१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागलुङ बस दुघर्टना: चिच्याउँदा चिच्याउँदै बसले तीन बल्ड्याङ खायो

दुर्घटनामा परेर घाईते भएकी सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै।

बागलुङको निसीखोलामा बस दुर्घनाको कारण चालकको लापरवाहीले भएको खुलेको छ। रुकुमबाट काठमाडौंका लागि छुटेको ०१–००६ ख ३८७९ नम्बरको बस तिव्र गतिमा चलाउँदा दुर्घटना भएको देखिएको बागलुङ प्रहरीले जनाएको हो।  

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले ओरालो बाटोमा तिव्र गतिमा चलाउँदा बस दुर्घटनामा परेको बताए। उनले भने,‘ओरालो बाटोमा तिव्र गतिमा बस चलाउँदा बसलाई मोड पुगेन, बसको आधा भाग नकटी लैजान खोज्दा ओभरस्पिडका कारण बस सडकबाट तल खसेको देखिन्छ।’ उनका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेर बजारिएको अवस्थामा छ।

बस दुर्घटनाका घाईतेहरुले पनि तिव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन्। तिव्र गतिको बस घुम्तीमा मोडिन नसक्दा दुर्घटना भएको उनीहरुको भनाई छ। सो दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाईतेहरुको बागलुङको धौलागिरी अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाईतेमध्ये अधिकांशको अवस्था गम्भीर छ।

दुर्घटनामा घाईते भएकी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्काले बस एक्कासी खस्दा आफु बसमा अड्किएर बचेको बताईन्। दुर्घटनामा ढाड र टाउकोमा चोट लागेर पोखराको मणिपाल अस्पतालको आकस्मिक कक्षमा उपचाररत खड्काले भनिन्, ‘यात्रु आ–आफ्नै तालमा थिए, कोहि मोवाइल हेरिरहेका, कोहि निदाइरहेका थिए। बस जाउलेपानीमा आईपुगेपछि एक्कासी यात्रुहरु चिच्याउन थाले, ‘बस गयो बस गयो भनेर।’

यात्रुहरु आत्तिदै चिच्याउन थालेपछि खड्काले छोरीलाई च्याप्प समातिन्। त्यतिञ्जेल बसले तीन बल्ड्याङ खेलिसकेको रहेछ’ उनले भनिन्, ‘म बसमै अड्िकएछु। हत्त न पत्त उठेर छोरी खोजेँ तर भेटिन। त्यसपछि छोरी भनेर चिच्याएँ।’ एकछिनपछि भाञ्जाले बहिनी माथि बाटोमै रहेको बताएपछि मात्र आफू पूर्ण होसमा आएको उनको भनाई छ।

दुर्घटनामा सरितासँगै उनको परिवारका ४ जना घाईते छन। शिक्षण पेशाबाट सेवानिवृत्त ससुरा हर्कबहादुर खड्काको पेन्सनपट्टा बनाउन सरिता ससुरा, सासु, छोरी र भाञ्जालाई लिएर काठमाडौं जाँदै थिईन। पेन्सन पट्टा बनाउने निहुँदा आफ्नोपनि उपचार गर्ने सोंचले काठमाडौं जाउँ नत भनेर हिंडेकी हुँ,उनले थपिन्,‘धन्न ठूलो भाग्यले बाँचियो।’

अस्पतालका चिकित्सक डा.नवराज बस्ताकोटीले घाईते अधिकांशको अवस्था गम्भीर रहेको बताए। उनका अनुसार घाईतेहरुको कसैको टाउको त कसैको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएका छन्।

प्रकाशित: ६ चैत्र २०८० १७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App