४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

‘किरा’ ले गर्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो साढे १ बजेपछि जहाज अवतरण गर्न थालेका छन्।

पखेटा उम्रिएका किरा धपाउन विमानस्थल प्रशासनलाई हम्मेहम्मे परेको थियो। ती किरा खान आएका चीलको बथान रनवेमा बसेपछि विमानस्थल बन्द भएको थियो। विमानस्थलको उडान आज बिहान ८ बजेपछि बन्द थियो।

विमानस्थल खुल्ने र बन्द हुने गर्दा जहाज अवतरण सहज थिएन। दिउँसो साढे १ बजे बल्ल जहाज अवतरण गरेको हवाई कम्पनीले बताएका छन्।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले उडान सुचारु भइसकेको बताइन। ‘बिहानस्थल खुल्ने र बन्द हुने क्रम चलिरहेको थियो। विमानस्थल खुलिहालेपनि जहाज आउन केही समय लाग्छ, बल्ल अहिले जहाज आउन थालेका छन,’ उनले भनिन, ‘अब पनि प्रभावित नहोला भन्न त सकिन्न। तर, अहिलेका लागि उडान र अवतरण जारी छन्।’

सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलले गर्दा विमानस्थलको उडान प्रभावित भएको थियो। एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालेको थियो। विमानस्थलको अग्नी नियन्त्रकबाट पानी हालेर धावनमार्ग पखालेपनि किरा र चराको समस्या समाधान गर्न हम्मेहम्मे परेको उनले बताइन।

‘रनवे पखाल्दा किरा वरपरको घाँसे मैदानमा जान्छन्। चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा आउने गर्दा हैरान भयो,’ उनले भनिन। सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौंबाट पोखराका लागि उडेका तीनवटा विमान फेरी काठमाडौं नै डाइभर्ट भएका थिए।

‘हामीले रनवे पखालेर केहीबेर अघि नै विमानस्थल खुला त गरेका थियौ। तर किराको समस्या समाधान भएन’, सुवेदीले नागरिकन्यूनसँग भनिन्

प्रकाशित: ११ चैत्र २०८० १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App