२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उत्तराखण्ड दुर्घटनामा मृत्यु भएकाहरू नेपाली हुन् वा होइनन् बारे अनुसन्धान सुरु

भारतको उत्तराखण्डमा जिप दुर्घटनामा परी मृत्यु भएका अधिकांश नागरिक नेपाली हुन् कि भन्ने विषयमा पुष्टि गर्न प्रशासनले समन्वय सुरु गरेको छ।

उत्तराखण्डस्थित नैनीतालको बेतालघाट क्षेत्रमा मङ्गलवार बिहान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा विशराम चौधरी, अन्तिमराम चौधरी, विनोद चौधरी, उदयराम चौधरी, तिलक चौधरी, धीरज, गोपाल र राजेन्द्र कुमार रहेका छन्। यस्तै शान्ति चौधरी, छोटु चौधरी र प्रेम बहादुर घाइते भएका छन्।

मृत्यु भएकामध्ये ७ जना नेपाली नागरिक भएको हुन सक्ने आशङ्का भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय प्रहरीसँग समन्वय सुरु गरेको हो।

मृत्यु भएकाहरू मजदुरहरू रहेको र नेपालको बाँके, बर्दिया, कञ्चनपुर, कैलालीको हुन सक्ने आशङ्का भएपछि जिल्ला प्रशासनले भारतीय प्रहरीसँग समन्वय गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले नागरिक न्यूजलाई बताए।

उनले भने, ‘उत्तराखण्डको नैनीतालमा दुर्घटनामा परी मृत्यु भएका नागरिकको नाम र थर मिल्दोजुल्दो भएकाले पुष्टि गर्न भारतीय प्रहरीसँग समन्वय भइरहेको छ। अहिले नै ती नागरिक नेपाली हुन् भन्न मिल्दैन। पुष्टि हुन केही समय लाग्ने छ।’

भारतीय प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते भएका तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८० १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App