१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जानाजान आगो झोस्दा वन सखाप (फोटो सहित)

पोखरा–२५६ हेम्जाको झिझिर्का वनमा लागेको आगो नियन्त्रणको प्रयास गर्दै स्थानीय र सुरक्षाकर्मी। तस्बिरः नागरिक

पोखरा–११ काहुँडाँडामा सोमबार बेलुकी भीषण आगलागी भयो। भिरालो वन क्षेत्रमा लागेको आगोले भीषण रूप लिँदा सिंगो पोखराको ध्यान काहुँडाँडातर्फ मोडियो। आगलागीको फोटो र भिडियोले सामाजिक सञ्जाल छायो। पूर्ण रुपमा निभाउन नसकेपनि मंगलबार बिहान १ बजे बल्लतल्ल आगो केही नियन्त्रणमा आएको थियो।  

आगलागीको त्रास यतिसम्म थियो की काहुँको सिंगो बस्ती नै  जोखिममा परेको थियो। आगोको राप नजिकैको मणिपाल शिक्षण अस्पतालसम्म पनि आएको स्थानीयले बताएका छन्। कास्की प्रहरीका अनुसार आगो निभाउन निकै नै हम्मेहम्मे परेको थियो।

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले भने, ‘बल्लतल्ल मंगलबार बिहान १ बजे आगो केही कम भयो। पूर्ण रुपमा आगो निभेको भने होइन। उनका अनुसार पोखरा महानगरले पठाएको दुई वटा दमकल, प्रहरी र सशस्त्र प्रहरीको टिम आगलागी नियन्त्रणका लागि परिचालित भएको थियो। ‘यति भीषण आगलागी भयो की निभाउन सक्ने अवस्था नै थिएन,’ उनले भने, ‘हालका लागि जोखिम घटेपनि आगो पूर्ण रुपमा निभेको छैन।’

पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पनि भिरालो वन क्षेत्र, सुकेको खर्यान र जंगल भएकोले आगोको गति बढी थियो। ‘मंगलबार बिहान १ बजेतिर आगो केही कमी भयो। तर, मंगलबार दिउँसोबाट पुन बढ्न थालेको छ। अहिले पनि आगो पूर्ण रुपमा निभेको छैन,’ उनले भने। पोखरा महानगरले काहुँमा लागेको आगो निभाउन दमकल समेत पठाएको थियो। तर, दमकलको भरमा मात्र आगो निभाउन सक्ने अवस्था नरहेको महानगरले बताएको छ।

काहुँमा मात्र नभई पोखरा–२५ को हेम्जा नजिकैको वन क्षेत्रमा ५ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। स्थानीय विश्वराज अधिकारीका अनुसार झिझिर्का वन क्षेत्रमा लागेको आगोले ठूलो क्षेत्रफलमा वनजंगल नोक्सान गरेको छ। पोहोर पनि यही क्षेत्रमा भीषण आगलागी भएको थियो। ‘पाँचदिन भयो, आगो निभाउन सकेका छैनौ। धेरै नै क्षेत्रफल वन क्षेत्र ध्वस्त भएको छ,’ उनले भने। महानगरका अनुसार सोमबार पोखरा क्षेत्रका सातवटा वन क्षेत्रमा आगलागी भएको थियो।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेका अनुसार यो सिजनमा मात्र कास्कीमा कम्तीमा १० हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले नोक्सान भइसकेको छ। काहुँमा मात्र करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको उनले बताए। उनका अनुसार अहिले पनि कास्कीमा कम्तीमा आधा दर्जन ठाउँका वन क्षेत्रमा आगलागी भइरहेको छ। काहुँ, धम्पुस, पञ्चासे लगायतका क्षेत्रमा आगलागी भइरहेको उनले बताए। 

उनका अनुसार अहिले जे जति ठाउँमा आगलागी भएको छ, त्यो सबै स्थानीयले नै लगाएका हुन। तर, उनीहरु खुल्न चाहँदैनन्। कारबाहीको डरले पनि आगजनी गर्ने व्यक्ति पहिचान हुन गाह्रो भएको उनले बताए। काफ्लेका अनुसार काहुँमा एकै पटक १२–१३ जनाले आगो लगाएको आशंका छ। एकै ठाउँबाट आगो सल्केको नभई व्यक्तिले नै फरक फरक ठाउँमा आगो लगाउँदै हिड्दा स्वरुप भीषण भएको हो। ‘मान्छेले जानजान आगो लगाएका हुन। त्यसमा स्थानीयवासी नै बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘जानजान आगो लगाएको देखिएको छ। त्यसैले आगलागी हुन नदिन स्थानीय नै सचेत हुनुपर्छ।’

अहिले लागेको आगो पानी नपरेसम्म नियन्त्रणमा आउन समस्या हुने उनले बताए। वनमा रुखका मुढा सल्केका हुन्छन् । ती मुढाको आगो निभ्न भने समय लाग्ने उनले बताए। घाँस मात्र भएको क्षेत्रमा आगलागी हुँदा छिटो निभेपनि सल्केका मुढा निभ्न समय लाग्ने उनले बताए। ‘काहुँको आगलागी यति भीषण थियो की मान्छेको भरमा निभाउन सक्ने अवस्था नै थिएन। ठूलो वन क्षेत्र नोक्सान भएको छ। घाँसको लोभमा वनमा आगजनी गर्ने चलन छ,’ उनले भने। उनका अनुसार वन डढेलो नियन्त्रणबाहिर जानेगरि वर्षेनी क्षति हुँदा पनि त्यसलाई रोक्नका लागि जनशक्ति परिचालन, साधन श्रोतको व्यवस्थापन गर्नेगरि डिभिजन वन कार्यालयसँग बजेट छैन।  

गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले पनि वनमा लागेको आगो निभाउने सक्ने क्षमता वन कार्यालयसँग छैन। यतिसम्मकी आवश्यक सामानको जोहो गर्न पनि सकस छ। ‘समथर ठाउँमा लागेको आगो त निभाउन सकिएला, तर, ठाडो र भिरालो ठाउँमा लागेको आगो निभाउन भने सक्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘रुखका स्याउलाका भरमा आगो निभाउन सकिन्न।’  

पोखरा–११ काहुँमा सोमबार बेलुकी लागेको आगो। तस्बिरः नागरिक

उनले पनि सोमबार बेलुकी काहुँमा लागेको आगो निभाउने उपाय वन कार्यालयसँग नभएको बताए। मात्र सुरक्षाकर्मी परिचालन र महानगरका दमकल पुग्ने बाहेक केही उपाय थिएन। राती अबेर हुँदै जाँदा आगो कम भएको थियो। उनले पनि वनमा आगो लगाउने करिब सतप्रतिशत व्यक्ति नै स्थानीय हुने गर्छन्।

कारबाहीको डरले आगो लगाउने व्यक्ति पहिचान गर्न सकिन्न। त्यही भएर पक्राउ पर्ने पनि कम हुने गरेका छन्। पानी नपरेकोल अझै केही समय आगलागीका घटना थपिनसक्ने जोखिम रहेको पनि उनले बताए। उनले प्रदेशका सबै जिल्लामा परिपत्र गर्दै वन डढेलोको क्षतिबारे तथ्यांक राख्न भनिएको छ। त्यसबाहेक सचेतनाका कार्यक्रम चलाउन पनि अनुरोध गरिएको छ।  

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार सूचना जारी गर्दै वनमा आगजनी गरेको पाएमा कारबाही गर्ने बताएको छ। वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरि तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। प्रशासन कार्यालयले आगजनी गर्ने व्यक्ति पहिचानमा सघाउन पनि आग्रह गरेको छ।

प्रकाशित: ६ चैत्र २०८० १७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App