१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्!

गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा २०७५ मा वडा नं २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्‍यो। माथिबाट सडक खन्दा घरलाई जोखिम हुने भएपछि पुनः घर तलपट्टिबाट सडक खनियो। माथिबाट बाटो खन्दा गएको पहिरोले घर पुरियो भने तलपट्टिबाट खनेको सडकका कारण गरिखाने पाटो सकियो। अहिले तलपट्टिको बाटोको किनारमा बचेको थोरै जग्गामा कुमाल परिवारले झुपडी बनाएर जेनतेन बासस्थानको जोहो गरेको छ। घर पुरिएपछि तत्कालीन वडाध्यक्ष टीका रेश्मीसहितका जनप्रतिनिधिले नयाँ घर बनाइदिने आश्वासन दिए पनि लामो समयसम्म रकम नै निकासा भएन।

केही समयपछि गाउँपालिकाले बल्लतल्ल एक लाख ४० हजार दियो। तर अहिले उक्त बाटोको कन्तबिजोग छ। सडकको कतिपय खन्डमा त्यसयता डोजरसमेत चलेको छैन। अर्थात् बाटो पूर्ण रूपमा निर्माण भएकै छैन। ‘सडक बनाउँदा घर र बारी दुवै सकिए तर यो बाटोमा एम्बुलेन्ससमेत आउन सक्दैन। यस्तो बाटो बनाएर के फाइदा भयो?,’ कुमालले भने।

 कुमाललाई सडकले आफ्नो परिवारको उठिबास लगाएकामा भन्दा पनि उनलाई त्यसरी बनाएको सडक सञ्चालन नभएकामा दुःख लागेको छ।

इस्मा गाउँपालिकाको चक्रपथअन्तर्गतको चिसापानीबाट पनाहाघाटसम्म जोड्ने सडकका लागि पालिकाले २०७५ मा नयाँ ट्रयाक खन्न सुरु गरेको हो। अहिले पनि गुर्वाघाटदेखिको सडक पूर्ण रूपमा अवरुद्ध नै छ। पैदल यात्रा समेत गर्न सकिँदैन। ‘बाटो सञ्चालन नै नगर्ने भए किन खन्नुपर्थ्याे?,’ स्थानीय सुनिल खत्रीले भने, ‘सरकारी बजेट दुरूपयोग गर्न असार मसान्तमा डोजर चलाए।’

सो बाटो अवरुद्ध हुँदा विद्यार्थीहरू समयमा विद्यालय जान नपाएको उनले बताए। उक्त बाटो सञ्चालन नहुँदा पालुखा भेगका विद्यार्थीलाई विद्यालय जान आधा घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने खत्रीले बताए।

हालसम्म उक्त सडकमा चार करोड आठ लाख ७० हजार रकम खर्च भएको इस्मा गाउँपालिकाका सूचना अधिकारी नारायण महतले बताए।

उक्त सडकले इस्माको रातडाँडा–हर्पुकोट–ठाडढुंगा, दोहोली, डाँडीपोखरा–दोबाट–सिरार–अमरपुर–राङदलचौर–हुलाके–राहाले–सिल्तुङ–पालुखा–छल्दीपनाह–रातडाँडा जोड्छ। यस्तै गतिमा काम हुने हो भने उक्त सडक सम्पन्न हुन दशकौं लाग्ने देखिन्छ।

सोमर–भोमर–निन्युखर्क–हाडहाडे सडकअन्र्तगत धुर्कोट गाउँपालिका–३ हाडहाडेमा २०७८ को असार मसान्तमा डोजर चल्यो। त्यसपछि उक्त ठाउँमा माथिबाट पहिरो झरेर सधैँ समस्या भइरह्यो। सडककै कारण हाडहाडेको साविकको निन्युखर्कको गनेयपोखरामा पहिरोले एनसेलको टावर र करिब १५ घरधुरी जोखिममा छन्। ‘असार मसान्तमा स्थानीयको भावनाविपरित अनावश्यक ढङ्गले डोजर चल्यो,’ स्थानीय छमकुमारी श्रीसले भने, ‘विकासका नाममा हामीलाई सास्ती भएको छ।’

सधैं वर्षायाममा पहिरो गएर यातायातमा समस्या हुने पनि उनले बताए। वडाध्यक्ष पदम विष्टले उक्त सडकको तलपट्टीको भाग पनि भासिएकाले गाउँपालिकाले निर्माण गर्न थालेको सहिद मार्गमा पनि असर पुग्ने बताए। वडाध्यक्ष विष्टले बजेट सकिएको बाहाना बनाएर सम्बन्धित कार्यालयले काम नगरेको आरोप लगाए।

इस्मा गाउँपालिकाले चार सय ५० भन्दा बढी घरमा ‘एक घर–एक धारा’ पुर्‍याउनका लागि २०७८ मा योजना सुरु गर्‍यो। ‘छल्दी मझ्याङ रतलारुख ताल्तुङ सिन्दुखा लिफ्टिङ खानेपानी आयोजना’ नाम दिइएको यस योजनाको लागि हालसम्म दुई करोडभन्दा बढी खर्च भएको छ। अहिलेसम्म पाँचवटा ट्याङ्की, मोटर खरिद र लिफ्टिङको लागि भवन पनि निर्माण भएको छ। १२६ घरमा सप्लाई पाइपलाइन पनि जडान भएको छ। तर, अहिलेसम्म एक घरमा पनि पानी झरेको छैन।

‘धारा जडान भएको लामो समयसम्म पनि पानी आएन, अघिल्लो सरकारले सुरु गरेको योजनामा अहिलेको सरकारले बजेट नै राखेन,’ इस्मा–२ का स्थानीय राजु नेपालीले भने, ‘बनेका ट्यांकी पनि फुट्न थालेका छन्।’

अर्का स्थानीय राजेन्द्र विक्रम कुँवरले एकातर्फ समयमा बजेट खर्च नभएको तथ्यांक सार्वजनिक हुन्छ, अर्कोतर्फ बजेट नराखेर योजनालाई अलपत्र पारिएको बताए।

अहिले पालिकाले बजेट विनियोजन नगर्दा सर्वसाधारणले खानेपानीको समस्या झेलिरहेको बताए। इस्मामा यसअघि एमाले नेतृत्वको स्थानीय सरकार थियो भने अहिले कांग्रेस नेतृत्वको सरकार छ।

यी योजना बजेट नपरेर वा बजेटको सही सदुपयोग नभएर अलपत्र परेका केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्। असार मसान्तमा डोजर चलाएर पहाड भत्काउने तर त्यसपछि योजनाबारे चासो नदिने, योजनाको दीर्घकालीन कार्ययोजना नबनाउने जस्ता समस्याले विकास निर्माणका काममा ढिलाइ हुँदै आएको छ। अर्काेतर्फ फिल्डमा काम नहुने तर कागजमा काम भएको देखाउने ‘असारे विकास’को प्रवृत्ति पनि मौलाएको छ।

६ महिनाको विकास खर्च १८ प्रतिशत मात्रै

जिल्लामा आर्थिक वर्षको सुरुआती विकास खर्च हेर्ने हो भने निकै निराशाजनक छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म जिल्लाका १२ पालिकामा कुल १८.७० प्रतिशत मात्रै विकास खर्च भएको छ। चालु आर्थिक वर्षको लागि जिल्लाको १२ पालिकाको कुल पुँजीगत बजेट दुई अर्ब चार करोड ३४ लाख ७६ हजार हो। तर, सुरुको छ महिनामा जम्मा ३८ करोड २२ लाख ३५ हजार रूपैयाँ ८४ पैसा मात्रै खर्च भएको छ।

अबको ६ महिनामा पालिकाहरूले कुल बजेटको ८१.३ प्रतिशत अर्थात् एक अर्ब ६६ करोड १२ लाख ४१ हजार खर्च गर्नुपर्ने हुन्छ। चालु आवको लागि जिल्लाका सबै पालिकाले दुई हजार आठ सय ८७ योजना विनियोजन गरेकोमा पौष मसान्तसम्म एक हजार आठ सय ९५ योजना मात्रै सम्झौता भएका छन्।

जिल्लामा सबैभन्दा बढी धुर्कोट गाउँपालिकाले छ महिनामा विकास बजेट खर्च गरेको छ। चालु आवमा धुर्कोटमा २१ करोड ८९ लाख ४४ हजार विकास बजेट रहेकामा १२ करोड १८ लाख ६४ हजार सात सय ९५ खर्च गरेको छ जुन कुल बिनियोजित बजेटको ५५.६६ प्रतिशत हो। धुर्कोटले कुल पाँच सय ४६ योजना निर्माण गरेकामा एक सय तीन योजना सम्झौता भएको सूचना अधिकारी खड्ग थापाले जानकारी दिए।

६ महिनामा पुँजीगत खर्चको हिसाबले इस्मा गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ। कुल १५ करोड ५१ लाख ३४ हजार विकास बजेट रहेको इस्माले त्यसको ३.१५ प्रतिशत अर्थात ४८ लाख ९३ हजार मात्रै खर्च गरेको छ। सूचना अधिकारी नारायण महतका अनुसार इस्मामा चालु आवका लागि २११ योजना रहेकामा ९२ योजनामा सम्झौता भएको छ।

खरिद प्रक्रिया नै झन्झटिलो

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले केही नीतिगत समस्याका कारण विकास बजेट समयमै खर्च हुन नसक्ने बताए। विकास कार्य ढिलाई हुनुमा आव सुरु भएको केही दिनपछि जिल्लामा दररेट समितिको बैठक बसेर सबै निर्माण कार्यको दर निर्धारण हुने र भदौमा मात्रै दर विश्लेषण हुने एउटा कारण रहेको बताए।

खनालले नेपालको सार्वजनिक खरिद ऐनको प्रक्रिया नै झन्झटिलो रहेको बताए। ‘सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रियस्तरको ठेक्का ४५ दिन, राष्ट्रियस्तरको ३० दिन र स्थानीय स्तरको १५ दिनको म्याद राखेर खोल्नुपर्ने हुन्छ,’ खनालले भने। 

प्रकाशित: २७ चैत्र २०८० १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App