१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्काउटको जग्गा फिर्ता गराउँदै खेलकुदमन्त्री

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ।

स्काउटले हडपिएको आफ्नो जग्गा खाली गराउन प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म हारगुहार गरिरहेका बेला तालुकदार मन्त्रालयले छानबिन थालेको हो।

स्काउटले कब्जा गरिएको जग्गा फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेललाई समेत पत्रचार गरेको अवस्थामा मन्त्रालयले जग्गासम्बन्धी सबै विवरण स्काउटसँग मागेको छ।

स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले हडपिएको जग्गा खाली गराउन उच्च अदालतको आदेशसहित सबै विवरण मन्त्रालयमा पठाएका छन्।

सांसद खड्काले स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरेको र बुझाउनुपर्ने बक्यौतासमेत नबुझाएको विषयमा मन्त्रालयलाई कागजातसहित जानकारी गराइएको छ। सांसद खड्काले सञ्चालन गरेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबारे युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयलाई स्काउटले जानकारी गराएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। उक्त प्रालिले स्काउटको जग्गा अनधिकृत रूपमा हडपेको आरोप छ।

यस विषयमा गत बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत चासो देखाउँदै स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितसँग सोधपुछ गरेका थिए। त्यसअघि यसै विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सबै विवरण मन्त्रालयमा पठाउन स्काउटलाई भनेका थिए।

प्रमुख आयुक्त रञ्जित शुक्रबार आफैं मन्त्रालय पुगेर युवा तथा खेलकुदमन्त्री श्रेष्ठ र सचिव रविलाल पन्थलाई लिखित रूपमा विवरण उपलब्ध गराएका हुन्।

यसअघि मन्त्रालयले सांसद् खड्काको कम्पनीले कब्जा गरेको भनिएको जग्गाको विषयमा स्काउटलाई पत्र लेखेर जानकारी माग गरेको थियो। त्यसपछि स्काउटका प्रशासकीय अधिकृत चौहानले पत्रमार्फत नै जानकारी गराएका हुन्।

‘मन्त्रालयले माग गरेको विवरण स्काउटले दिएको छ,’ चौहानले भने। गृहमन्त्री लामिछानेले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई स्काउटको जग्गा खाली गराउन निर्देशन दिएका छन्।

प्रमुख आयुक्त रञ्जितलाई नेपाली कांग्रेसले नियुक्त गरेका कारण उनले बक्यौता उठाउन र जग्गा खाली गराउन आलटाल गर्दै आएका थिए।

पूर्वमन्त्री डिगबहादुर लिम्बूले गत फागुन १३ गते रञ्जितलाई नियुक्त गरेका थिए। युवा तथा खेलकुदमन्त्री श्रेष्ठले यही चैत १२ गतेसम्म स्काउटको जग्गा फिर्ता गराउने घोषणा गरेको भए पनि सबै विवरण मागेर छानबिन गर्न अग्रसरता देखाएका हुन्।

सांसद खड्काले सत्ता र पहुँचकै भरमा सरकारका सम्पूर्ण संयन्त्रलाई दबाबमा राखेर स्काउटको जग्गा कब्जा गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले २०६५ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका नाममा काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका थिए। करार अवधि २०७५ सालमै सकिए पनि उनले बाँकी रहेको भन्दै जग्गा भोगचलन गर्दै आएका छन्।

अहिले पनि खड्काले लैनचौर ब्यांकेट र च्वाइस रेस्टुरेन्ट यही जग्गामा सञ्चालन गरिरहेका छन्। उनले स्काउटकै थप ९ रोपनी जग्गासमेत अनधिकृत रूपमा प्रयोग गरिरहेका छन्।

राजनीतिक प्रभावम खड्काले ४८ वटा सटर भएको स्काउटको व्यावसायिक भवनसमेत १५ वर्षदेखि भाडामा लगाइरहेका छन्। उनले भाडाबापतको स्काउटलाई तिर्नुपर्ने ६ करोड ३० लाख रुपैयाँभन्दा बढी तिरेका छैनन्। स्काउटले बक्यौता रकम बुझाउन ताकेता गर्दा पनि उनले अटेर गर्दै आएका छन्। यो विषयमा संघीय संसदमा पनि कुरा उठेको छ।

प्रकाशित: १८ चैत्र २०८० ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App