२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कीर्तिमानी मःमः

काठमाडौंको बौद्धस्थित ह्यात रिजेन्सी होटलको प्रांगणमा आयोजना गरिएको ‘द लार्जेस्ट मःमः पार्टी’। पार्टीमा ५ सयभन्दा बढी सर्वसाधारण भेला भएर मःमः खाई कीर्तिमान बनाएको दाबी गरिएको छ। तस्बिर : नागरिक

मःमः नेपालमा कति प्रख्यात छ भने चैत २ गते मःमःसँग कोकाकोला खाएर नेपालीहरूले कीर्तिमान नै बनाएका छन्। चीनका एक चिकित्सक झाङ झोङजिङले मःमःको पुर्खा ‘डम्प्लिङ’ बनाएको विश्वास गरिन्छ।

इशापूर्व २०६ देखि सन् २२० ताका हान राजवंशको अवधिमा जन्मिएका ती चिकित्सकले आफ्ना बिरामीलाई अत्यधिक चिसोबाट जोगाउन भेडाको मासु, केही जडीबुटी, मरिचजस्ता केही मसला मिसाएर त्यस्तो परिकार बनाएका थिए। उनको यो परिकार स्वादिष्ट मात्र नभएर शक्तिदायक पनि भएको पाइएपछि त्यहाँ घरघरमा लोकप्रिय हुन थाल्यो। पछि यो खान्की सिल्क रोड हुँदै संसारका विभिन्न कुनामा पुगेको विश्वास गरिन्छ।

मःमः नेपालमा कति लोकप्रिय भइसकेको छ भने यसले लगभग राष्ट्रिय खाजाकै स्वरूप ग्रहण गरिसकेको छ। मःमःको नेपाल प्रवेश सुरुमा तिब्बतबाट र पछि दार्जिलिङबाट भएको विश्वास गरिन्छ। सन् १९६० को दशकमा दार्जिलिङको मःमः काठमाडौंमा यति लोकप्रिय हुन थाल्यो कि पछि यसले रैथाने खाजाकै रूपमा इज्जत पाउन थाल्यो।

यही इज्जतलाई काठमाडौंको बौद्धस्थित ह्यात रिजेन्सी होटलको प्रांगणमा आयोजना गरिएको ‘द लार्जेस्ट मःमः पार्टी’ले अझ फराकिलो बनाएको छ। ५ सयभन्दा बढी सर्वसाधारण भेला भई आयोजना गरिएको सो पार्टीले कीर्तिमान बनाएको छ। कीर्तिमानका लागि सबै सहभागीलाई दुई वटा मःमः र २५० एमएलको एक बोतल कोकाकोला एकसाथ खान दिइएको थियो। १५ मिनेटभित्रै यो कीर्तिमान बनेको आयोजकले जनाएको छ।

खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न भन्दै एकजना समर्पित फुड हाइजिन इन्स्पेक्टर र दुईजना साक्षी पनि कार्यक्रममा उपस्थित रहेको आयोजकको भनाइ छ।

उक्त कार्यक्रमको उपलब्धिप्रति प्रतिक्रिया दिँदै आयोजक कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले गर्विलो क्षण भएको बताइन् ‘कोकाकोला र मःमः नेपालीहरूको प्रिय खान्कीमा पर्छ,’ कालिया भन्छिन्, ‘यसलाई अझ कीर्तिमानकै रूपमा अविस्मरणीय अनुभव बनाउन पाउँदा हामीलाई गर्व लागेको छ।’

कोकाकोलाले लामो समयदेखि मःमःसँग आफूलाई मिल्दो खान्कीका रूपमा प्रचार गर्दै आइरहेको छ। ‘खाजा जे होला, चाहिन्छ कोकाकोला’को मूलमर्मअनुसार संसारभरि विभिन्न संस्कृतिका रैथाने खान्कीसँग कोकाकोलाले आफूलाई ‘ब्रान्डिङ’ गर्दै आइरहेको छ। यो कीर्तिमान चाहिँ नेपालमा कम्पनी स्थापनाको ५०औं स्थापना दिवसको अवसर पारी बनाइएको हो।

प्रकाशित: ५ चैत्र २०८० ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App