२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोको चपेटामा सामुदायिक वन

फाइल तस्बिर

सुख्खा याम सुरु भएसँगै कालिकोटका वन क्षेत्र डढेर खरानी हुने क्रम बढेको छ। कालिकोटका जंगलमा डढेलो लाग्दा दुईतीन वर्षयताका नयाँ बिरुवा नासिएका हुन्। डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ। चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको छ।

चैत २ गते खाँडाचक्र नगरपालिका–५ को ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरीको मृत्यु भयो। डढेलोमा जलेर घाइते भएका ५० वर्षीय नन्दाराम चौलागाई र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका क्रममा चैत्र ५ गते सुर्खेतमा मृत्यु भएको थियो।

नन्दरामका लागि दिउँसो खाजा पुर्‍याउन गएकी छोरी हेमन्ती पनि आगलागीमै अस्ताइन्। डढेलोले उनका ४५ बाख्रा मरे भने ६ घाइते भए। अज्ञात व्यक्तिले चुरोट ननिभाएर फ्याँक्दा वनमा आगो सल्किएको प्रहरीको अनुमान छ।

प्रहरीले आगो फ्याँकेको आशंकामा केही व्यक्तिमाथि अनुसन्धान गरिहेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले भने, ‘अनुसन्धान भइरहेकोले धेरै बोल्न मिल्दैन।’

उनले कालिकोटमा जानीजानी वनमा डडेलो लगाउने पवबृत्ति रहेको सुनाउँदै भीर पाखोमा घास छिटो उम्रिएला भनेर आगो लगाउने चलन रहेको बताए।

गत वर्ष कालिकोट र अछामको सिमानामा पर्ने नरहरिनाथ–८ स्थित सालघारी सामुदायिक वनमा आगलागी हुँदा काठ चिरानका लागि गएका लालुका अदानसिंह विष्ट र खाँडाचक्र–२ का जैपाल कामीको जलेर मृत्यु भयो। वनमा आगलागी भएपछि भाग्नेक्रममा आगो लागेर घाइते भएका उनीहरूलाई उपचारका लागि जुम्ला लैजाने क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाका अनुसार तीन वर्षमा डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। यस वर्ष मात्र १९ वटा वनमा आगलागी भएको प्रहरीले जनाएको छ।

गत माघमा मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा लाले सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्याल थिए।

लालेकी श्रीमती सरस्वती सञ्ज्यालले आगो बालेर सुतिरहेको अवस्थामा आगलागी भएको थियो। आगलागीबाट तीन दाजुभाई लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रूपमा जल्यो।

त्योभन्दा अघि असोजमा मुगु सदरमुकाम गमगढीमा आगलागी भयो। ८ घर पूर्ण रूपमा जले भने ३ वटा घरमा आंशिक क्षति पुग्यो। आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भए।

कालीकोट र मुगुमा मात्र होइन, कर्णालीका १० वटै जिल्लामा बर्सेनि आगलागी र क्षतिको दर बढ्दो छ। आगलागीबाट प्रत्येक वर्ष कर्णालीबासीले ठूलो जनधनको क्षति ब्यहोरिरहेको प्रहरीको तथ्यांक छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-७८ मा आगलागीबाट १५ जनाको मृत्यु भयो। २० जना घाइते भए।

यो आर्थिक वर्षमा दुई सय ६ वटा आगलागीका घटना भएका थिए। आर्थिक वर्ष २०७८-७९ मा १५ जनाको मृत्यु भयो भने नौजना घाइते भए। यो वर्ष एक सय ३१ आगलागीका घटना भएका थिए। यस्तै आर्थिक वर्ष २०७९-८० मा आठजनाको मृत्यु भयो। २२ जना घाइते भए। यो वर्ष २२ सय १४ वटा घटनाहरू भएका थिए।

चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिनाको अवधिमै १० जनाको मृत्यु भइसकेको छ भने नौजना घाइते भएका छन्। एक सय १६ वटा आगलागीका घटना भएका छन्। कर्णालीमा घरबाट हुने आगलागीका घटनाहरू धेरै भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी वीरबहादुर ओली बताउँछन्। उनका अनुसार वन जंगलमा हुने आगलागीका घटनाहरूबाट पनि क्षति हुने गरेको छ।

स्थानीयले घास छिटो उम्रने लोभले वनमा आगो लगाउने प्रवृत्ति छ। वनमा आगो लाग्दा यस वर्ष मात्र ४९ पशुचौपाया मरेको प्रहरीको तथ्यांक छ। वनमा आगो लगाउनेलाई कारबाही नहुँदा आगलागीका घटना बढ्दै गएको बताइएको छ।

वनमा आगो लगाउनुलाई अपराध मान्ने चलन छैन, खर मेलामा आगो लगाउनेलाई देखिनेगरी कारबाही नहुँदा आगलागीका घटना कम हुन सकेका छैनन्।

कालिकोटमा आगलागीका घटना बढ्दै गएपछि सचेतनाका अभियान सञ्चालन सुरु गरेको डिभिजन वन कार्यालय प्रमुख महेश कुमाईले बताए। उनले सामुदायिक वनमा आगो लगाउनेलाई वनको विधान र कार्ययोजना अनुसार फरकफरक कारवाहीको प्रावधान रहेको बताए।

सामुदायिक वन उपभोक्ता समूहको विधानमा पहिलो चोटी आगो लगाए सचेत गराउने, धनजनको क्षति भए जरिबाना गर्ने र कतिपय उपभोक्ताबाट हटाउने नियम बनाएको बताए।

डिभिजन वन कार्यालयले सामुदायिक वनलाई विधानअनुसार कारवाही गर्न निर्देशन दिँदै आएको छ। ‘हामीले प्रत्यक्ष कारबाही गर्न मिल्दैन,’ डिभिजन प्रमुख कुमाईले भने, ‘सामुदायिक वन उपभोक्ता समितिको नियम अनुसार कारवाही गर्नुपर्ने हुन्छ।’

उनले उपभोक्ताको मिलेमतोमा दोषीलाई कारबाही नहुने अवस्था रहेको बताए।

वन ऐन २०७६ को दफा ४९ को आगो लगाउने कसुर घ को सजायसम्बन्धी व्यवस्थामा बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। तर, कालिकोटको वन कार्यालयले हालसम्म कसैमाथि मुद्दा चलाएको छैन।

सोमबार पनी कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नम्बर ३ को भर्तामा आगोले वन जलेर नष्ट भएको छ। तीन वर्षमा ६ जनाको मृत्यु, ४ घाइते, ४९ चौपाया जलेका छन्, भने धेरै प्रतिसद वन जलेर नष्ट भएको छ। अहिले पनी कालिकोटका सबै स्थानीय तहमा वन जलेर नष्ट हुँदै आएका छन्।

प्रकाशित: २२ चैत्र २०८० ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App