२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

व्यापारी हत्याका आरोपी कालीबहादुरको थुनछेक बहस जारी

व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामको जिल्ला अदालत चितवनमा थुनछेक बहस जारी  छ। 

न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबारदेखि उनको थुनछेक बहस सुरु भएको हो। बिहीबार सरकारका तर्फबाटको बहस सकिएको छ। यसपछि प्रतिवादी बनाइएका खामको तर्फको बहस सुरु भएको छ। प्रतिवादीका तर्फबाट अधिवक्ता गोपीलाल देवकोटा र विजय हमालले बहस गरिरहेका छन्। यो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। शुक्रवार पुनः बहस हुनेछ। 

मंगलबार पक्राउ परेका खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो। अदालतले अदालती प्रक्रियाका लागि खामलाई आज बिहान १० बजे बोलाएको थियो। 

मृतक श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो।

त्यसपछि उनको परिवारले खाम सहित तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए।

प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो। सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए। खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए। 

ब्रिगेडियर कमान्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसेका छन्। सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो। खामलाई साेमबार प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याइएको हो।

प्रकाशित: २२ चैत्र २०८० १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App