१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सगरमाथा आरोहीले आफ्नो मलमूत्र आफैं ल्याउनुपर्ने

विगत लामो समयदेखि सगरमाथामा मानव मलमूत्र समस्याका रूपमा रहँदै आएको छ। सगरमाथा आरोहणका क्रममा यत्रतत्र विसर्जन गरिएका मानव मलमूत्रले प्रदूषण बढाएको गुनासो व्यापक रूपमा आउन थालेपछि खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिकको झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसालेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष मिङ्मा शेर्पाले हालै यस्तो नियम जारी गरिएको बताएका छन्। यो नियम लागु गरिएसँगै सगरमाथा आरोहीले आरोहण अवधिभरको मलमूत्रलाई प्लास्टिकमा पोको पारेर राख्ने र फर्कंदा तल ल्याउनुपर्ने छ।

यसले संसारकै सम्पदाका रूपमा रहेको सगरमाथा क्षेत्रलाई थप प्रदूषणरहित बनाउन सहयोग पुग्ने अध्यक्ष शेर्पाले बताएको ‘द गार्डियन’ अखबारले जनाएको छ। यो नियम स्थायी रूपमा लागु हुने शेर्पाले बताएका छन्। यो नियमलाई धेरैले सकारात्मक भनेका छन्। वैशाखदेखि आरोहणको मौसम सुरु हुन्छ।

अस्ट्रेलियाको आरोहण कम्पनी एभरेस्ट वनका सञ्चालक एलन कोहर्सले आरोहीले आरोहणका क्रममा विसर्जन गरेको आफ्नो मलमूत्र प्लास्टिकममा पोको पारी राख्ने र फर्कंदा तल ल्याएर उचित व्यवस्थापन गर्ने विषयमा छलफल भएको बताएका छन्।  

प्रत्येक आरोही र सहयोगीका लागि नेपालको सम्बन्धित निकायले बायोडिग्रेडेबल झोला उपलब्ध गराउनेछन्। यस्ता झोला शिविर एक, शिविर तीन, शिविर चार र अन्य ठाउँमा उपलब्ध गराइने बताइएको छ।

ती झोलामा राखेको मलमूत्रलाई शिविर दुईमा झारिने र त्यसपछि व्यवस्थापन गरिने जनाइएको छ। यो नियम कडाइका साथ पालना गराइने बताइएको छ। यसअघि आरोहीले दिसापिसाब गरेपछि त्यहीं खाल्डो खनेर पुर्थे।

नेपाल पर्वतारोहण संघले भने यस्तो नियमबारे कुनै सूचना जारी गरेको छैन। वेबसाइटमा मलमूत्र व्यवस्थापन गर्न खाल्डो खन्ने निर्देशिका अझै कायम छ। निर्देशिकामा आरोहीले २० सेमी गहिरो खाडल खनी मलमूत्र पुर्नुपर्ने भनिएको छ। खाल्डो खनेर पुर्न नसकिने अवस्थामा मलमूत्र घाममा सुकाउने चलन थियो।

सन् २०११ मा सगरमाथा नापिसकेका लेखक तथा आरोही एलन अर्नेटले भने नेपाली अधिकारीहरू मलमूत्र व्यवस्थापनसम्बन्धी नयाँ नीतिमा लामो समयसम्म कायम रहनेमा शंका व्यक्त गरेका छन्। –एजेन्सी

प्रकाशित: १२ चैत्र २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App