२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विधवा बुहारी अन्माउँदाको सुखानुभूति

बुहारी धनालाई अन्माएपछि नवजोडीसँग लक्ष्मीधर गौतम दम्पती। तस्बिर सौजन्य: गौतम परिवार

गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले छोराको मृत्यु भएको तीन वर्षपछि विधवा बुहारीलाई अन्माएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएको हो। लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि मृत्यु भएको थियो। मृत्युको समयमा ध्रुव २७ वर्षका थिए। मृत्युको तीन वर्षअघि नै २०७४ सालमा ध्रुवको विवाह धनासँग भएको थियो।

‘छोराबुहारी बुटवलमा इलेक्ट्रोनिक्स पसल चलाउँथे। छोरो इलेक्ट्रिसियन पढेको थियो,’ लक्ष्मीधरले भने, ‘त्यहीबेला छोराको दुःखद घटना भयो।’ त्यसपछि २४ वर्षकै उमेरमा बुहारी धना विधवा भइन्। ‘नातिनातिना भएकै थिएनन्। कलिलो उमेरमा सिउँदो पुछियो,’ लक्ष्मीधरले नागरिकसँग भने।

गौतम परिवार एकातिर युवा उमेरमा आफ्नै व्यवसाय गरिरहेको छोरा बितेको पीडामा थियो, अर्कातिर लाऊँलाऊँ–खाऊँखाऊँको उमेरमा बुहारी धना विधवा बनेको हेर्नुपरेको थियो। ‘जोसँग जीवन बिताउन आएकी हुन्, उही रहेन। न मन बुझाउन ऊसँग बालबच्चा छन् न उमेर नै धेरै भएको हो,’ लक्ष्मीधरले परिवारको दुःख सम्झँदै सुनाए, ‘हामीलाई त छोरो बितेको पीडाभन्दा बुहारी विधवा भएको विषयले झन् दुःखी तुल्याएको थियो।’

लक्ष्मीधर गुल्मीका कम्युनिस्ट पार्टीसम्बद्ध सामाजिक कार्यकर्ता हुन्। उनलाई समाजको प्रचलन र आफ्नो परिवर्तनकारी चेतको व्यवस्थापन गर्न केही समय मनोवैज्ञानिक दबाब बढ्यो।

नेपाली समाजमा पत्नी बित्दा पुरुषले विवाह गर्ने र पति बित्दा महिला आजीवन विधवा बस्नुपर्ने एकदमै विभेदकारी कुसंस्कार व्याप्त छ।

‘म त यस्ता कुसंस्कारविरुद्ध बोल्दै आएको व्यक्ति। तर पति गुमाएको पीडामा रहेकी बुहारीलाई भनूँ भने उसले कसरी लिने हुन्? कतै आफ्नो घरबाट लखेट्न खोजेको रूपमा लिने हुन् कि? यस्तै प्रश्नहरूले मनमा दबाब बढाएका थिए,’ लक्ष्मीधरले सुनाए।

एक दिन लक्ष्मीधरले बुहारीलाई सान्त्वना दिँदै मिलाएर भने, ‘मेरा तीन छोरा हुन्, ध्रुव त बितिगयो। तर बुहारीका रूपमा तिमी पनि छोरा नै भयौ भनेर सम्झाउने कोसिस गरेको थिएँ,’ लक्ष्मीधरले बहुरीलाई भनेको सम्झिए, ‘तिमीले लिने निर्णय हामीलाई भन्नू। हामीसँगै बस्छौं भने तीन भाइको अंश कायमै छ। बिहे गर्छ्याै भने छोरीझैं अन्माएर पठाउँछु।’ तर धनाले कुनै जवाफ दिइनन्। ध्रुवको निधनपछि धना तीन वर्ष विधवा नै भएर बसिन्। पतिले गरिरहेको व्यापार छाडेर सानो जागिर गर्न थालिन्। उनले घरपरिवारसँग पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको लक्ष्मीधरले बताए।

लक्ष्मीधर आफैं भने १० वर्षदेखि इजरायल बस्दै आएका थिए। यसैबीच उनी एक महिनाअघि नेपाल फर्किए। नेपाल फर्किएका ससुरा लक्ष्मीधरसँग एक दिन धनाले आफू विवाह गर्ने मनशायमा पुगेको सुनाइन्। ‘म आएपछि बुहारीले आफूलाई एकजना मान्छे मन परेको र घरपरिवार राजी भए विवाह गर्ने मनशायमा पुगेको सुनाइन्,’ लक्ष्मीधरले भने।

त्यसपछि दुवैको मन मिलेको भए, राजीखुसी भए छोरीझैं अन्माएर बिदा गर्ने कुरा लक्ष्मीधरले गरे। ‘विधवा बुहारी देख्दा कम्ती पीडाबोध हुन्नथ्यो। विवाह गरिदिन्छु भनेर आफैंले कसरी भन्नु? तर उनले नै त्यस्तो कुरा सुनाएपछि मन साह्रै हलुँगो भयो। बुहारीको एक्लोपनबाट आफ्नै हातले उन्मुक्ति दिन पाउनु सौभाग्यको कुरा महसुस गरें,’ लक्ष्मीधरले भने, ‘मैले नजिकै वैशाख आइरहेको छ। वैशाखमा सबै आफन्तलाई बोलाएर राम्रै तवरले विवाह गरिदिन्छु भनें। उनले केटाको बिदा सकिने भएकाले सकभर चाँडै गरिदिन भनेको सुनाइन्।’

दुलाहा अमृत पौडेल साउदी अरेबियाको रोजगारीमा रहेको गौतम परिवारले जनाएको छ।

त्यसपछि गौतम परिवारले साइत जुराउन खोज्यो। ‘हामीले चैतमा विवाह गर्नुहुन्न भन्ने लागेको थियो। ज्योतिषीलाई हेराउँदा चैत ७ गतेभित्रको समय राम्रै छ भन्ने भएपछि हिजो (शुक्रबार) हतारहतार चाँजोपाँजो मिलाएर एउटा पार्टी प्यालेसम्म गएर अन्माएर पठाइदियौं,’ लक्ष्मीधरले भने। बुहारीलाई विवाह गरेर बिदा गरे पनि आफ्नो घरको ढोका उनका लागि सदैव खुला रहने लक्ष्मीधरले बताए। ‘छोरासँग विवाहपछि हाम्रो घरलाई आफ्नो घर सम्झिएर आएकी हुन्। दैवले हाम्रो र उनको खुसी लुट्यो। बाध्यताले उनको बाँकी जीवनका लागि बिहे गरिदियौं,’ उनले भने, ‘यद्यपि यो घरसँगको उनको नाता सधैं जीवित नै रहन्छ। हामीलाई माइतीकै रूपमा लिन भनेका छौं।’

विधवा बुहारीलाई अन्माएर पठाउँदा आफ्नो परिवार र छरछिमेक सबै खुसी बनेको लक्ष्मीधरले सुनाए। ‘यो निर्णय हाम्रो पुरानै हो। घरपरिवार राजीखुसी नै थियौं। अहिले हतारहतार बिहे गरेर पठाउँदा केही आफन्त र छरछिमेकीलाई पनि बोलायौं। हाम्रो यो कामले सबै खुसी हुनुहुन्छ,’ उनले भने।

प्रकाशित: ४ चैत्र २०८० १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App