२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलाका चौमुख अभिभारा

महिलाको सम्मानमा शास्त्रले बोलेको छ-यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्। शास्त्रको कुरा एकातिर छ, व्यवहार भने अर्कैतिर छ। महिला कामले कहिल्यै फुर्सदमा हुँदैनन्, तैपनि तिनले सबैलाई खुसी पार्न सक्दैनन्। त्यसमा पनि आज महिलाले चुलाचौकाबाट बाहिर निस्किन थालेपछि थप जिम्मेवारीको भारी बोक्नुपरेको छ। परम्परागत भारी बोकेकै छन्, थप भारी पनि थपिएको छ।

घरबाट बाहिर निस्केर सफलता हासिल गर्न चाहने महिलाका निम्ति परिवारको साथसहयोगको ठुलो भूमिका छ। बाहिरको जिम्मेवारी पूरा गरेर फर्केका महिलाले फेरि घरभित्रको जिम्मेवारी पनि पूरा गरिदिऊन् भन्ने भावना देखिन्छ।

कामकाजी महिला सफल हुनुको पछाडि परिवारको ठुलो भूमिका हुनुपर्छ। तर, कामकाजी महिला सबै कामको केन्द्रबिन्दुमा परेका हुन्छन्। सबै काम महिलाले नै गरिदियोस् भन्ने सोच अझै नेपाली समाजमा रहेको छ।

महिलाका धेरै कुरामा परिवर्तन आए पनि घरको जिम्मेवारीमा भने परिवर्तन आउन सकेको छैन। महिलाहरू घररूपी कार्यालय सम्हाल्नका लागि धेरै मेहनत गरिरहेका हुन्छन्।

पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अग्रसर हुनुका साथै पारिवारिक अवस्थाले थिचिएका पनि छन्। आर्थिक एवं सामाजिक रूपमा महिलाहरू स्वयंसेवकका रूपमा सशक्त हुँदै गएका छन् भने परिवारका लागि हरेक जिम्मेवारी महिलाकै काँधमा हुने गरेको छ।

सन् २०२३ मा राष्ट्रिय योजना आयोग, आइएलओ, युएन वुमन र आइआइडिएसले गरेको अध्ययनले दक्षिण एसियामा महिलाहरू पुरुषभन्दा चार गुणा बढी र नेपालमा ६ गुणा बढी काम गर्छन्।

महिला सशक्तीकरणको जतिसुकै परिचर्चा गरे पनि २१ औं शताब्दीमा समेत महिलाको स्थितिमा खासै अन्तर आएको छैन। उनीहरू पढेलेखेर कामकाजी पक्कै भएका छन् तर घरबाहिर उनीहरूले अझै धेरै समस्या सामना गर्नु परिरहेको छ।

कार्यालयका अलावा महिलाहरूले घरको जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्। घरको काम र परिवार पूर्णतः रेखदेख गर्नु सबै महिलाको निजी कर्तव्यजस्तै बनेको छ।

घरेलु महिलाको तुलनामा कामकाजी महिलाहरूले झन् धेरै चपेटासँगै दोहोरो/तेहरो भूमिका निभाइरहेका हुन्छन्। तर, उनीहरूको कामको लेखाजोखा भने हँुदैन। दत्तचित्त भएर कार्यालयको कामलाई पनि नोक्सान नपुर्‍याई सहभागी हुनुसँगै घरपरिवार, आफन्तको कार्यभार सबै सम्हाल्नुपर्ने महिलाहरू थुपै्र छन्। घरभित्रको काम र बाहिरको काम गर्नु भनेको महिलाका लागि निकै चुनौतीपूर्ण छ।

आजभोलि कामकाजी महिलाका लागि जिम्मेवारीको भारी निकै बोझिलो बन्दै गएको छ। विकास निर्माण, प्रशासनिक, राजनीतिक, सामाजिकलगायत क्षेत्रमा महिला–पुरुष भूमिका बराबरी हुनुपर्छ भन्ने मान्यता छ। तर, जग नै बलियो नभएपछि घर कहाँ बलियो हुन्छ र? कामकाजी महिलालाई परिवारको साथ पूर्णतः हुन जरुरी छ।

विवाहपछि महिलाहरूले आफ्नो करिअरलाई निरन्तरता दिनुपर्छ भन्ने बहस त धेरै हुन्छ। तर, परिवारकै साथ हुँदैन। करिअर बनाउन कसले रोकेको छ र? भन्ने तर घरायसी भार सबै महिलामाथि नै थुपार्ने गरेका हुन्छन्। एकातर्फ महिलालाई समाजले घरायसी कामकाजमा कुनै छुट दिएकै छैन। अर्कातर्फ कार्यस्थलमा उनीहरूले यसो भनेर कुनै छुट पाउने गरेका छैनन्। उनीहरूले त पुरुषसँग काँधमा काँध मिलाएर हिँड्नै परेको छ।

महिलाका लागि घरमा होस् वा कार्यालयमा, ‘हिँड्ने गोरुको पुच्छर निमोठ्ने’ भनेझैं हुन्छ। एक महिला बुहारी भए सासूको खटनमा, श्रीमती भए श्रीमानको नेतृत्वमा, आमा भए छोराछोरीको स्याहार भन्दै गर्दा ती महिलाको आफ्नो चाहना भने कहिले परिपूर्ति भएको हुँदैन।

अझै घरको काम पुरुषले गर्न नहुने सामाजिक मान्यताले बेरिएका महिलालाई झन् धेरै भार पर्ने गरेका छन्। परिवारमा बुझ्ने पुरुष भएमा त्यो घरकी महिला सफल हुनुका साथै सुखी पनि हुन्छिन्। पुरुषका तुलनामा महिलालाई घरबाहिर निस्केर हिँड्न एकदमै कठिन छ। उनीहरू तत्काल घरबाहिर निस्कनुपर्दा दश पटक घरायसी कामबारे सोचेर हिँड्नुपर्छ।

तरकारी, फलफूल, भान्सादेखि शौचालयसम्मका सामान बाटोमा किन्दै घर पुगिन्छ। घर ढिला आएको भन्दै परिवारले दिएको लान्छना र उपनाम कम हुँदैनन्।

कामबाट थाकेर घर आउँदा काममा सघाउने कोही हुँदैन। बरु ओछ्यानमा तेर्सिएर मोबाइल चलाइरहेका हुन्छन्। हाम्रो नेपाली समाजमा अझै पनि बुहारी, श्रीमतीको बाटो नै हेर्ने संस्कार हुन्छ। दिनभरको कामले थाकेका महिलाको शरीरमा झन् बढी तनाव उत्पन्न हुन्छ।

श्रीमान् श्रीमती सँगै काम गरेर साँझपख घर फर्किएपछि श्रीमान् हातमा मोबाइल वा रिमोट लिएर बिस्तारातिर पस्छन् भने श्रीमती हतार हतार ‘ड्रेस’ नै नफेरी भान्सामा बेलुकाको कर्ममा तल्लीन हुन्छिन्। दिनभरिको थकाइले मर्नु भएको शरीरलाई बिस्ताराले बोलाइरहँदा पनि महिलाहरू जान सकेका हुँदैनन्। चाहना त उनीहरूको पनि बिस्तारामै गएर टिभी हेर्दै वा मोबाइल चलाउँदै बस्ने हुन्छ। तर, त्यो रहर उनीहरूले मार्नुपर्छ।

भान्साको काम सक्काउँदा बेलुकाको दश बज्छ। सामाजिक सञ्जाल, सिर्जनात्मक कार्य, आफन्तसँगको फोनमा कुराकानी सबै त्यागेर रातको ११ बजे सुत्नका लागि बिस्तारामा जानुपर्छ। भोलि फेरि यही दिनचर्या सुरु हुन्छ।

महिलाको पनि धेरै रहर, चाहना र रुचि हुन्छन्। ती चिजहरू श्रीमान्ले सहजै नबुझ्दा महिलाको जीवन अन्धकार हुने गरेको छ। कतिपय महिला पारिवारिक समस्याबाट बाहिर निस्कन र त्यो नारकीय जीवन बिताउनुभन्दा सम्बन्धविच्छेदलाई अँगाल्छन् भने धेरैले आत्महत्या गरेका तथ्य पनि समाजमा पाइन्छन्।

धेरै जिम्मेवारी वहन गर्नुपर्ने कारणले उनीहरूले आफूलाई नै बिर्सिसकेका हुन्छन्। मनोरञ्जन, इच्छा, चाहना, खुसीबाट पूरै वञ्चित हुन्छन्। आफ्नो खुसी के हो भन्नेमा समेत उनीहरूमा अन्योल हुन्छ। उनीहरू आफ्ना लागि भनेर कहिल्यै समय चयन गरेका हुँदैनन्। हरेक समय उनीहरूको मन कार्यालयको काम र घरपरिवारको भारले नै थिचिएको हुन्छ।

पछिल्लो समय हरेक क्षेत्रमा समानताको विषयमा जति कुरा गरे पनि घरायसी काममा समानता हुन सकेको छैन। प्रायः घरमा महिलामाथि शोषण भइरहेको हुन्छ। उनीहरू परिवारले गरेको शोषण व्यहोर्न विवश भइरहेका हुन्छन्।

संसारमा ठुलो विषय आमा बन्नु हो। त्यसै पनि संसारभर नै महिलालाई जागिर गर्दै बच्चा जन्माउन र उसको पालनपोषणका साथै परिवार सबैलाई सन्तुष्ट पार्नु भनेको कम्ती मुस्किल छैन। तर, पनि परिवारका सदस्यले बुझ्ने कोसिससमेत गर्दैनन्। ती महिलालाई परिवारका एक व्यक्तिले बुझे मात्रै धेरै सहज हुन्थ्यो। तर, त्यसो पनि हुँदैन।

महिलाहरूले आफूलाई भन्दा परिवारलाई बढी ध्यान दिइरहेका हुन्छन्। तर पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ। उनीहरूले गरेको कामको कुनै तारिफ हुँदैन भने पुरुषले त्यही काम गरेको खण्डमा वाहवाही पाउने गरेका छन्। बहुजिम्मेवारी वहन गरिरहेका महिलालाई चुल्हाचौकाको काममा पनि परिवारबाट साथ हुँदैन। ती महिलामाथि ठुलै समस्या आइपरे तापनि परिवारका केही सदस्यले सामान्य मान्छन् भने कोहीले ‘नाटक’ गरेको भन्दै विभिन्न लाञ्छनासमेत लगाउन पछि पर्दैनन्।

कामकाजी महिलालाई घरपरिवारले नबुझ्ने, थप बोझ थपिने र सामाजिक रूपमा मूल्याङ्कन नहुने भएकाले पनि उनीहरू मानसिक समस्याबाट गुज्रिरहेका हुन्छन्। घरको काम पुरुषले गर्नु हुँदैन भन्ने पुरातात्त्विक सोच अझै पनि मानिसको मन, मस्तिष्कमा गढेर बसेको छ। जतिसुकै महिला–पुरुष सँगसँगै भने पनि व्यवहारमा पुरानै सोच, मान्यता र संस्कारको गन्ध मिसिएको छ। महिलाले आफ्नो रुचि, चाहना, पेसा, साहित्य, घरपरिवार, इष्टमित्र सबैलाई मिलाएर लैजान चाहेर पनि सक्दैनन्। कामकाजी महिलाको एक तिहाइ जीवन चटारोमै बित्छ।

अनेक असह्य भूमिका निर्वाह गर्नुपर्दा कामकाजी महिलाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको बताउँदै स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठ भन्छिन्, ‘जिम्मेवारी वहन गर्ने क्रममा महिलाहरूको जीवनशैली प्रभावित भई विभिन्न शारीरिक समस्या देखा पर्छन्। दोहोरो–तेहरो जिम्मेवारी, दौडधुप र मानसिक तनावका कारण डिप्रेसन, मधुमेह, उच्च रक्तचाप, ढाडकम्मर दुख्ने, समयमा महिनावारी नहुने, मोटोपनजस्ता समस्या देखा पर्छन्।’

डा. मधुका अनुसार कामकाजी महिलाहरूले आफ्नो स्वास्थ्यको ख्याल कम गर्छन्। परिवारको स्वास्थ्यमा समस्या आउँदा बढी ख्याल गर्ने र आर्थिक तथा पारिवारिक भार सम्हाल्ने महिलाहरू आफ्नो समस्यालाई भने खासै ठुलो रूपमा लिँदैनन्।

कामकाजी महिलामाथिको समस्या, घरको काम र उनीहरू बिरामी पर्दा नबुझ्ने परिवारले साथसहयोग कम गर्छन्। शिक्षितका साथै बुझ्ने परिवारले कामकाजी महिलाको सम्मान गर्दै हरेक काममा हौसला पनि दिने परिवार पनि यही समाजमा छन्। बिरामी हुँदा वा गर्भावस्थामा परिवारको साथ सहयोग नपाएका महिलाका श्रीमान् र सासूलाई नै बोलाएर परामर्शसमेत दिने गरेको डा. श्रेष्ठले बताइन्।

‘घरमा एक महिलाले नै सारा काम गर्नुपर्छ भन्ने मान्यता बोकेको समाजमा घरकी महिलालाई पनि स्वस्थ राखेमा हामी पनि स्वस्थ हुन्छौं भन्ने सोच धेरै कम मानिस हुन्छ,’ डा. श्रेष्ठले भनिन्, ‘बुहारी भएको खण्डमा, घरको काम होस् वा बाहिरको, सबै बुहारीले नै गर्नुपर्छ भन्ने सोच हुन्छ। बुहारीलाई पनि गाह्रो हुन्छ, शारीरिक समस्या आउँछ भन्ने भावना परिवारमा हुँदैन। जसले गर्दा शारीरिक समस्या एवम् मानसिक तनाव उत्पन्न हुन्छ र महिलामा ठुलाठुला रोगसमेत निम्तिन्छन्।’

आमा, दिदीबहिनी वा बुहारीको समस्या भनेको हाम्रै हो, हरेक पल परिवारले साथ दिए ती महिलाले उत्कृष्ट कार्यसम्पादन गर्न सक्छन्। साथै उनीहरूको स्वास्थ्यसमेत राम्रो बन्छ।

महिलाले घरको काम वा अन्य जिम्मेवारीबाट छुट पनि पाएका हुँदैनन्। घरबाट जागिरका लागि जाँदा समेत उनीहरूले पारिवारिक तनाव बोकेर हिँड्नुपर्छ। पुरुषसरह काम गरे तापनि उनीहरूले असुविधाजनक वातावरणमा कम तलबमा काम गर्नुपर्छ। धेरैपटक सार्वजनिक स्थानमा यौन उत्पीडन सहनुपर्छ र हिंसाको सिकार बन्नुपर्छ।

जुन घर, समाजको उन्नतिमा महिलाले भरपुर योगदान दिन्छन्, त्यही समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्छ। घरव्यवहारसँगै जागिर खानुपर्ने दबाब महिलामाथि हुन्छ। पुरुषले न यस्तो दबाब झेल्छन्, न यसका लागि घरसमाजले उनीहरूबाट कुनै अपेक्षा नै गरेको हुन्छ। समय परिवर्तनशील छ। महिला, पुरुष र अन्य लैंगिक समूह सबै बराबर हुन् भन्ने विश्वव्यापी विकासको लहरले समेत यहाँ अहिलेसम्म केही हुनसकेको छैन।

महिलाले सबैतिर दृष्टि दिनुपर्ने हुन्छ। बच्चा जन्माउनु, हुर्काउनु, आफ्नो श्रीमान्को ख्याल राख्नु, आफन्त तथा इष्टमित्रलाई रिझाउनु, घरव्यवहार समाल्नुलगायत जिम्मेवारी हुन्छन्। कहिलेकाहीं आफन्तहरूलाई फोन गर्न नभ्याएमा, बेलामौकामा बोलाएर नखुवाएमा, समय समयमा कोसेली बोकी भेट्न नगएमा ‘फलानीले त कसैले नभएको जागिर खाएकी, कम्ता ठुली भएकी छे’ भन्ने उपमासमेत मिल्छ।

त्यस्तो स्थितिमा परिवार, चाहे त्यो संयुक्त होस् वा एकल, यदि घरको सम्पूर्ण कुराको अपेक्षा बुहारीसँग राखिएको खण्डमा तनावको स्थिति उत्पन्न हुन थाल्छ। जीवनमा एउटी महिलाको अनेक भूमिका हुन्छ। विवाहअगाडि उनी कसैकी छोरी, दिदी अथवा बहिनी हुन्छिन् भने विवाहपछि महिलामा आफूले कमाएको पैसामा आफ्नो अधिकार रहँदैन। प्रायः महिलाले आफूले कमाएको पैसालाई आफ्नो हिसाबले खर्च गर्न पाउँदैनन्।

यहाँ सबै महिलाले दुःख पाइरहेका छैनन्। समय धेरै बदलिइसकेको छ। हिजोआज जहाँ श्रीमान्ले श्रीमतीको हरेक काममा सहयोग गर्छन्, त्यहाँ बच्चाले पनि आफ्नी आमालाई साथ र सहयोग गरेका भन्दै परिवारको हरेक सदस्यलाई सम्मान गर्ने गरेका हुन्छन्। तर, यति हुँदाहुँदै पनि पहिलाका भन्दा अहिलेका महिलाको स्थिति सन्तोषजनक छ। आज, घरमा खाना पकाउन अल्छी लागेको बेला अथवा आवश्यक परेको बेला घरमै बसीबसी अनलाइनमार्फत बाहिरबाट खाना मगाउन मिल्ने स्थिति पनि छ।

हिजोआजका सासू–ससुरा पनि नयाँ जमानाअनुसार चल्ने भएका छन्। बुहारीलाई पनि छोरीसरह मानेका छन्। आजका शिक्षित सासू–ससुराले बुहारीहरूको भावना पनि बुझ्छन्। साथै सासू, ससुरा र श्रीमान्बाट साथसहयोग र सम्मान पाएका महिला पनि धेरै छन्। गरेकै छैनन् भन्ने पनि छैन।

बच्चाको सरसफाइ, भान्साको काम, घर सरसफाइ, सामान्यजस्ता लाग्ने काम हुन् यी। जसलाई ‘काम’ ठानिँदैन । तर, यस्ता कामले महिलाको समय र श्रम मात्र खाइरहेका छैनन्, तनाव पनि थपिरहेका छन्।

स्तनपान र कार्यालयको कामबाहेक सन्तानसँग जोडिएका र घरका अरू काममा भने परिवारका सदस्यले मजाले सहयोग गर्न सक्छन्, यदि चाहेको खण्डमा। त्यसैले यी दुई कामका लागि महिलालाई समय व्यवस्थापन गरिदिनु परिवारको कर्तव्य हुन आउँछ।

कामकाजी महिलाले आफूलाई बुझेर सोहीअनुसार समय निकाल्नु पनि आवश्यक छ। यसकारण घरपरिवारले कामकाजी महिलालाई साथ सहयोग र सम्मान लुकाएर होइन, देखाएर गर्नु जरुरी छ। महिलाको तनावरहित जीवनका लागि सहयोग गर्नुका साथै ‘हामी सबै बराबरी’ भन्ने नारालाई व्यवहारमा उतार्न जरुरी छ। घर, जागिर, आफन्त र सन्तानको चौमुख दायित्व सम्हालेका महिलालाई परिवार र श्रीमान्ले सहज वातावरण बनाइदिने हो भने परिवार मात्र होइन, समग्र अर्थतन्त्रकै स्वास्थ्य राम्रो हुन सक्छ।

प्रकाशित: १७ चैत्र २०८० ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App