२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आए

बुधबार चितवन अदालतमा व्यापारी रामहरी श्रेष्ठकी पत्नीको अनुहार चिन्तित देखिन्थ्यो। आफ्ना श्रीमानको न्यायका लागि लडेकी उनलाई राज्य शक्ति लागेर न्याय नपाउने हो कि भन्ने डर थियो। तर, शुक्रबार करिब दुई बजेतिर भने उनको अनुहार बुधबारको जस्तो थिएन। उनी हँसिलो मुद्रामा देखिन्थिन। चितवन अदालतले माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएपछि पीडित रमिता श्रेष्ठले आफूहरूले न्याय पाएको अनुभूति गरेको बताएकी छिन्।

जिल्ला अदालत चितवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले अदालतले खामलाई थुनामा पठाउन आदेश दिएसँगै आफूहरूले न्याय पाएको अनुभूति गरेको बताएकी हुन्। रमिताले  भनिन्, ‘पहिलो खुड्किला तरे अब न्याय पाउँछु कि भन्ने लागेको छ। पहिला त फरार भएको मान्छे कहिले भेट्ने हो भन्ने भएको थियो। अब त थुनामा राखेर कारबाही गर्नेभएपछि न्याय पाउँछु भन्ने लागेको छ।’ उनले आफूहरूलाई माओवादी भनेर न्याय प्रभावित पार्न लागिएको उनले बताइन्। ‘हामी कुनै पार्टीमा छैनौँ। रेष्टुरेण्ड व्यवसायी हौँ’, उनले भनिन् ‘अहिले पनि मेरो व्यवसाय यही हो।’ उनले सुरुदेखि नै आफ्नो परिवार माओवादी नभएको जिकिर गरिन्।

रामहरीका छोरा रोमन पनि खुसी देखिन्थे। १२ वर्षमा बुवा गुमाएका रोमन न्यायकै लागि लन्डनको बसाइ छाडेर नेपाल आएको बताए। ‘म ८ वर्षदेखि बस्दै आएको लन्डन छाडेर वन वे टिकट लिएर यहाँ आएको छु। आज पहिलो सफलता प्राप्त भएको छ’, उनले भने।

रोमनले खामविरुद्ध दायर मुद्दामा राजनीतिक हस्तक्षेपविना न्याय सम्पादन हुने विश्वास व्यक्त गरेका छन्। उनले माओवादीकै सरकार भए पनि प्रधानमन्त्री प्रचण्डसँग न्यायका लागि आग्रह पनि गरे। ‘१५ बर्ष खाम खुलेआम हिँडिरहेका थिए। यो अवधिमा हामीलाई सबैभन्दा पिडाको समय थियो। कालीबहादुर खाम माओवादी तहमा बढुवा हुँदै जानुभयो। हामीले न्यायका लागि ठुला नेताहरु प्रधानमन्त्री गृहमन्त्री, अमिन र अन्तर्राष्ट्रिय निकायलाई गुहारेका थियौँ,’ उनले भने ‘पक्राउ नपर्दा हामी यहाँ बस्ने वातावरण नहोला जस्तो लागेर ममीलाई बाहिर जानुपर्छ भनेर आग्रह गरेँ। विदेश गए अपराधीले छुटकारा पाउँछ भनेर मान्नुभएन।’ उनले न्यायालयले आगामी दिनमा पनि सत्य तथ्य रुपमा न्याय सम्पादन गर्नेमा उनले विश्वास व्यक्त गरे। उनले यस अभियोगमा फरार भएका केशव अधिकारी, गंगाराम थापालाई पक्राउ गरे अनुसन्धान गर्न अनुरोध गरे।

शुक्रबार चितवन अदालतले थुनामा पठाउन आदेश दिएसँगै कमान्डर खामलाई जिल्ला कारागार भरतपुर पठाइएको छ। अदालतका श्रेतादार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए। न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो। बिहीबार पनि बहस भएको थुनछेक मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम गत मंगलबार पक्राउ परेका थिए। खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो।

मृतक रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न छ भनेर खामले लगेको मृतककी श्रीमती रमिला ले जाहेरीमा उल्लेख गरेकी छिन्। रामहरिको शव झन्डै एक महिनापछि जेठ १२ गते त्रिशूली नदी किनारमा भेटिएको थियो। शक्तिखोर डिभिजनका तत्कालीन कमान्डर खामको निर्देशनमा ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालासहितको टोलीले यातना दिएर श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो।

रमिलाका अनुसार अपहरणको १० दिनपछि माओवादी तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुरले रमिलालाई श्रीमान् श्रेष्ठसँग एक पटक फोन सम्पर्क गराएका थिए। त्यसपछि उनको परिवारले खामसहित बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए। प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए। खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको थियो।

चितवन अदालतले २०६८ सालमा बटालालाई तीन बर्ष कैद सजाय सुनाएको थियो। तर ब्रिगेडियर कमान्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसकेका छन्। सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो। 

प्रकाशित: २३ चैत्र २०८० १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App