१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँची चुनढुंगा किर्ते प्रकरण: नगरलाई चौतर्फी दबाब

भूमिकास्थानको चुनढुंगा उत्खननको विषयले चर्चा पाएको छ। किर्ते प्रमाण जुटाएर उत्खननको अनुमति लिएको नगरको भनाइपछि यो विषय उत्कर्षमा पुगेको छ। 

भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुंगाको उत्खनन अनुमति लिइएको आरोप लगाएका थिए। भूमिकास्थान नगरपालिका–९, पातलेखोलामा रहेको चुनढुंगा उत्खननको अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको आरोप लगाए।

चैत ५ गते नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गर्दै मेयर थापाले यो आफू र नगरमाथि षड्यन्त्र भएको र यसको कानुनी पाटोमा जाने बताएका थिए। तर, पत्रकार सम्मेलन गरेको १० दिन बितिसक्दा नगरले कुनै कानुनी बाटो अपनाएको छैन। किर्ते गर्नेविरुद्ध कानुनी बाटोमा जाने बताएका नगरप्रमुख थापाले अहिलेसम्म कुनै एक्सन नलिँदा विभिन्न आशंका उब्जिएका छन्।  

धेरै दिन बित्दासमेत कानुनी बाटोमा नगएपछि यहाँ क्रियाशील राजनीतिक दलले दबाब बढाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मेयर थापासम्बद्ध दल राष्ट्रिय जनमोर्चाले समेत विज्ञप्ति जारी गरेर सत्यतथ्य बाहिर ल्याउन दबाब दिएका छन्। किर्ते कागजमा मेयर थापाकै संलग्नता रहेको आशंका गरिएको छ। भूमिकास्थानका निवर्तमान मेयर रेशम थापालेसमेत विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने धारणा राखेका छन्।  

यता मेयर थापाले आफूहरू अनुसन्धानकै क्रममा रहेको बताएका छन्। यो घटनाले फरक मोड लिँदा कार्यपालिका बैठक बस्न सकेको छैन। चुनढुंगा प्रकरणको सत्यतथ्य बाहिर नआएसम्म बैठकमा सहभागी हुन नसकिने भन्दै कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन्। मंगलबारका लागि राखिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ। यस्तै दबाब बढाउन अर्घाखाँची पर्यावरण संरक्षण समिति गठन गरिएको छ। काठमाडौंमा क्रियाशील जिल्लाका युवाहरूले प्रकाश बेल्वासेको संयोजकत्वमा समिति गठन गरेको र त्यहीमार्फत दबाब बढाउने योजना रहेको बताएका छन्।

घटना के हो ?  

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खननको अनुमति–पत्र पाएको थियो। पटक–पटक प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरेको कम्पनीले २०७९ पुस ७ गते भूमिकास्थान ९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो। जसमा त्यहाँका ११४ जना व्यक्तिको उपस्थिति रहेको माइन्युटमा देखिन्छ।

त्यसको भोलिपल्ट नै पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशयपत्र दिएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएको देखिन्छ। मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ। खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा दर्ता÷चलानी नम्बर ५८५ छ। यता नगरपालिकाको दर्ता÷चलानी किताबमा ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ।

अर्को रोचक कुरा के छ भने ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र सम्बन्धित कार्यालयमा दर्ता छैन। संघीय खानेपानीको कार्यालयमा उक्त व्यहोराको पत्र र त्यो चलानी नम्बरमा कुनै पत्र आएको देखिँदैन। विजया सिमेन्ट्स प्रालिले भने आफूहरू कानुनी बाटोमा जाने बताएको छ। पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिदिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताए। ‘पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा हो,’ उनले भने, ‘कम्पनी सिस्टममा चल्ने गर्छ, प्रक्रियामा जान्छौं।’

कम्पनीले आफूहरूलाई रोक्न मेयरले जालझेल गरिरहेको जनाएको छ। कार्यपालिकामा हुँदै नभएका निर्णय बनाएर पठाउने, खानेपानीका मुहान त्यहाँ उपलब्ध छन् भनेर झुट कुरा बताउनेजस्ता गतिविधि गरेको अलीले बताए। केही समयमै झुट र सत्य आफैं छुट्टिने उनको भनाइ छ। ‘के कति कारणले खानी चल्न नपाउने हो ? लगानी डुब्ने र बदनामी पनि हुनुपर्ने भएपछि कम्पनीले आफैं कानुनी बाटो रोज्छ।’  

नगरको लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्ने नगरप्रमुखको अभिव्यक्तिले नगरपालिका कार्यालयको सुरक्षा माथि गम्भीर चुनौती देखिएको छ। नगरप्रमुखको यो अभिव्यक्तिले उनलाई नै गिज्याएको स्थानीय झविन नेपालीले बताए। नगरप्रमुखको भनाइलाई सत्य मान्ने हो भने उपप्रमुख, कार्यपालिका सदस्यहरू र त्यहाँ कार्यरत कर्मचारीमाथि औंला तेर्सिएको छ।

प्रकाशित: १५ चैत्र २०८० ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App