१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

डेढ सय दलित घर परिवारलाई शौचालय

सिरहाको लहान नगरपालिका– ५ स्थित बालुवाटोलका दलित समुदायका मानिस घरभन्दा सुन्दर शौचालय बनेकाेमा दङ्ग छन्।  

गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन्। घरनजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घर परिवारका सदस्य दंग छन्।  

खुट्टी खोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ। त्यहाँ सुविधासम्पन्न अपांगतामैत्री शौचालय बनेको छ। दलित बस्तीका सदस्य विजय सदाय ‘घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ। चर्पी बनेसँगै खुट्टी खोलाका वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ। यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै खुसी छौं’, भन्छन्।

शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजनाअन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुंकेले जानकारी दिए। उनका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ।

शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखा परेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताए। स्वच्छ खानेपानी र उचित सरसफाइ  व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैलाई नभई अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९  विद्यार्थी र दुई सय आठजना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिए।

नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताए।  उनले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गरे। –रासस

प्रकाशित: १८ चैत्र २०८० ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App