१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कृषि सिपले आत्मनिर्भर हुँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका–७, बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा मौरीका ६ वटा घार छन्। यो शिक्षालयका बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूले मह उत्पादन प्रक्रिया, महको चाका संकलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन्। वर्षमा दुईपटक निकाल्ने मह स्थानीयलाई बिक्री गर्ने गरिन्छ।

पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन्। विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षाको समयमा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको समेत अभ्यास विद्यालयमै सिकेपछि विद्यार्थी निकै उत्साहित छन्। मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने गरी अरू कृषि कर्म पनि गरेका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा वाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। यस शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो।

अहिले यहाँ ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताए। ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौं,’ प्राचार्य गर्बुजाले भने। बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरेको छ। विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको छ।

‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको प्राचार्य गर्बुजाले बताए। विद्यार्थीले च्याउ, आलु, धान, किबी, महलगायत मौसमी र बेमौसमी तरकारी गरी वार्षिक दुई लाख ५० हजारभन्दा बढीको बिक्री गर्ने गरेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका परीक्षा संयोजक विष्णु सुवेदीले बताए।

‘विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौं। यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका छन्,’ सुवेदीले भने।

बर्सेनि ६ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ। विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर समेत राम्रो कमाइ गर्ने गरेका छन्। विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ।

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा टनेलसँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुन्छ। खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बालविज्ञान पढ्न आएकी सिर्जना विकले बताइन्।

उनले विद्यार्थीले विद्यालयमा शिक्षा मात्र नलिई जानेको प्राविधिक सहयोग किसानलाई समेत जानकारी गराउने गरेको बताइन्। किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याबारे जानकारी लिन सहज भएको अर्का विद्यार्थी शिव खत्रीले बताए।

बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मंगला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलंगाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनाका साथै व्यक्तिगत रूपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका छन्।

 विद्यार्थीहरूको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ। हुम्लाबाट पशुविज्ञान पढ्न आएका जितेन्द्र बोहोराले पढाइ सकिएपछि पशुपालनमा लाग्ने बताए। ‘पढाइ खर्च अहिले नै जुटाउन सकिएको छ, अब व्यावसायिक पशुपालनमै केन्द्रित हुन्छु,’ विद्यार्थी बोहोराले भने। 

प्रकाशित: १५ चैत्र २०८० १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App