरेको जानकारी दिए।

उनका अनुसार भृकुटीमण्डप प्रर्दशनीमार्ग हुँदै आउ/जाउ सवारी साधनलाई पद्दमोदयमोड र सभागृहमोडबाट डाईभर्सन गरिएको छ। भद्राकालीबाट सिंहदरबार आउने सवारी साधनलाई सहिदगेटतर्फ पठाइएको छ।

त्यस्तै, माइतीघरबाट सिंहदरबारतर्फ आउनेलाई अनामनगरतर्फ पठाइएकाे छ। पुतलीसडकबाट माइतीघरतर्फ जाने आउने दुवै तर्फको सवारी र जाउलाखेलबाट कुपण्डोलतर्फ आउने सवारी साधनलाई पनि प्रवेशमा रोक लगाइएको छ।

उक्त सडक हुँदै चल्ने सवारी साधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। त्यसैगरी, रणोदिपबाट कमलादितर्फ आउने सवारी साधनलाई कमलादीतर्फ आउन दिइएको छैन।

त्रिपुरेश्वरबाट सुन्धरातर्फ आउने सवारी साधनलाई पनि थापाथलीतर्फ पठाइएको छ। भाडाका सवारी साधनलाई भने थापाथली, कलंकी, बल्खु, तिनकुने, महाराजगंज, जावलाखेल, सानेपा, लगनखेल, महाराहगंज लगायतका चोकबाट टुडिखेल वरिपरी आउन रोक लगाइएको छ।

भक्तपुरबाट आउने सार्वजनिक सवारी साधनलाई तीनकुनेबाटै सिनामङ्गलतर्फ पठाइएको छ। ललितपुरबाट आउने सवारी साधनलाई पनि काठमाडौं प्रवेशमा रोक लगाइएको छ। पुल्चोकदेखि नै सवारी साधनलाई झम्सिखेल र सानेपातर्फ पठाइएको छ।

टुडिखेल वरीपरी हुँदै चल्ने सवारी साधनका चालकले वैकल्पिक मार्गको प्रयोग गर्न भनिएकाे छ। अहिले भद्रकालीबाट सिंहदरबारतर्फ सवारीसाधन जान दिइएको छैन। भद्रकाली–सहिदगेट–सुन्धारा–रत्नपार्क क्षेत्रमा सवारी ठप्प हुँदा सर्वसाधारण आफ्नो गन्तव्यतर्फ हिँडेर गइरहेका छन।

‘प्रदर्शनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ, सवारीलाई भद्रकाली, सुन्धारा प्रवेश गर्न नदिई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ’ उनले भने।

काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको उनले जानकारी दिए। उनका अनुसार प्रदर्शनकारी भद्रकालीबाट त्रिपुरेश्वरतर्फ गएका छन्। कीर्तिपुरबाट आउने सवारी साधनलाई कालिमाटीमा रोकिएको छ।

सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हाे। प्रदर्शनमा प्रहरीसँगको झडपमा राप्रपाका केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्। प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ।

प्रकाशित: २७ चैत्र २०८० १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App